देश

लोकतन्त्रको मजबुतीका लागि मतदान अनिवार्य : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशलाई अस्थिरता र बारम्बार दोहोरिने आन्दोलनबाट जोगाउन नियमित र विश्वसनीय निर्वाचन अपरिहार्य भएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एक शताब्दीमै नेपालले चार ठूला क्रान्ति र आन्दोलन भोगिसकेको उल्लेख गर्दै अब मुलुकले थप अस्थिरता धान्न नसक्ने स्पष्ट पारे। भण्डारीका अनुसार भावी पुस्ताले शान्त, अनुशासित र स्थिर राष्ट्रमा जीवन बिताउन पाउनुपर्ने भएकाले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन सबै पक्ष गम्भीर हुनुपर्छ। राजनीतिक उतारचढावले मुलुकमा गहिरो प्रभाव पारेको भन्दै उनले दल र नेतृत्वलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरे।

सञ्चार क्षेत्रको भूमिकालाई विशेष महत्व दिँदै उनले तथ्य जाँच (फ्याक्ट चेक) सहित सत्य र विश्लेषणमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गरे। पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि तालिम र प्रशिक्षण कार्यक्रम आवश्यक रहेको उनको भनाइ थियो। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। भण्डारीका अनुसार मतपत्र छपाइ सम्पन्न भई सम्बन्धित क्षेत्रतर्फ पठाउने काम सुरु भइसकेको छ। मतदान अधिकृतहरू तालिममा जानुअघि नै सबै सामग्री सम्बन्धित केन्द्रमा पुग्ने गरी कार्यतालिका बनाइएको छ।

यसपटक करिब ९ लाख ५० हजार नयाँ मतदाता थपिएको उल्लेख गर्दै आयोगले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैको सहकार्य आवश्यक रहेको जनाएको छ। भण्डारीले छिमेकी देशहरूको उदाहरण दिँदै लोकतन्त्र सुदृढ बनाउन निर्वाचन नै प्रभावकारी माध्यम भएको दोहोर्‍याए। सुरक्षा निकाय र सञ्चार क्षेत्रसँग समन्वय गर्दै स्वच्छ र विश्वसनीय मतदान सम्पन्न गर्ने आयोगको लक्ष्य रहेको उनले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *