काठमाडौं । प्रजातान्त्रिक आन्दोलनका शान्त तर दृढ पात्र, सादगी र सिद्धान्तको राजनीतिका प्रतीक स्वर्गीय सुशील कोइरालाको आज ८७औँ जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ मनाएको छ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री कोइरालाको योगदान स्मरण गर्दै पार्टी पंक्ति र शुभेच्छुकहरूले श्रद्धासुमन अर्पण गरेका छन्। नेपाली कांग्रेसका सभापति गगन थापाले सुशील कोइरालालाई सम्झिदै सबैलाई संविधानको प्रभावकारी कार्यान्वयनतर्फ दृढ प्रतिबद्ध रहन प्रेरणा दिइरहेको बताएका छन्।
सभापति थापाले कोइरालाको स्मृति दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै संविधान जारी गर्न सफल सुशील कोइरालाको योगदान आज पनि सबैका लागि मार्गदर्शन र प्रेरणाको स्रोत बनेको उल्लेख गरे । कोइराला प्रधानमन्त्री हुँदा नेपालमा २०७२ सालको संविधान जारी भएको थियो। उनका निधन विसं २०७२ माघ २६ गते राति काठमाडौँको महाराजगञ्जस्थित निवासमा भएको थियो।
लामो समयसम्म नेपाली राजनीतिमा सक्रिय रहेका कोइराला अन्तिम क्षणसम्म पनि पार्टी जिम्मेवारीमा रहे। विसं २०६८ मा सम्पन्न कांग्रेसको १२औँ महाधिवेशनबाट उनी वरिष्ठ नेता शेरबहादुर देउवालाई पराजित गर्दै सभापति निर्वाचित भएका थिए। त्यसअघि उनले महामन्त्री, उपसभापति र कार्यबाहक सभापतिको भूमिका निर्वाह गरिसकेका थिए।
२०३४ सालदेखि कांग्रेसको केन्द्रीय नेतृत्वमा निरन्तर रहेका कोइराला राजतन्त्रविरुद्धको आन्दोलन र प्रजातान्त्रिक संघर्षका अग्रपंक्तिका नेता थिए। २०६४ सालमा नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच एकीकरण भएपछि उनी कार्यबाहक सभापति बनेका थिए। संगठन निर्माण र पार्टी एकताको प्रक्रियामा उनको भूमिका निर्णायक मानिन्छ।
राजा महेन्द्रद्वारा २०१७ सालमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि सुशील कोइरालाको राजनीतिक जीवनले स्पष्ट मोड लिएको थियो।
भारत निर्वासनमा रहेका बीपी कोइरालाको सहयोगीका रूपमा उनले सक्रिय राजनीति सुरु गरेका थिए। सुरुमा कला र सिर्जनात्मक क्षेत्रमा रुचि राख्ने कोइराला राजनीति प्रवेश गर्नुअघि नृत्य र फोटोग्राफीसम्बन्धी तालिम लिएका थिए र हलिउड जाने तयारीसमेत गरिरहेका थिए। ढिलो गरी खुला राजनीतिमा आएका कोइरालालाई कहिलेकाहीँ सीमित घेरामा विश्वास गर्ने नेता भनेर आलोचना गरिए पनि लोकतन्त्रप्रतिको निष्ठा, त्याग र इमानदारीका कारण उनी विरोधीहरूबाट समेत सम्मानित रहे। अविवाहित जीवन बिताएका कोइरालाको व्यक्तिगत जीवन सरल र अनुशासित थियो।
पारिवारिक पृष्ठभूमितर्फ हेर्दा, उनका हजुरबा कृष्णप्रसाद कोइराला सिन्धुलीको दुम्जाबाट मोरङको रंगेली झरेका थिए। सुशीलका पिता बोधप्रसाद कोइराला लामो समय नेपालगञ्जमा सरकारी सेवामा रहेकाले सुशीलको बसोबास पनि उतै भयो। उनका दाजुभाइहरू विभिन्न स्थानमा बसेका थिए, जसमध्ये अरुण कोइरालाको गत वर्ष निधन भएको थियो।
बीपी र गिरिजाप्रसाद कोइरालाका नातेदारका रूपमा चिनिएका सुशील कोइरालाले राजनीतिक जीवनमा थुप्रै चुनावी पराजय पनि भोगे। २०५१ को मध्यावधि निर्वाचन, २०६४ को संविधानसभा निर्वाचन र २०५८ को संसदीय दलको निर्वाचनमा उनी पराजित भए। तर पराजयले उनको राजनीतिक निष्ठा र संघर्षलाई कमजोर बनाउन सकेन।
निष्ठा, त्याग र आदर्शमा अडिग रहेर राजनीति गर्ने सुशील कोइरालालाई आज पनि लोकतान्त्रिक मूल्यका प्रतीकका रूपमा सम्झिन्छन्। उनको ८७औँ जन्मजयन्तीले नेपाली राजनीतिमा सादगी र सिद्धान्तको खडेरी टड्कारो रूपमा स्मरण गराएको छ।




