काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासको क्षेत्र केही समय अस्तव्यस्त बनेको छ। राजावादी समर्थकहरू विमानस्थल गेट बाहिर भेला भई नाराबाजी गरिरहेका छन्। ‘हाम्रो राजा हाम्रो देश’ लगायतका नारा लगाउँदै समर्थकहरू स्वागतका लागि जमघट भएपछि यात्रुहरूलाई आवतजावतमा असहजता भएको छ। स्थानीय प्रशासनले विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि ठूलो संख्यामा समर्थकहरू उपस्थित भएका छन्।
उडान समात्न आएका यात्रुहरू हतार–हतार सुटकेश घिसार्दै गेटबाट भित्र प्रवेश गर्न बाध्य भएका दृश्य देखिएका छन्। यसैबीच, ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं पनि विमानस्थल पुगेका छन्। समर्थकहरूलाई बाहिर राखेर उनी भित्र प्रवेश गरेका छन् र पूर्वराजालाई साथमा लिएर बाहिर आउने बताएका छन्।
विमानस्थलदेखि निर्मल निवाससम्म विशेष सुरक्षा प्रबन्ध गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सम्भावित भीड र सुरक्षालाई ध्यानमा राख्दै काठमाडौंका मुख्य चोकहरूमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
पूर्वराजा शाह झापाबाट हेलिकोप्टरमार्फत् काठमाडौं आएका हुन्। राप्रपालगायत विभिन्न राजावादी समूहहरूले उनको स्वागतका लागि कार्यक्रम आयोजना गरेका छन्।




