देश

चुनावी अभियानमा संयम अपनाउन कांग्रेसको आह्वान, दबाब र खर्चमा कडाइ

काठमाडौं। आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले आफ्ना उम्मेदवारहरूलाई आर्थिक अनुशासन र पारदर्शितामा जोड दिन स्पष्ट निर्देशन दिएको छ। पार्टीले जारी गरेको ‘निर्वाचन परिचालन निर्देशिका–०८२’ मार्फत् व्यवसायीहरूसँग जबरजस्ती आर्थिक सहयोग नलिन र अनावश्यक खर्च नगर्न सचेत गराएको हो।

पार्टीका अनुसार प्रचार अभियान सञ्चालनका क्रममा आवश्यक खर्च व्यवस्थापन गर्दा स्वेच्छिक सहयोग मात्रै स्वीकार गर्नुपर्नेछ। कुनै पनि साना–ठूला व्यवसायीमाथि दबाब सिर्जना नगर्न कडा निर्देशन दिइएको छ। साथै, ‘साझा दायित्व, साझा स्वामित्व’ को भावनासहित पार्टी सदस्यहरूको सहभागितामा निश्चित कोष स्थापना गरी अभियान सञ्चालन गर्न भनिएको छ। निर्वाचन सम्पन्न भएको १५ दिनभित्र खर्च विवरण निर्वाचन आयोगमा बुझाउन पनि परिपत्रले अनिवार्य गरेको छ।

कांग्रेसले पूर्व शिक्षक, पूर्व सैनिक, पूर्व प्रहरी तथा अवकाशप्राप्त कर्मचारीहरूको अनुभव र ऊर्जा चुनावी अभियानमा उपयोग गर्न विशेष संयन्त्र गठन गर्न निर्देशन दिएको छ। प्रत्येक निर्वाचन क्षेत्र, पालिका र वडास्तरमा समन्वय संरचना बनाएर उनीहरूलाई सक्रिय भूमिकामा ल्याइने उल्लेख छ।

त्यस्तै, विदेशबाट फर्किएका युवालाई समेत अभियानमा समेट्ने योजना अघि सारिएको छ। अध्ययन, रोजगारी वा व्यवसायका सिलसिलामा विदेश बसेर फर्किएका युवाको स्थानीय समाजमा प्रभाव रहने भएकाले उनीहरूसँग सम्पर्क र परिचालनलाई तीव्रता दिन पार्टीले जोड दिएको छ।

आन्तरिक मतभेदलाई थाँती राख्दै एकताबद्ध भएर चुनावमा जुट्न पनि निर्देशन दिइएको छ। ‘नवीन कांग्रेस, नयाँ युगको विकल्प’ नारासहित मतदातामाझ पुग्न प्रभावकारी अभियान सञ्चालन गर्न आग्रह गरिएको छ। साथै, सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएको जानकारी दिँदै पार्टीको ‘भिजन १०’ अवधारणामा केन्द्रित रहन सबै तहलाई निर्देशन दिइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *