भदौ २३ र २४ को जेनजी आन्दोलनका कारण दुई वर्षअघि नै फागुन २१ गते हुँदैछ । आजको २१ दिनमा मतदान हुनेछ । दल र उम्मेदवारहरूले १९ दिनसम्म मात्र चुनाव प्रचारप्रसार गर्न पाउने छन् । निर्वाचन आयोगको कार्यतालिकाअनुसार अहिले उम्मेदवारले मतदातासँग मात्र भेटघाट गर्न पाउनेछन् । फागुन ४ गतेदेखि मात्रै उम्मेदवार र दलले सार्वजनिक रूपमा आफूलाई मत माग्न पाउनेछन् ।
यतिबेला सबै दल र स्वतन्त्र उम्मेदवार मतदाताकहाँ पुगेका छन् । तर मुलुककै जेठो र लोकतान्त्रिक दल नेपाली कांग्रेसमा भने सामान्य फरक अवस्था देखिएको छ । एक महिनाअघि विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको नयाँ कार्यसमिति चुनिएपछि फरक स्थिति आएको हो । सर्वोच्च अदालतमा तत्कालीन सभापति शेरबहादुर देउवाले हालेको मुद्दा विचाराधीन भएकाले पनि अहिले पहिलेको संस्थापन खुलेर चुनावमा मत माग्न सकिरहेको छैन । धकाइरहेको छ ।
झन्डै ६ दशक लामो सक्रिय राजनीतिक यात्रामा कहिल्यै चुप नबसेका देउवा यतिवेला मौनतामा छन् । आसन्न २१ फागुनको प्रतिनिधिसभा निर्वाचनको माहोल तातिरहँदा अनि आफ्नै पार्टीको अभियान तीव्र भइरहँदा र कांग्रेसमा एउटा पुस्ता अस्तित्व बचाउने लडाइँ लडिरहँदा देउवा भने महाराजगन्जको घरभित्रै सीमित बनेपछि अनेकथरी अड्कलबाजी हुन थालेका छन् । यसलाई छिट्टै सम्बोधन नगरे चुनावमा असर गर्ने राजनीतिक विश्लेषकहरूको सुझाव छ ।
विशेष महाधिवेशनपछि नेतृत्व हातबाट फुत्किएसँगै सुरु भएको देउवाको मौनताको निरन्तरता कुनै स्वास्थ्य कारण नभई राजनीतिक हैसियतको अन्योलले बनाइरहेको छ । उनको मौनतालाई कांग्रेसको चुनावी परिणामसँग पनि हेर्ने गरिएको छ । कांग्रेस पूरै होमिएको भए पनि पार्टीका निवर्तमान सभापति देउवा चुनावी प्रचारमा छैनन् । उनको मौनताले पार्टीको चुनावी अंकगणितमै फरक पर्ने हो कि भन्ने कांग्रेसभित्र अर्को चिन्ता पनि छ ।
विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएसँगै सुरु भएको राजनीतिक र कानुनी विवादबिच देउवा घरमै सीमित बनेका हुन् । अदालतको फैसला नआएसम्म उनी सार्वजनिक रूपमा सक्रिय नहुने मनस्थितिमा छन् । तर, देउवा महाराजगन्जस्थित निवासमा निकटस्थसँग भेटघाटमा व्यस्त छन् । टेलिफोनमार्फत उम्मेदवारहरूसँग संवाद र शुभकामना आदान–प्रदान भइरहेको छ । गृहजिल्ला डडेल्धुराका नेताहरूसँग पनि नियमित सम्पर्कमा छन् । चुनावअघि सर्वोच्चको फैसला नआए भोट हाल्न भने गृहजिल्ला जाने तयारीमा छन् । बुधबार मात्र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर देउवाले पार्टीका उम्मेदवार जिताउन लागिपर्न निर्देशन दिए । यसले एउटा सकारात्मक सन्देश सञ्चार गरेको छ ।
देउवा मात्र होइन, तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्का पनि मौन छन् । पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरूसँग भेटघाट भइरहे पनि उनी चुनावी प्रचारप्रसारमा हिँडेका छैनन् । यस्तै, नेता प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा.शशांक कोइराला पनि सार्वजनिक रूपमा देखिएका छैनन् । यसले एउटा सन्देह उत्पन्न भएको छ । तर पनि कांग्रेसमा अहिलेसम्म त्यसले कतै असर गरेको छैन । चुनावको तीन महिनापछि पार्टीको १५औं महाधिवेशन गर्नैपर्ने भएकाले अहिलेको नेतृत्वले जतिसक्दो छिटो तत्कालीन संस्थापन पक्षका साथै अन्य वरिष्ठ नेताहरूलाई विश्वासमा लिएर एकढिक्का भई निर्वाचनमा गएर सानदार सफलता हात पार्ने विश्लेषण हुन थालेको छ ।
कांग्रेस बाहिरका मानिसहरूले पनि यस्तै यस्तै सुझाव र सल्लाह दिएका छन् । पार्टीको नियमित महाधिवेशनमा फेरि पनि होमिनै पर्ने भएकाले अहिलेलाई कुनै तुष नराखी चुनावमा जाँदा पार्टीको मात्र होइन, देशकै लागि पनि धेरै हित गर्ने देखिन्छ । जेनजी आन्दोलनपछि नयाँ भनिएकाबाट जबर्जस्त आक्रमण हुँदा पनि कांग्रेसलाई त्यति धेरै असर पुगेको देखिन्न । अहिले कांग्रेसले उठाएका उम्मेदवार र लिएको नीतिका कारण जनतामा विश्वास गर्न लायक र भरपर्दो पार्टी भनेकै कांग्रेस मात्र हो भन्ने सन्देश प्रवाह भइरहेको छ । यसलाई कांग्रेसका नेताहरुले टुट्न दिनु हुन्न । त्यसो हुन सकेमा कांग्रेसले नै नयाँ सरकारको नेतृत्व गर्ने अवस्था आउन सक्छ ।




