देश

निर्वाचनको मुखमैँ रास्वपामा विद्रोह सुरु, डा. प्रणय राणाको राजीनामासँगै संगठन, नैतिकता र नेतृत्वमाथि गम्भीर प्रश्न

काठमाडौं । “बेथितिको अन्त्य र थितिको थालनी” भन्ने नारासहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले आफ्नै नाराको ठीक उल्टो आरोपले घेरिएको छ । पार्टीका नेता डा. प्रणय शमशेर राणाले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएपछि रास्वपाभित्रको आन्तरिक संकट सार्वजनिक सतहमा आएको छ । राणाको निष्कर्ष स्पष्ट छ—पार्टीभित्र बेथिति बढ्दो छ, आन्तरिक लोकतन्त्र खुम्चिएको छ र अन्धभक्ति हावी हुँदै गएको छ ।

२०७९ को निर्वाचनमा काठमाडौं–५ बाट उम्मेदवार बनेका राणाले मंगलबार महामन्त्रीलाई राजीनामा पत्र बुझाउँदै आर्थिक अपारदर्शिता, विधान मिच्ने प्रवृत्ति र नेतृत्वकेन्द्रित निर्णय प्रक्रियामाथि गम्भीर आरोप लगाएका छन् । उनका अनुसार सदस्यता शुल्कको १ हजार रुपैयाँमध्ये ३ सय रुपैयाँ पालिकामा जाने भनिए पनि त्यो रकम कहिल्यै नपुगेको छ । प्राइमरी प्रक्रियामा उठाइएको रकम र उम्मेदवारी आवेदन शुल्कसम्बन्धी पारदर्शितामाथि पनि उनले प्रश्न उठाएका छन् ।

सैन्य पृष्ठभूमिका राणाले आफूले बुझाएको २५ हजार रुपैयाँ आवेदन शुल्क फिर्ता मागेका छन् र टिकट नपाएका अन्य आकांक्षीहरूको रकम पनि फिर्ता गर्न नेतृत्वलाई चुनौती दिएका छन् । उनको आरोप केवल आर्थिक पक्षमा मात्र सीमित छैन । उनले पार्टी विधान संशोधनमार्फत नेतृत्वले आफ्नो अनुकूल संरचना बनाएको, केन्द्रीय समितिलाई कमजोर बनाएर ‘केन्द्रीय सचिवालय’ बाट निर्णय थोपर्ने अभ्यास बढेको र ‘विशेष परिस्थिति’को नाममा लोकतान्त्रिक अभ्यास संकुचित गरिएको बताएका छन् । उनको कडा टिप्पणी छ—“आफ्नो आन्तरिक अभ्यास सही ढङ्गले नगर्ने पार्टीले भोलि सरकारमा गएर उत्कृष्ट काम गर्छ भन्ने विश्वास गर्न सक्दिनँ, अन्धभक्ति गर्न पनि चाहन्न।” यो वाक्य केवल व्यक्तिगत असन्तुष्टि होइन, रास्वपाभित्र बढ्दो असहजताको संकेत हो ।

राणाको राजीनामा आएको समय पनि अर्थपूर्ण छ । रास्वपाका सभापति रवि लामिछाने सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतमा धरौटी बुझाएर निस्किएका छन् । बिगो स्वीकारेको विषय सार्वजनिक बहसको केन्द्रमा छ । उता, बुटवलमा उम्मेदवार सुलभ खरेल सहकारी पीडितबाट घेरिएका छन् । उनीमाथि जेन–जी विध्वंश घटनामा उक्साहटको आरोपसमेत लागेको छ ।कपिलवस्तुमा जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई विद्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत अनुसन्धानाधीन कागजात सार्वजनिक गरेको आरोपमा उनीविरुद्ध मुद्दा अघि बढाइएको छ । यी घटनाले रास्वपाको ‘नयाँ राजनीतिक संस्कार’को दाबीमाथि गम्भीर धक्का दिएको छ ।

जेन–जी आन्दोलनलाई रास्वपाले प्रारम्भमा राजनीतिक ऊर्जा बनाउने प्रयास गरेको आरोप लाग्दै आएको छ । सभापति लामिछानेलाई कारागारबाट निकाल्न समर्थकहरूको प्रदर्शन, त्यसपछि नक्कली पत्र प्रकरण, र आन्दोलनको ‘स्टेक होल्डर’ दाबी—यी सबै घटनाले पार्टीभित्र वैचारिक विभाजन चर्किएको देखिएको थियो । सुमना श्रेष्ठले पार्टी छाड्नु र तोसिमा कार्की लगायत नेताहरू जेनजी आन्दोलनका क्रममा संसद भवन जलाउने कार्यमा सहभागि हुनु,मौनता वा फरक धारणा सार्वजनिक हुनु, यी सबै घटनाले रास्वपा एकढिक्का नरहेको संकेत दिन्छ । पार्टीभित्र संसद विघटनको पक्ष–विपक्षमा खुलेरै धार देखिनु र नेतृत्वको भूमिकामाथि प्रश्न उठ्नुले संगठनात्मक संकट गहिरिँदै गएको देखिन्छ ।

डा.राणाको आरोपमा सबैभन्दा गम्भीर शब्द हो—‘अन्धभक्ति’। नयाँ शक्ति र वैकल्पिक राजनीतिको नाममा स्थापित पार्टीभित्र आलोचनालाई असहज मान्ने प्रवृत्ति बढ्दै गएको संकेत उनका शब्दमा पाइन्छ । यदि नेतृत्वप्रति प्रश्न उठाउनेहरू हाशियामा धकेलिन्छन् भने त्यो अवस्था पुरानै दलहरूको रोग दोहोरिएको मान्न सकिन्छ । रास्वपा अहिले चुनावी प्रतिस्पर्धामा व्यस्त छ । तर चुनावी नाराभन्दा ठूलो प्रश्न संगठनभित्रको लोकतन्त्र, पारदर्शिता र नैतिक विश्वसनीयताको हो । यदि पार्टीभित्रै असन्तुष्टि थामिन सकेन भने बाहिरको समर्थन जोगाइराख्नु चुनौतीपूर्ण हुनेछ ।

डा.प्रणय राणाको बहिर्गमन केवल एउटा राजीनामा होइन, रास्वपाको वैकल्पिक राजनीतिको दाबीमाथि उठेको परीक्षण हो । अब प्रश्न छ—पार्टीले यसलाई आत्मसमीक्षा गर्ने अवसर बनाउँछ कि आलोचनालाई ‘असन्तुष्टको आवाज’ भन्दै पन्छाउँछ ? आगामी दिनमा रास्वपाको दिशा त्यही निर्णयले तय गर्नेछ ।

May be an image of ticket stub and text

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *