देश

सिरहा १ मा बौद्धिक व्यक्तित्व सन्तोषको पल्ला भारी

काठमाडौं । सिरहा निर्वाचन क्षेत्र नम्बर–१ बाट स्वतन्त्र उम्मेदवार दिएका सन्तोष सिल्वाल गिरीले आफ्नो चुनावी अभियानलाई तिव्रता दिएका छन् । सन्तोष सामाजिक चिन्तक तथा प्रखर बौद्धिक नेता स्वर्गीय प्रदीप गिरीका सुपुत्र हुन्। गिरीले आफू मन्त्री बन्ने लक्ष्य लिएर राजनीतिमा नआएको स्पष्ट गर्दै भने, “मलाई मन्त्री बन्नु छैन, राजनीति के हो भन्ने कुरा बुझाउन र विगतमा राजनीतिमा देखिएको विकृतिलाई सुधार गर्न उम्मेदवारी दिएको हुँ ।”

गिराीले अगाडी भने, “बिरासत बोकेका एमाले, कांग्रेस, माओवादी, जसपाका केही नेताहरूले राजनीतिलाई कमाउने भाडो र व्यापारको रूपमा प्रयोग गरेको देख्दा दुःख लागेको छ, र अझ नयाँ भनिएको रास्वपाको गतिविधि हेर्दा झन चिन्तित बनाएको छ । राजनीति व्यापार होइन, साधना र सेवाको मार्ग भएको व्याख्या गर्दै गिरीले जनतासँग प्रत्यक्ष जोडिने राजनीतिक संस्कारको आवश्यकतामा जोड दिएका छन् । लहान र सिरहामा समाजसेवामार्फत जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने आफ्नो चाहना रहेको उनको भनाइ छ । उम्मेदवार गिरीले आफ्नो उम्मेदवारी शिक्षा, स्वास्थ्य र कृषिमा आधुनिक विकास तथा लहान–सिरहाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ अघि बढेको बताए।

उम्मेदवार गिरीले आफ्नो चुनावी अभियान निरन्तर जारी रहेको बताउँदै आफ्नो चुनाव चिह्न रिक्सा छाप रहेको बताए। आफ्नो उम्मेदवारी बुबाको सपना साकार पार्ने प्रयास हो,” भन्दै उनले स्वर्गीय प्रदीप गिरीले देखाएको मूल्य, निष्ठा र वैचारिक राजनीतिको बाटोमा आफू प्रतिवद्ध रही अघि बढ्ने प्रण गरे ।

उनले बुबाको राजनीतिक भूमिकाबाट प्रेरित भएर स्वच्छ र विचारप्रधान राजनीतिलाई निरन्तरता दिन चाहेको बताएका छन् ।
स्थानीयवासीहरूका अनुसार सन्तोष सिल्वाल गिरीलाई सिरहा–१ मा चर्चित र अर्थपूर्ण उम्मेदवारका रूपमा हेरिएका छन्। उनका पिता प्रदीप गिरी नेपाली राजनीतिमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमै बौद्धिक व्यक्तित्वका रूपमा परिचित थिए, जसको प्रभाव अहिले पनि व्यापक रूपमा सबैले महसुस गर्ने गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *