तत्कालीन नेकपा (माओवादी) ले २०५२ फागुन १ गतेबाट नेपालमा ‘सशस्त्र जनयुद्ध’ थालनी गरेको थियो । १० वर्षसम्म चलेको द्वन्द्वमा १७ हजार नेपालीले ज्यान गुमाए । हजारौं बेपत्ता र अंगभंग भए । नेपालले अर्बौको क्षति भोग्यो । सयौं भौतिक संरचना ध्वस्त बनाइए ।
राजतन्त्रको अन्त्य र नयाँ जनवादी व्यवस्था कायम गर्ने उद्देश्यका साथ तत्कालीन माओवादीले जनयुद्धको सुरुआत गरेको थियो । रुकुमको आठबीसकोट प्रहरी चौकी, रोल्पाको होलरी प्रहरी चौकी, सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकी र गोरखाको च्याङ्लीको कृषि विकास बैंकमा आक्रमण गरी माओवादीले जनयुद्ध सुरुआत गरेको थियो । जनयुद्ध अगाडि बढाउन माओवादीले रुकुम (पश्चिम र पूर्वी) र रोल्पालगायत जिल्लालाई आधार इलाका बनाएको थियो । रुकुमपूर्वलाई आधार इलाका बनाउन जिल्लामा रहेका प्रहरी कार्यालयहरूमाथि चरणबद्ध आक्रमण गरेर सफलता पाएको थियो ।
माओवादीको जनयुद्ध २०६२/६३ को जनआन्दोलनसँगै समाप्त भयो । माओवादी शान्तिपूर्ण मूलधारको राजनीतिमा आए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादीलाई ८२ सिट दिएर अन्तरिम व्यवस्थापिकामा सहभागी गराए । त्यसपछि २०६४ मा पहिलो संविधानसभा निर्वाचन भयो । जनयुद्धको राप र तापका कारण माओवादी एक्लैले १२० सिट जित्यो । एक सय सिट समानुपातिकबाट ल्यायो । ६०१ सदस्यीय संविधानसभामा माओवादीको एक्लै २२० सिट भयो । प्रचण्डले सरकार बनाए । तर नौ महिनामै माओवादी सरकार ढल्यो । र, प्रतिपक्षमा बस्न पुग्यो ।
चार वर्षसम्म सरकार बनाउने ढाल्ने खेल चलिरह्यो । तर नयाँ संविधान बनेन । अन्ततः तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको अन्तरिम सरकार बनाएर २०७० मा दोस्रो संविधानसभाको निर्वाचन भयो । निर्वाचनमा कांग्रेस ठूलो दल बन्यो । कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री बने । उनकै नेतृत्वको सरकारका बेला नेपालमा नयाँ संविधान जारी भयो । २०६४ को जस्तो प्रचण्डको रापताप २०७२ मा संविधान जारी हुनेबेलासम्म सेलाइसकेको थियो ।
आज (फागुन १) को दिनले प्रचण्ड कस्तो अवस्थामा छन् भन्ने प्रस्ट पार्छ । हिजो सशस्त्र जनयुद्ध सुरु गर्ने पार्टीको सुप्रिमो प्रचण्ड आज माओवादीमै छैनन् । अर्थात् उनले माओवादलाई तिलाञ्जली दिइसकेका छन् । संसदीय भासमा डुबेर प्रचण्डले के कस्ता गतिविधि गरे भन्ने कुराको यथार्थबारे नेपाली जनता पूर्ण रूपमा जानकार छन् । त्यही भएर आगामी फागुन २१ को निर्वाचनमा ‘माओवादी’ को ट्याग भिरेर जाँदा जनताले भोट नदिने भएपछि प्रचण्डले पार्टीको नाम नै फेरेका हुन् । माओवादीको ट्याग भिरेर भोट माग्न जाँदा नदिने बुझेका प्रचण्डले केही दिनअघि भनेका थिए– ‘रेनु दाहाल प्रचण्डकी छोरी होइन । प्रचण्ड रेनु दाहालको बाबु हो ।’ यो अभिव्यक्तिले प्रचण्ड कस्तो मनोदशाबाट गुज्रिरहेका छन् भन्ने प्रस्ट देखाउँछ ।
कुनै बेला ‘जनयुद्ध दिवस’ लाई राष्ट्रिय दिवस मनाउने मन्त्रिपरिषदवाट निर्णय गराउने प्रचण्डले योपटक ‘जनयुद्ध दिवस’ औपचारिक रूपमा मनाएको कहीँकतै देखिएन । उत्सव नै मनाउन ‘लाज हुने आन्दोलन’ र अहिले स्वामित्व लिन स्वीकार गर्न आनाकानी गर्नुले हिजो हिंसात्मक आन्दोलनको नेतृत्व किन गरेको भन्दै उनीमाथि प्रश्न उठेको हो ।यतिबेला २०६४ को प्रचण्डकै जस्तो रापतापको अवस्थामा बालेन्द्र साह बालेन र रवि लामिछाने देखिएका छन् । दुवैले अहिले पार्टीको सिद्धान्त र विचारभन्दा पनि चुनाव चिन्ह ‘घन्टी’लाई ब्रान्डिङ गरिरहेका छन् । त्यही भएर देशका १६४ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाए पनि रास्वपाको घन्टीबाहेक कुनै उम्मेदवारको पनि चर्चा छैन ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाका कारण रविले जिते पनि सांसद बन्न नपाउने अवस्था देखिएको छ । त्यही भएर उनले जे जति कराए पनि त्यसलाई जनताले चासो दिएको देखिएको छैन । तर भदौ २३ र २४ को जेनजी आन्दोलन हाइज्याक गरेर बालेनले अहिले सडकमा जुन तमासा देखाइरहेका छन्, त्यसको भविष्य पनि लामो देखिएको छैन । कथं झापा ५ मा एमाले अध्यक्ष केपी ओलीसँग हारेको भोलिपल्टदेखि बालेनको असली चरित्र छर्लंग हुने नै छ । यदि चुनाव जिते नै छन् भने पनि त्यसपछि उनले रास्वपामा के कस्तो भाँडभैलो मच्चाउने हुन् ? त्यो भने कुर्नैपर्ने हुन्छ । तर रवि र बालेनको अहिले सामाजिक सञ्जालमा देखिएको जस्तो ‘लोकप्रिय’ को भ्रम टु्ट्ने समय धेरै दिन बाँकी नरहेको विश्लेषण हुन थालेको छ ।




