देश

पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा भव्य स्वागत

काठमाडौं। झापाबाट हेलिकोप्टरमार्फत् काठमाडौं आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरूले उत्साहपूर्ण स्वागत गरेका छन्। शुक्रबार मध्याह्न विमानस्थल आइपुगेका पूर्वराजा शाहलाई स्वागतका लागि विमानस्थल गेट बाहिर बाक्लो संख्यामा उपस्थित समर्थकहरूले नाराबाजी गर्दै उनलाई भव्य स्वागत गरेका हुन् ।

विमानस्थलबाट बाहिरिने क्रममा शाहले गाडीभित्रबाट हात हल्लाउँदै समर्थकहरूको अभिवादन स्वीकार गरेका थिए। समर्थकहरूले ‘हाम्रो राजा हाम्रो देश, राजा आउ देश बचाऊ’ जस्ता नारा लगाउँदै स्वागत गरेका थिए। उनीलाई विमानस्थलबाट र्‍यालीसहित निर्मल निवाससम्म लैजाने तयारी गरिएको छ। भीडलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पनि स्वागतका लागि ठूलो जनसमूह उपस्थित भएको थियो।

‘ राजालाई स्वागत गर्दै समर्थकहरुलाई स्वागत गर्न राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईंले शाहलाई विमानस्थलभित्रै स्वागत गरेका थिए। उनले समर्थकहरूलाई बाहिर राखेर पूर्वराजालाई लिन भित्र प्रवेश गरेका थिए। विमानस्थलदेखि निर्मल निवाससम्म कडा सुरक्षा व्यवस्था मिलाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सम्भावित भीड र सुरक्षालाई ध्यानमा राख्दै राजधानीका प्रमुख चोक–चोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। पूर्वराजाको आगमनसँगै केही समय विमानस्थल आसपासको क्षेत्र व्यस्त देखिएको थियो। राप्रपासहित विभिन्न राजावादी समूहहरूले स्वागत कार्यक्रमको तयारी गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *