काठमाडौं । नेपाली सेना दिवसको सन्दर्भ पारेर राष्ट्रको सुरक्षा, सार्वभौमसत्ता र स्थायित्वमा सुरक्षा निकायले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै उनीहरूको व्यावसायिकता, अनुशासन र समर्पणप्रति उच्च सम्मान व्यक्त गरिएको छ ।
सुरक्षा निकायलाई सम्बोधन गर्दै सार्वजनिक गरिएको सन्देशमा राष्ट्र र जनताको सुरक्षामा खटिने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अनुसन्धान निकायका जवानहरूको भूमिकालाई राज्यको मेरुदण्डका रूपमा व्याख्या गरिएको छ । कठिन भौगोलिक अवस्था, राजनीतिक अस्थिरता, स्रोत–साधनको अभाव र आधुनिक प्रविधिको सीमितताका बीच पनि सुरक्षा दायित्व प्रभावकारी रूपमा निर्वाह गरिरहेको उल्लेख गरिएको छ ।
सन्देशमा सेवा–सुविधा, पदोन्नति तथा संगठन सञ्चालनका क्रममा हुने राजनीतिक हस्तक्षेप सुरक्षा संयन्त्रका लागि चुनौतीपूर्ण विषय भएको औँल्याउँदै यस्ता हस्तक्षेपले संस्थागत मनोबल कमजोर पार्ने चेतावनी दिइएको छ । सुरक्षा निकायलाई क्षणिक राजनीतिक स्वार्थमा प्रयोग नगर्नुपर्नेमा जोड दिँदै राष्ट्रहितलाई सर्वोपरि राख्नुपर्ने धारणा व्यक्त गरिएको छ ।
आगामी निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन सुरक्षा निकायको भूमिका निर्णायक हुने उल्लेख गर्दै उनीहरूमा थप आत्मविश्वास, संयमता र जिम्मेवारीबोधका साथ परिचालन हुन आह्वान गरिएको छ ।
सन्देशमा शान्ति, सुरक्षा र स्थायित्वबिना न व्यक्ति सुरक्षित रहन सक्ने, न समाज व्यवस्थित हुन सक्ने र न राष्ट्र समृद्ध बन्न सक्ने उल्लेख गर्दै सुरक्षा संयन्त्रलाई दिगो शान्ति स्थापनाको प्रमुख आधार मानिएको छ । प्राकृतिक विपत्ति, उद्धार तथा राहत कार्यमा सुरक्षा निकायले निर्वाह गर्ने अग्रणी भूमिकाको समेत प्रशंसा गरिएको छ ।
यसैबीच, समाजमा अस्थिरता फैलाउने केही समूहले सुरक्षा निकायप्रति नकारात्मक धारणा निर्माण गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै यस्ता गतिविधिप्रति सचेत रहन आग्रह गरिएको छ । सामाजिक सञ्जालमार्फत फैलाइने भ्रम र आलोचनाबाट विचलित नभई कानुन, मानवअधिकार र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार कर्तव्य निर्वाह गर्न सुझाव दिइएको छ ।
भदौ २३ र २४ गते भएका तथाकथित ‘जेनजी’ आन्दोलनका घटनाक्रम सन्दर्भमा सुरक्षा तयारी, रणनीति र सरकारी समन्वयबारे प्रश्न उठाइएको उल्लेख गर्दै त्यस्ता घटनाको सम्पूर्ण जिम्मेवारी सुरक्षा निकायमाथि मात्र थोपर्न नहुने धारणा राखिएको छ ।
अन्त्यमा, गौरवपूर्ण इतिहास बोकेको सुरक्षा संयन्त्रलाई कमजोर बनाउने कुनै पनि प्रयास सफल हुन नदिने प्रतिबद्धतासहित अनुशासन, मर्यादा र राष्ट्रसेवाको भावनासाथ आगामी दिनमा पनि शान्ति सुरक्षा कायम राख्न अग्रसर रहन आग्रह गरिएको छ ।




