काठमाडौं ।आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दल तथा तिनका उम्मेदवार मतदातामाझ पुग्ने अभियानलाई तीव्र बनाउने तयारीमा जुटेका छन् । भोलि ९सोमबार० देखि थप सशक्त चुनावी प्रचारप्रसार सुरु गर्नेगरी दलहरूले आन्तरिक रणनीति तयार पारेका हुन् । मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्ने उपायसहित घरदैलो, कोणसभा र बृहत् सभालाई केन्द्रमा राखेर कार्यक्रम बनाइँदै छ ।
स्थानीय आवश्यकता र समस्यालाई चुनावी कार्ययोजनाको आधार बनाउँदै दलहरूले टोल तहसम्म प्रचार अभियान विस्तार गर्ने तयारी गरेका छन् । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा तल्लो संरचनाबाटै अभियान चलाउने गरी दलहरू गृहकार्यमा व्यस्त छन् । नेपाली कांग्रेस चितवनले प्रचार अभियानलाई टोल केन्द्रित बनाउने जनाएको छ । जिल्ला सचिव ध्रुव पोखरेलका अनुसार तीनवटै क्षेत्रमा प्रचार कार्यालय सञ्चालन गरी औपचारिक रूपमा घरदैलो कार्यक्रम सुरु गरिनेछ । उहाँले केन्द्रीय नेतृत्वसँग समन्वय गरी बृहत् चुनावी सभा आयोजना गर्ने तयारीसमेत भइरहेको जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनका इन्चार्ज देवी ज्ञवालीले सोमबारदेखि वडा तहमा घरदैलो अभियानसँगै कोणसभा सञ्चालन गरिने बताए । सभामा केन्द्रीय नेताहरूलाई सहभागी गराउने सम्भावित कार्यसूची बनाइएको उनको भनाइ छ । नेपाल कम्युनिष्ट पार्टी चितवनका संयोजक रामचन्द्र अधिकारीले पनि सोमबारबाटै घरदैलो, कोणसभा र आमसभा सञ्चालन गर्ने तालिका निर्माण भइरहेको जानकारी दिए ।
केन्द्रीय नेताहरूको सहभागितामा सभा आयोजना गर्ने मिति भने तय हुन बाँकी रहेको उनले बताए ।राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य राजन गौतमले पनि प्रचारप्रसारलाई तीव्रता दिने तयारी भइरहेको उल्लेख गरे । घरदैलो, कोणसभा र बृहत् सभामार्फत मतदातामाझ पुग्ने कार्यक्रम बनाइएको उनको भनाइ छ ।
अन्य दल र स्वतन्त्र उम्मेदवारहरूले पनि चुनावी गतिविधि सशक्त बनाउने तयारी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसन, जनता समाजवादी पार्टी, आम जनता पार्टी, राष्ट्रिय जनमोर्चा, उज्यालो नेपाल पार्टी, जनमत पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, श्रम संस्कृति पार्टी, नेसनल रिपब्लिकन नेपाल, नेपाल मजदुर किसान पार्टी, नागरिक उन्मुक्तिलगायत दल तथा स्वतन्त्र उम्मेदवार प्रचार अभियान विस्तारमा लागेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि जिल्लामा चार लाख ४२ हजार ८२ मतदाता रहेका छन् । तीमध्ये दुई लाख १७ हजार ३१४ पुरुष, दुई लाख २४ हजार ७६६ महिला र दुई जना तेस्रो लिङ्गी मतदाता छन् । मतदानका लागि १६२ मतदानस्थल र ४९४ मतदान केन्द्र निर्धारण गरिएको छ ।
निर्वाचन कार्यालय प्रमुख भीमसेन कार्कीका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ को तुलनामा यस वर्ष ३३ हजार ७४० नयाँ मतदाता थपिएका छन् भने ३४ मतदान केन्द्र वृद्धि भएका छन् । निर्वाचन क्षेत्र नं. १ मा एक लाख ४९ हजार ६२१ मतदाता रहेका छन्, जहाँ ५६ मतदानस्थल र १६८ केन्द्र तोकिएका छन् । क्षेत्र नं। २ मा एक लाख ३७ हजार १५२ मतदाता छन् र ४८ स्थलका १५२ केन्द्रबाट मतदान हुनेछ । क्षेत्र नं। ३ मा एक लाख ५५ हजार ३०९ मतदाता रहेका छन्, जहाँ ६३ मतदानस्थल र १७४ मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।




