काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा झापाको क्षेत्र नम्बर ५ राजनीतिक चासोको केन्द्रमा छ। कारण एउटै छ—यहाँका सुकुम्बासी मतदाता। घर र जमिनको खोजीमा रहेका हजारौँ सुकुम्बासी परिवारले यो निर्वाचनमा उम्मेदवारको भविष्य तय गर्न सक्ने देखिएको छ। १ लाख ६३ हजारभन्दा बढी मतदाता रहेको उक्त क्षेत्रमा करिब ३६ हजार सुकुम्बासी मतदाता रहेको अनुमान छ। कुल मतदाताको झन्डै एक चौथाइ हिस्सा उनीहरूको भएकाले राजनीतिक दल र उम्मेदवारहरू सुकुम्बासी बस्ती धाउन थालेका छन्।
यो क्षेत्रमा दुई नगरपालिका र दुई गाउँपालिका पर्दछन्। दमक नगरपालिकामा मात्र साढे ६ हजारभन्दा बढी सुकुम्बासी परिवार बसोबास गर्दै आएका छन्। कमल गाउँपालिकामा पनि दुई हजारभन्दा धेरै परिवार छन्। गाउँपालिकाका भूमि अधिकृत टंक थापाका अनुसार सबै वडाको तथ्यांक संकलन भइनसकेकाले वास्तविक संख्या अझै बढी हुन सक्छ।
गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा पनि ठूलो संख्यामा सुकुम्बासी परिवार रहेका छन्। यसअघि १६ हजारभन्दा बढी परिवारले धनीपूर्जा माग गर्दै निवेदन दिए पनि हालसम्म ठोस समाधान हुन सकेको छैन।
यसैबीच, काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन साह पनि झापाका सुकुम्बासी बस्ती पुगेका छन्। तर स्थानीयका जिज्ञासामा स्पष्ट जवाफ नआएको भन्दै उनी आलोचित भएका छन्। ‘एजेण्डा के होरु’ भन्ने प्रश्नमा घोषणापत्र पछि ल्याउने जवाफ दिएपछि सामाजिक सञ्जालमा त्यसको चर्चा चुलिएको छ।
काठमाडौँमा मेयर हुँदा खोला किनारका सुकुम्बासी बस्ती हटाउन डोजर चलाएको आरोप खेपेका बालेनले झापामा सुकुम्बासीमैत्री देखिन खोज्नु विरोधाभासपूर्ण भएको स्थानीयको भनाइ छ। “यहाँ आएर कुरा त गरे, तर योजना के हो भन्ने खुलेन,” एक मतदाताले गुनासो गरे। अब निर्वाचनपूर्व नै सुकुम्बासी भने सचेत भएको बुझिएको छ । विगतका दिनहरुमा राजनीतिक दलहरुदले सुकुम्बासीको समस्या देखाएर निर्वाचन जित्ने गरेको बुझेपछि यसपटक भने देशभरी सुकुम्बासीहरु निर्वाचनपूर्व मत माग्न पुगेका उम्मेदवारहरुलाई लालपुर्जा उपलब्ध गराइदिन आग्रह गरिरहेका छन् । काठमडौं महानगरपालिकाका मेयर बालेनशाह प्रधानमन्त्रीको उम्मेदवारका लागि झापामा मत माग्न पुगेपछि त्यहाँ स्थानीयहरुले उनलाई सुकुम्बासीको समस्यालाई कसरी दिर्घकालीन समाधान दिने भन्दै प्रश्न गर्न थालेका छिन् । झापाबाट प्रधानमन्त्तीको उम्मेदवारी पूर्वप्रधानमन्त्ती तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौंँ महानगरपालिकाका निर्वमान मेयर बालेन शाहले दिएका छन् । अहिले दुबै जना झापामा पुगेर स्थानीयहरुसँग भोट मागि रहेका छन् । दुबै उम्मेदवारहरुसँग झावासीहरुले अहिले सुकुम्बासीको समस्या समाधान लागि अपिल जारी राखेका छ्न ।
उता, एमाले अध्यक्ष केपी शर्मा ओलीले कमल गाउँपालिकास्थित सुकुम्बासी बस्ती पुगेर धनीपूर्जा वितरण छिट्टै गरिने प्रतिबद्धता जनाएका छन्। माओवादी केन्द्रका उम्मेदवार रञ्जित तामाङले पनि जीवनस्तर सुधार्ने आश्वासन दिएका छन्। अन्य उम्मेदवारहरू समेत सुकुम्बासीलाई लक्षित गर्दै प्रचारमा सक्रिय छन्।
तर चुनावी भाषण र वाचाबीच सुकुम्बासीको वास्तविक जीवन भने अझै परिवर्तन भएको छैन। नेताहरूको आश्वासन मिठो भए पनि अनुभव तितो रहेको उनीहरूको बुझाइ छ। अब भूमिहीन मतदाताले कसको विश्वास गर्छन् भन्ने उत्तर फागुन २१ गतेको मतपेटिकाबाट बाहिरिनेछ।




