देश

जताजता अदालतको तारिख उतै रवि लामिछानेको चुनावी प्रचार !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चुनावी कार्यक्रममा सहभागी हुन बुधबार पोखरा पुगेका छन्। लामिछानेले बुधबार पोखराको तीन ठाउँमा चुनावी कार्यक्रम रहेको रास्वपाले जनाएको छ।

रास्वपाले सार्वजनिक गरेको कार्यक्रमअनुसार लामिछानेले कास्कीको तालचोक, हेम्जा र चिप्लेढुंगामा भेटघाट गर्नेछन्। बेलुकी ५ बजे चिप्लेढुंगाको कार्यक्रम सकेपछि राति पोखरामै बस्ने जनाइएको छ। त्यससँगै कार्यकर्तासँग भेटघाट गर्ने भएका छन्।

बिहीबार उनी जिल्ला अदालत, कास्कीमा उपस्थित हुनेछन्। अदालतमा तारिख रहेकाले उनी पोखरामा चुनावी कार्यक्रम तयार पारेर पुगेका हुन् । उनीविरुद्ध जिल्ला अदालत, कास्कीमा सूर्यदर्शन सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा विचाराधीन रहेको छ।

यसअघि रवि बुटवल पुगेका थिए । रुपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा विचाराधीन छ । त्यही भएर उनी भरतपुर हुँदै बुटवल पुगेका थिए । रास्वपाले रविको जहाँ जहाँको अदालतमा तारिख धाउनुपर्ने छ, त्यहाँ समय पारेर चुनावी कार्यक्रम तयार पारेको छ । रुपन्देही जिल्ला अदालतमा तारिख बुझ्न जाँदा रवि केही सहयोगी लिएर सुटुक्क पसेका थिए । उनी कार्यकर्तालाई खाना खुवाउन जाने बहाना बनाएर अदालत पसेर तारिख बुझेर बाहिर निस्केका थिए । त्यहाँ धेरैले पत्तै पाएनन् ।

रविले बिहीबार पनि पोखरामा सुरुमा चुनावी कार्यक्रम गर्ने र त्यसपछि कास्की जिल्ला अदालत पसेर तारिख बुझ्ने स्रोतले बतायो । यतिबेला उनी पोखरामा रोड सो गरिरहेका छन् । जबकि निर्वाचन आयोगले फागुन ४ गतेदेखि मात्रै सार्वजनिक ठाउँमा मत माग्न कार्यतालिका सार्वजनिक गरेको छ । तर रास्वपा सभापति रवि र वरिष्ठ नेता बालेन्द्र साह बालेनलाई त्यसको कुनै प्रवाह छैन । उनीहरूले खुलेआम चुनाव चिन्हमा भोट मागिरहेका छन् ।

कांग्रेस, एमाले, नेकपासहितका दलका उम्मेदवार भने निर्वाचन आयोगको आचारसंहिता ख्याल गर्दै मतदाता भेट्दै हिँडेका छन् । तर रास्वपाले भने निर्वाचन आयोगको कानुनी व्यवस्थाको धज्जी उडाएको छ । रवि चुनाव जितेर पनि सांसद बन्न योग्य पात्र होइनन् । उनीमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा छ । त्यो पनि काठमाडौं, चितवन, कास्की, रुपन्देही र पर्सा जिल्ला अदालतमा । साथै, उच्च अदालत र सर्वोच्च अदालतमा पनि मुद्दा विचाराधीन भएको र बिगो धरौटी तिरेर बाहिर निस्केको अभियुक्त भए पनि अझै देश बनाउँछु भन्दै हिँडेकाले रवि लामिछानेको बचेखुचेको इज्जत पनि गुम्दै गएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *