देश

हल्लाखोर राजनीतिबाट जनता मुक्त भइसकेः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा फैलाइने प्रचार र वास्तविक जनधरातलबीच ठूलो अन्तर रहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्ला दिनमा देखिएको ‘स्टन्ट र हल्ला’ को राजनीतिलाई जनताले बुझिसकेको उल्लेख गरे । त्यस्ता भ्रमको तर्कसहित खण्डन गर्दै आगामी निर्वाचनमा केन्द्रित हुन उनले नेता–कार्यकर्तालाई निर्देशन दिए ।

सामाजिक सञ्जालको भरमा गरिने राजनीतिलाई उनले ‘स्टन्टबाजी’को संज्ञा दिँदै त्यसको प्रभाव फिल्डमा न्यून रहेको दाबी गरे । “जहाँ पहिले त्यस्ता शक्तिहरूले जितेका थिए, त्यहाँ अहिले उनीहरूको प्रभाव घट्दो छ,” उनले भने, “नयाँ ठाउँमा भ्रम छर्न सजिलो होला, तर जनताले नेताहरूको काम र क्षमताको मूल्याङ्कन गरिसकेका छन् ।”

उपत्यका लगायत क्षेत्रमा अनुभवी नेताहरूको काम देखिसकेकाले जनता ‘हल्लाखोर’ प्रवृत्तिबाट मुक्त भइसकेको उनको भनाइ थियो । जहाँ जनताले अझै वास्तविकता बुझ्न पाएका छैनन्, त्यहाँ मात्र यस्ता प्रचारको प्रभाव देखिएको भन्दै उनले कम्युनिष्ट कार्यकर्तालाई भ्रम चिर्न सक्रिय हुन आग्रह गरे ।

राजनीतिक संकट समाधानको वस्तुवादी र वैज्ञानिक बाटो निर्वाचन नै भएको दाहालको जिकिर थियो । निर्वाचनतर्फ राष्ट्र केन्द्रित हुनुलाई उनले पार्टीको वैचारिक जितका रूपमा व्याख्या गरे । “कसैले निर्वाचन सार्ने वा संसद् पुनर्स्थापनाको कुरा गरे पनि अन्ततः देश निर्वाचनमै केन्द्रित भयो,” उनले भने ।

आगामी २४/२५ दिन अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले चुनावी परिणाम आफ्नो पक्षमा पार्न पूर्ण मेहनतका साथ खटिन निर्देशन दिए । पार्टीलाई देशको पहिलो शक्ति बनाउने संकल्पका साथ मैदानमा उत्रन उनले आह्वान गरे । चुनौतीपूर्ण अवसरलाई सदुपयोग गर्दै देश जोगाउने र राजनीतिलाई सहजीकरण गर्ने भूमिकामा पार्टी सधैँ अग्रसर रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *