देश

यसपटक चितवन २ मा मत परिवर्तन गर्दै मतदाता, रविभन्दा मिना खरेलको चर्चा धेरै

काठमाडौं । जेनजी आन्दोलनकै कारण दुई वर्षअगावै फागुन २१ मा चुनाव हुँदैछ । त्यसका लागि अहिले दल र उम्मेदवार प्रचार प्रसारमा लागेका छन् । देशका झन्डै दुई दर्जन निर्वाचन क्षेत्र चर्चामा छ । ठूला र चर्चित नेताहरु उम्मेदवार बनेकाले पनि ती निर्वाचन क्षेत्र चर्चामा आएको हो ।

झापा ५ र सर्लाही ४ सबैभन्दा धेरै चर्चामा छ । कारण झापा ५ मा एमाले अध्यक्ष केपी ओलीसँग रास्वपा वरिष्ठ नेता बालेन्द्र साह बालेनको प्रतिस्पर्धा । सर्लाही ४ चाहिँ गगन थापाले उम्मेदवारी दिएकाले हो । काठमाडौं ४ छाडेर गगन मधेश पसेपछि धेरै चर्चा भएको हो ।
विगतमा चितवन २ धेरै चर्चा हुन्थ्यो । रवि लामिछानेको चुनावी क्षेत्र भएकाले आमनिर्वाचन र उपचुनावमा धेरै चर्चा भएको हो । तर यसपटक त्यस्तो चर्चा चलेन । देशका अन्य निर्वाचन क्षेत्र र उम्मेदवारको चर्चा हुँदा पनि चितवन २ नोटिसमै आएन । तर केही दिनयता भने चितवन २ रविका कारण भन्दा पनि कांग्रेस उम्मेदवार मिनाकुमारी खरेलका कारण चर्चामा आउन थालेको छ ।

मिनाले भित्रभित्रै माहोल तताएपछि बल्ल राष्ट्रिय मिडिया र सामाजिक सञ्जालमा चितवन २ त्यसमा पनि मिना खरेल नोटिसमा आएका हुन् । लगातार दुई निर्वाचनमा फराकिलो मतान्तरले जितेका रविले यसपटक पनि सजिलै जित्ने विश्वास गरेका थिए । तर अहिले उनलाई कांग्रेसकी उम्मेदवार खरेल, एमालेका अस्मिन घिमिरे, नेकपाका प्रताप गुरुङ, राप्रपाका जगदीश्वर अधिकारीलगायतले चुनौती दिएका छन् ।

पूर्व गृहमन्त्रीसमेत रहेका लामिछाने सहकारी ठगीसम्बन्धी मुद्दामा पाँच जिल्लाका अदालतमा कानुनी प्रक्रियामा छन् । उम्मेदवारी दर्ताका क्रममा समेत अदालत धाइरहनुपरेका उनले वारिसमार्फत उम्मेदवारी दर्ता गराएका थिए । जसकारण विपक्षीले कानुनी र नैतिक प्रश्नलाई मुख्य बहसको विषय बनाएका छन् । त्यति मात्र होइन, तीन वर्षमध्ये धेरै समय चितवन २ सांसदविहीन बनेपछि यसपटक कुनै पनि हालतमा मत परिवर्तन गरेर स्थानीय उम्मेदवारलाई जिताउनुपर्ने निष्कर्षमा त्यहाँका मतदाता पुगेका छन् ।

त्यसैले यसपटक कांग्रेस सामाजिक स्वीकृति भएको उम्मेदवारमार्फत समीकरण बदल्ने प्रयास गरेको देखिन्छ । चितवन २ रवि लामिछानेका लागि अनुकूल क्षेत्र मानिए पनि यसपटकको प्रतिस्पर्धा अघिल्लाजस्तो एकतर्फी नहुन सक्ने संकेत देखिएका छन् । सहकारी प्रकरण, अदालत धाइरहनुपर्ने अवस्था र पुनः उपनिर्वाचनको सम्भावनाबारे उठिरहेका प्रश्नले चुनावी वातावरणमा फरक आयाम थपेको छ । कांग्रेसले उठाएको उम्मेदवारको सामाजिक अभियन्ताको छवि, महिलाको प्रतिनिधित्व र सहकारी प्रकरणले उठाएका प्रश्नले मतदातालाई पुनर्विचारतर्फ धकेल्न सक्छ ।

यसपटकको निर्वाचनमा रविलाई सबैभन्दा कडा टक्कर कांग्रेसकी मिना खरेलले दिने अनुमान गरिएको छ । कांग्रेसले यसपटक परम्परागत राजनीतिक अनुहारभन्दा फरक छवि खोज्दै सामाजिक अभियन्ता मीनालाई उम्मेदवार बनाएको छ । खरेल तीन दशकभन्दा बढी समयदेखि महिला, बालबालिका र हिंसा प्रभावित समुदायको पक्षमा सक्रिय छिन् ।

चितवनमा हिंसा प्रभावित महिला तथा बालबालिकाका लागि अल्पकालीन पुनःस्थापना गृह सञ्चालन गर्ने पहिलो पहलकर्तामध्ये एक खरेलको नेतृत्वमा हजारौं महिलाले कानुनी सहयोग, सीपमूलक तालिम र आर्थिक आत्मनिर्भरता हासिल गरेको कांग्रेसको दाबी छ । समाजशास्त्रमा स्नातकोत्तर खरेल २०५४ सालको स्थानीय निर्वाचनमा वडा सदस्य निर्वाचित भएकी थिइन् । हाल उनी कांग्रेस जिल्ला महासमिति सदस्य छिन् ।
खरेल मानव बेचबिखन नियन्त्रण, हिंसा प्रभावितको पुनःस्थापना र महिला सशक्तीकरणका क्षेत्रमा योगदान पु¥याएबापत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानबाट पुरस्कृत भएकी छन् ।

कांग्रेसका केन्द्रीय सदस्य जितनारायण श्रेष्ठले चुनाव जितेर पनि खासै केही नगरेका रविलाई निरन्तर यहाँ सामाजिक काम गरेर बसेकी मिनाको कारण कांग्रेसको जित सुनिश्चित जस्तै भएको बताए ।रविले चितवन २ लाई निलो क्रान्तिको उद्गमस्थल बताउँदै आएका छन् । अहिले देशैभरी फैलिएको निलो क्रान्ति चितवनमा विगतभन्दा अझ दरिलो भएर स्थापित हुने उनको दावी छ ।

चितवन २ को चुनाव यसपटक केवल विकासका नारामा सीमित नरहने संकेत देखिएको छ । सहकारी ठगी प्रकरण, कानुनको समान कार्यान्वयन, राजनीतिक नैतिकता र सामाजिक न्यायजस्ता विषय बहसको केन्द्रमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *