देश

पूर्वप्रधानमन्त्री देउवासँग लभिङको तयारीमा कांग्रेस ,के देउवा जालान् त चुनावी प्रसारप्रसारमा ?

काठमाडौं । फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसभित्र पूर्वप्रधानमन्त्री तथा निर्वमान सभापति शेरबहादुर देउवालाई चुनावी अभियानमा सक्रिय गराउने विषयमा कांग्रेस भित्र बहस चल्न थालेको छ । तर, देउवाको सचिवालयले भने उनी चुनावी गतिविधिमा सहभागी नहुने स्पष्ट पारेपछि बहसले नयाँ मोड लिएको छ।

बुधबार आयोजित पत्रकार भेटघाटमा कांग्रेस प्रवक्ता देवराज चालिसेले देउवामार्फत भावनात्मक अपिल सार्वजनिक गराउने प्रयास भइरहेको बताएका थिए। “उहाँसँग संवाद भइरहेको छ। कम्तीमा एउटा वक्तव्य वा भावनात्मक सन्देश आए पनि पार्टीका लागि सकारात्मक लहर सिर्जना हुन सक्छ,” उनले बताएका थिए।

चालिसेका अनुसार, गत असोज २८ मा केन्द्रीय समिति बैठकमा देउवाले दिएको मन्तव्यजस्तै सन्देश निर्वाचनका लागि प्रभावकारी हुन सक्ने आकलन पार्टीको छ। साथै, नेता प्रकाशमान सिंहलाई समेत चुनावी अभियानमा सक्रिय गराउने विषयमा छलफल भइरहेको जानकारी उनले दिए ।

तर, केही दिन यसअघि नै देउवाको सचिवालयले भने निर्वतमान सभापति चुनावी सभा, आमसभा वा कुनै पनि प्रचारात्मक कार्यक्रममा सहभागी हुने कार्यक्रम नरहेको स्पष्ट गरेको छ। केही सञ्चारमाध्यममा देउवा चुनावी प्रचारमा देखिन सक्ने चर्चा आएपछि सचिवालयले त्यसको खण्डन गर्दै उनी सार्वजनिक चुनावी कार्यक्रममा नजाने जनाएको थियो

विशेष महाधिवेशनपछि नेतृत्व हस्तान्तरण भएसँगै देउवा पार्टीका औपचारिक गतिविधिबाट प्रायः टाढा देखिँदै आएका छन्। राजनीतिक वृत्तमा यसलाई उनले रोजेको ‘राजनीतिक विश्राम’ का रूपमा व्याख्या गरिएको छ। यसरी पार्टीभित्र उनलाई सक्रिय गराउने चाहना देखिए पनि सचिवालयको प्रष्टोक्तिले देउवा तत्काल चुनावी मैदानमा उत्रिने सम्भावना नरहेको संकेत दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *