काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी र हिमाली जिल्लाको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन प्रधानमन्त्री सुशीला कार्की सोलुखुम्बु पुगेकी छन्।प्रधानमन्त्री कार्की आज बिहान हेलिकप्टरमार्फत सोलुखुम्बु पुगेकी हुन्। उनीसँग प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावल पनि रहेका छन्। टोलीले सुरुमा नाम्चे भ्रमण गरी त्यसपछि जिल्ला सदरमुकाम सल्लेरी पुगेर स्थानीय अवस्था बुझिरहेको छ।
सदरमुकाममा प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूले प्रधानमन्त्रीलाई जिल्लाको समग्र अवस्था र निर्वाचन तयारीबारे जानकारी गराएका छन्। प्रारम्भिक ब्रिफिङअनुसार हालसम्म निर्वाचन सञ्चालनमा कुनै ठूलो समस्या देखिएको छैन। प्रेस सल्लाहकार रावलका अनुसार विगतका वर्षहरूमा फागुन महिनामा उल्लेखनीय हिमपात नभएको तथ्य प्रस्तुत गर्दै अधिकारीहरूले निर्वाचन सहज रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्।
जिल्ला प्रशासन कार्यालयका अनुसार सोलुखुम्बुमा १२३ मतदान स्थल रहेका छन्। सम्भावित हिमपातको अवस्था आएमा सात मतदान स्थल प्रभावित हुनसक्ने अनुमान छ, जसमा चार स्थल नाम्चेभन्दा माथिल्लो क्षेत्रमा पर्छन्। हाल ती सबै स्थल सामान्य अवस्थामा रहेको जनाइएको छ। प्रधानमन्त्रीको टोलीले आज र भोलि पूर्वी हिमाली जिल्लाहरूको अवस्थाबारे जानकारी लिएपछि पश्चिमतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।




