देश

वैकल्पिक शक्ति भनिएको रास्वपाको चुनावी प्रचार उश्रृङखल,सुपर स्टार नायक झैँ महंगा गाडीमा सवारी

काठमाडौं । गत भदौ २३ र २४ गते अघि र पछिको राजनैतिक वातावरणको माहोल फरक छ । विगतको निर्वाचन प्रणाली र अहिलेको चुनावी प्रचारप्रसार समेत फरक देखिएको छ । विगतका निर्वाचनमा शान्तिपूर्ण वातावरण चुनावी प्रचारप्रसारमा औपचारिकता,नेपालको लोकतान्त्रिक विधि र पद्धति अनुसार विभिन्न सभा आयोजना गरी नेता कार्यकर्ता तथा मतदाताहरुबीच अन्र्तक्रिया र छलफल हुने गर्थे ।

तर जेन(जी) आन्दोलनपछिको निर्वाचनमा त्यो कम भेटिन्छ । जेज(जी) आन्दोलनको जगमा बनेको शुसिला कार्की नेतृत्वको सरकारले निर्वाचनलाई जसरी पनि शान्तिपूर्ण वातावरण निर्वाचन आयोगको आचारसंहिता पालन गरी सभ्य तरिकाले उम्मेदवारहरुलाई मतदाताहरुसँग भेट्न आग्रह गर्दै आएकी छिन्,यस्तै निर्वाचन आयोगले पनि सोही अनुसार बारम्बार अपिल गर्दै आएको छ । तर व्यवहारिक रुपमा भने त्यो भेटिदैँन् ।

वैकल्पिक शक्ति भनिएको रास्वपाले जेन(जी) आन्दोलनपछि निर्वाचन आयोगले तोकेको मापदण्ड र चुनावी आरसंहिता बाहिर रहेर चुनावी प्रचारमा लागेको छ । सुरक्षाकर्मी,मतदाता, र स्थानीयवासीहरुलाई समेत आवातजावतमा बाधा पर्ने किसिमले मंहगा मंहगा स्वारी साधनको प्रयोग गरेर चनुावी प्रचारमा लागेको छ । रास्वपाको दाउ नै आगामी २०८४ मा हुने निर्वाचन ०८२ मा सार्नु थियो । सोही अनुसार सामाजिक संजालमा गोव्य वार्ता र छलफल गरी जेन(जी) युवा पुस्ताहरुलाई सडकमा उतारेर आन्दोलनमा होमिएको थियो । रास्वपाका नेताहरु नै सो आन्दोलनमा होमिएका थिए । रास्वपा केन्द्रिय सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री तोसिमा कार्की ललितपुर ३ बाट उम्मेदवार बनेकी छिन्। उनलाई पनि मतदाताहरुले सो इलाकाबाट नै लखेट्न थालेका छन् । उनी गत भदौ २३ र २४ को जेन(जी) विधंशात्मक आन्दोलनमा जेनजी युवापुस्तासँग संसद भवन जलाउन पुगेकी थिइन् ।

काठमाडौं महानगरपालिका पूर्व मेयर बालेन्द्र शाह (बालेन) र सहकारी ठगी प्रकरणमा मुछिएका रास्वाप सभापति रवि लामिछानेको भिडलाई हेदा लोकतन्त्रको मर्यादाभित्र रहेर निर्वाचन प्रचार प्रसारमा नलागेको प्रष्टै देखिन्छ । रास्वपाले निर्वाचनन पूर्व गरेको जम्मा गरेको भिड र जेन(जी) युवाहरुलाई उक्साएको परिदृष्यले आगामी निर्वाचनमा निकै ठूलो दुर्घना निम्तिने विश्लेषण भइरहेको छ । यस पटक निर्वाचन आयोगले उम्मेदवारलाई चुनावी प्रचारप्रसारमा निकै कडा निगरानी गरेको मिडिया ट्रायल गरेपनि त्यो वास्तविक देखिदैँन् । रास्वापाले विभिन्न व्यापारीक घरानाका मंहगा सवारी निर्वाचनमा परिचालन गरेको तथ्य बाहिर आएपछि बालेन साह विवादित पात्रका रुपमा चिनिएका छन् । तर अहिलेसम्म आयोगले सो विषयमा सामान्य स्पष्टीकरण सोधे पनि बालेनले कस्तो जवाफ आयोगलाई दिए भन्ने कुरा सार्वजनिक हुन सकेको छैन् ।

रास्वपाका अधिकांश उम्मेदवारमाथि विभिन्न गम्भिर प्रश्न उठेका छन्, निर्वाचनपूर्व नै ठूलो पैसाको चलखेल,टिकट वितरणमा अनियमितता, अराजक अभिव्यक्ति र नाटकीय स्वरुप छ । वैकल्पिक मानिएको रास्वपाले चुनावी प्रचार डिजिटल र फिजिकल गरी बढि अपवाह फैलाउने गरेको छ । विभिन्न सामाजिक संजाल टिकटक,फेसबुक,इस्ट्राग्राम,एक्स लगायतका साइड हेर्ने हो भने विकासका योजना भन्दा निर्वाचनमा कसरी कुर्सी आफ्नो साथमा पार्ने फण्डाहरु रचिएका अल्गोरिदमहरु बढी छन् ।

यस्तै केहि दिन अघि चुनावी प्रचारप्रसारमै रास्वपाको झण्डा र स्टिकर टांसिएको गाडीले रौतहटमा एक बालिकालाई ठक्कर दिदाँ उनको ज्यानै गयो । बा १५ च ४२४२ नम्बरको कारले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु भएको थियो । ईशनाथ नगरपालिका २ मठिया टोलमा कारले बालिकालाई ठक्कर दिएको थियो। त्यसपछि उपचारको क्रममा उनको अस्पतालमा मृत्यु भएको थियो ।गाडीका चालक फरार भएका थिए। त्यसपछि रास्वपाको चौतर्फी आलोचना र विरोध भयो । तर रास्वापाले सो घटनाबाट केही नयाँ कुरा सिक्न सकेन् । अहिले पनि रास्वापाका उम्मेदवारहरुले देशभरी भिडभाडका साथ महँगा सवारीमा चुनावी प्रचारप्रसार जारी राखेको छ । आगामी दिनमा त्यस्ता अप्रिय घटना घटे कसले जिम्मा लिने ? के पैसाको घमण्डले सबै बितेका कुरालाई जिबित गराउन सकिन्छ ?

सुशासनको कुरा गरेर व्यापारीको गाडीमा देश दौडाहा गर्न थालेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) साहको चुनावी प्रचारकै क्रममा एक पत्रकारको मृत्यु भयो। उनी चुनावी प्रचारप्रसारका क्रममै गाडीबाट लडेर घाइते भएपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो । पत्रकार दिनेश सिटौला ग्राण्डी अस्पतालको भेन्टिलेटरमा उपचारकै क्रममा मृत्यु भएको थियो । अस्पतालले एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेज) भएको निष्कर्षसहित उनको मृत्यु भएको घोणा गरेको थियो । बालेनका समर्थक र उनको नेतृत्वका उनलाई अस्पालतमा आफन्तलाई भेटन नदिएको आरोप समेत लागेको थियो । तर सो कुरा अस्पतालको रिर्पोटपछि त्यतिकै सेलायो ।

झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका बालेनले व्यापारीबाट गाडी उपहार लिएको विवाद बाहिर आए लगतै सो गाडी भन्सार छली गरेर ल्याएको खुलेको थियो । सो कागजात भन्सार बिभागबाट अख्तियारले जफत गरिसकेको छ । सो विषयमा भन्सार विभागसङ्ग मिलेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अगाडि बढाएको हो । बालेनले चढिरहेको गाडी गुट्खा र चाउचाउ व्यापारी कमलकिशोर मालपानीको थियो । विवादास्पद पृष्ठभूमिका मालपानीको यशोदा फुड्स, श्रीराम टोबाको,त्रिमूर्ति इन्टरप्राइजेजलगायतका कम्पनी छन् । तीन महिनाअगाडि अर्थात २०८२ असोज २३ गते वीरगञ्ज भन्सारबाट छुटेको उक्त गाडी त्रिमूर्ति इन्टरप्राइजेजका नाममा दर्ता भएको विवरणमा देखिएको छ । सो गाडीसँगै अरु डेढ दर्जन गाडी भित्रिएको पाइएको छ ।

बिचौलिया दीपक भट्टसँग मिलीभगतमा हङकङमा नक्कली कम्पनी खडा गरेर गाडी ल्याएको भन्सारका एक अधिकृतले जानकारी दिए । जसमा दुईटा ल्याण्ड रोभर डिफेण्डर गाडी रहेको छ । आठ करोड मूल्य पर्ने भनिएकोमा बागमती प्रदेश ०१ ०३३ च ४३४३ नम्बरको गाडी बालेनसँग थियो । बालेनले चढेको डिफेण्डरमा ७६ लाख र सोही मोडलको अर्को गाडीमा ७३ लाख रुपैयाँ राजश्व छली भएको छ ।

समर्थकलाई भेट्ने होइन गाडीबाट मुन्टो निकालेर हात हल्लाउने ,घण्टी बजाउने,हल्ला गर्ने र युवापुस्तामा उत्तेजना बढाउने क्रियाकलापमा सक्रिय भएको देखिएको छ । उत्तेजनालाई सही ठाउँमा सदुपयोग गर्न नसके गत भदौ २३ र २४ गतेको भन्दा ठूलो दुर्घना मित्याउने खतराको संकेत भएको भन्दै पार्टीका नेता तथा कार्यकर्ताहरुले आलोचना गर्न थालेका छन् । दुई दिनअघि मधेशमा उनले शहीदको शालिकमा गाडीबाटै माला समेत फँयाकेको भिडियो सार्वजनिक भएको थियो । त्यसपछि बालेनको क्रियाकलाप र चुनावी प्रचारमा समेत कडा प्रश्न चिह्नहरु उठ्ने गरेका छन् । झापामा बालेनलाई सुकुम्बासीहरुले निकै अफ्ठ्यारोमा पारेका थिए । काठमाडौंमा सुकुम्बासी र कवाडी व्यवासीहरुलाई डोजेर लगाएर देशको राजधानीबाट लखेपछि बालेनलाई झापामा उनीहरुले निकै गम्भिर प्रश्न सोधेका थिए ।

यस्तै आज बालेन र आसिका तामाङ त्यस्तै अर्को आकर्षक मंहगो गाडीमा चुनावी प्रचारमा मैदानमा देखिएका छन् । उनले आशिका तामाङसँग ‘रोड शो’ गरे । दुवै जना गाडीको रुफटपबाट घण्टी बजाउँदै अघि बढेका थिए । सो चुनावी प्रचारमा पनि मतदाताहरुसँग विकासका योजनाहरु र जनताले भोगेका समस्याहरुसँग छलफल गरेरनन् ।

रास्वपा सभापति रवि लामिछाने पनि जहाँ जान्छन्, त्यहाँ गाडीको रुफटप खोलेर हात हल्लाउँने गरेका छन् । उनले चुनावी प्रचारप्रसारका क्रममा जनताका कुरा सुन्ने भन्दै तत्कालीन सरकारसँग मात्र आक्रोष पोख्ने गरेका छन् । भदौ २४ गते राज्यविहीनको मौका छोपेर जेलबाट भागेका लामिछाने अहिले आगामी निर्वाचनमा पहिलो पार्टी बनेर देशको नेतृत्व सम्हाल्ने दाउमा लागेका छन् । विजयोत्सवको शैलीमा लामिछाने फूलमालाले सजिएर कारमा उभिएर सडक प्रदर्शनमा छन् । उनलाई पनि सहकारी पीडितहरुले हजारौँ प्रश्न सोध्ने गरेका छन्,तर उनले प्रश्नको जवाफको सट्टा प्राय मौन रहेर निर्वाचन जित्ने लाइनमा लागेका छन् ।

रास्वपाबाट उम्मेदवार बनेकी आसिका तामाङ पनि विवादरहित पात्र भने होइन्,उनले चुनावी प्रचारका क्रममा भालेलाई घण्टीको आवाज सुनाउँदै ,भालेलाई माला लगाउँदै चुनावका लागि भोट मागेको भिडियो सामाजिक संजालमा भाइरल बनेपछि उनको कडा आलोचना भएको छ । यति मात्र होइन तामाङको विवादको कथा । धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार रहेकी तामाङको योग्यतामाथि थप अर्को प्रश्न उठेको छ । तर अहिलेसम्म उनको छानबिन भने हुन सकेको छैन् । मनोनयन गरेको केही घण्टा नबित्दै उनीसँग जर्मनीको स्थायी आवासीय अनुमति (पिआर) रहेको समाचार विभिन्न मिडियामा भाइरल बनेको थियो ।

धादिङको गजुरी गाउँपालिकाअन्तर्गत मलेखु स्थायी ठेगाना भएकी तामाङ पार्टीभित्रका अन्य आकांक्षी तथा कार्यकर्तालाई उछिनेर उम्मेदवारका लागि सिफारिस भइन् । तर उनको उम्मेदवारी संविधान र प्रचलिन कानुनविपरीत रहेको भन्दै प्रश्न उठाइएको छ । यसअघि सोही पार्टीका अध्यक्ष रवि लामिछानेको अमेरिका र नेपालको दोहोरो नागरिकता तथा राहदानी विवादका कारण चितवन–२ मा उपनिर्वाचन भएको थियो । सोही कारण राज्यले दोहोरो निर्वाचन खर्च ब्यहोर्नुपर्यो ।

आशिकाले सबैभन्दा पहिले जिल्ला प्रशासन कार्यालय धादिङबाट ५३८६ नम्बरको नेपाली नागरिकता लिएको, त्यसपछि सन् २०१४ जुन २ मा ०७४५११५६ नम्बरको नेपाली राहदानी लिएर स्टाफ नर्स अध्ययनका लागि जर्मनी गएको, जर्मनीमै थोमस इन्टेकोफरसँग विवाह गरेको तथ्याङले देखाएको छ । उनका १० वर्षका छोरा र ५ वर्षकी छोरी रहेको खुलेको छ । तामाङले सन् २०१७ नोभेम्बर ७ (२०७४ कात्तिक २१) मा जर्मनीको स्थायी आवासीय अनुमति (पिआर) लिएको तथ्याङले देखाएको छ ।

यस्तै रास्वपाका अर्को विवादित उम्मेदवार हुन् खगेन्द्र सुनुवार । रास्वपा केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुनार आफ्नो एक पुरानो अभिव्यक्तिले गम्भीर विवादमा तानिएका छन् । एक अन्तर्वार्तामा उनले ‘नेपालमा गाई खान पाउनुपर्ने’ दलील गरेको भिडिओ क्लीप सामाजिक सञ्जालमा भाइरल भएपछि उनी विवादमा तानिएका हुन् । दलित अभियानबाट चर्चामा आएका सुनार पहिल्यैदेखि अराजक गतिविधि र उत्तेजक अभिव्यक्तिहरुले गर्दा विवादमा पर्ने गरेका थिए । रास्वापाले पपुलिजमलाई प्राथमितामा राखेर राजनीति गर्दै आएको छ । अहिले रास्वापाबाट ठूलो संख्यामा कलाकारहरु भित्रिएका छन् । यस्तै अर्की एक कलाकार रीमा विश्वकर्मा पहिले अध्यक्ष कुलमान नेतृत्वको उज्यालो नेपालपार्टीमा प्रवेश गरेकी थिइन्् । रास्वपाकी समानुपातिक सांसदकी उम्मेदवार विश्वकर्माले चुनावी प्रचारप्रसारको क्रममा गरेको भाषण सामाजिक सञ्जालमा ट्रोल बनेपछि विवादमा परेकी छिन् ।

चुनाव प्रचारप्रसारमा स्याङ्जा पुगेकी उनले जनताले बहुमतका साथ रास्वपाका उम्मेदवारलाई जिताए, चुनावपछि रवि र बालेन्द्रलाई उक्त क्षेत्रमा ल्याउने वाचा गरेकी थिइन्। ‘म यहाँहरूलाई यसै ठाउँबाट यसै समयमा एउटा वाचा गर्न चाहन्छु। स्याङ्जाको क्षेत्र नं १ र २ बाट तपाईंहरूले हामीलाई बहुमतका साथ विजयी गराउनु भयो भने पार्टीका सभापति रवि लामिछाने र देशका प्रधानमन्त्री श्री बालेन्द्र शाहलाई स्याङ्जामा ल्याउने वाचा मैले अहिले नै गरेँ,’ उनले भनेकी थिइन्। उनले भाषण सामाजिक सञ्जालमा ट्रोल भएपछि विवादमा परेकी थिइन् ।

“बेथितिको अन्त्य र थितिको थालनी” भन्ने नारासहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले आफ्नै नाराको ठीक उल्टो आरोपले घेरिएको छ । पार्टीका नेता डा. प्रणय शमशेर राणाले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएपछि रास्वपाभित्रको आन्तरिक संकट सार्वजनिक सतहमा आएको छ । राणाको निष्कर्ष स्पष्ट छ—पार्टीभित्र बेथिति बढ्दो छ, आन्तरिक लोकतन्त्र खुम्चिएको छ र अन्धभक्ति हावी हुँदै गएको छ ।

२०७९ को निर्वाचनमा काठमाडौं–५ बाट उम्मेदवार बनेका राणाले मंगलबार महामन्त्रीलाई राजीनामा पत्र बुझाउँदै आर्थिक अपारदर्शिता, विधान मिच्ने प्रवृत्ति र नेतृत्वकेन्द्रित निर्णय प्रक्रियामाथि प्रश्न उठाएका छन् । उनका अनुसार सदस्यता शुल्कको १ हजार रुपैयाँमध्ये ३ सय रुपैयाँ पालिकामा जाने भनिए पनि त्यो रकम कहिल्यै पुगेको छैन् । प्राइमरी प्रक्रियामा उठाइएको रकम र उम्मेदवारी आवेदन शुल्कसम्बन्धी पारदर्शितामाथि पनि उनले प्रश्न उठाएका छन् ।

सैन्य पृष्ठभूमिका राणाले आफूले बुझाएको २५ हजार रुपैयाँ आवेदन शुल्क फिर्ता मागेका छन् र टिकट नपाएका अन्य आकांक्षीहरूको रकम पनि फिर्ता गर्न नेतृत्वलाई चुनौती दिएका छन् । उनको आरोप केवल आर्थिक पक्षमा मात्र सीमित छैन । उनले पार्टी विधान संशोधनमार्फत नेतृत्वले आफ्नो अनुकूल संरचना बनाएको, केन्द्रीय समितिलाई कमजोर बनाएर ‘केन्द्रीय सचिवालय’ बाट निर्णय थोपर्ने अभ्यास बढेको र ‘विशेष परिस्थिति’को नाममा लोकतान्त्रिक अभ्यास संकुचित गरिएको बताएका छन् । उनको कडा टिप्पणी छ—“आफ्नो आन्तरिक अभ्यास सही ढङ्गले नगर्ने पार्टीले भोलि सरकारमा गएर उत्कृष्ट काम गर्छ भन्ने विश्वास गर्न सक्दिनँ, अन्धभक्ति गर्न पनि चाहन्न।” यो वाक्य केवल व्यक्तिगत असन्तुष्टि होइन, रास्वपाभित्र बढ्दो असहजताको संकेत हो ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *