देश

सोसल मिडिया लोकप्रियताले राजनीति चल्दैन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सञ्जालमार्फत लोकप्रियता कमाएर राजनीतिमा स्थापित हुन खोज्ने प्रवृत्तिप्रति तीव्र टिप्पणी गरेका छन्।

काठमाडौं क्षेत्र नम्बर ५ मा सोमबार बिहान आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश र जनताका लागि ठोस योगदान नगरेकाहरू ‘सोसल मिडिया स्टन्ट’ का भरमा राजनीतिक उचाइ हासिल गर्न खोजिरहेको बताए।

उनले विश्व राजनीतिमा साम्राज्यवादी शक्तिहरूले लोकतन्त्र र समाजवादविरुद्ध प्रहार गर्न पपुलिस्ट शक्तिहरूलाई लगानी गर्ने गरेको दाबी गरे। सोही प्रवृत्ति नेपालमा पनि देखिन थालेको उनको भनाइ थियो।

“अहिले नेपालमा लोकप्रियतावाद हाबी हुन खोजेको छ। सोसल मिडियामा स्टन्ट गरेका भरमा राजनीतिमा स्थापित हुन खोज्नेहरू सक्रिय छन्,” प्रचण्डले भने, “विश्व साम्राज्यवादले विभिन्न देशमा पपुलिज्मलाई समाजवाद र लोकतन्त्रविरुद्ध प्रयोग गर्दै आएको छ। नेपालमा पनि भूराजनीतिक चलखेलमार्फत हस्तक्षेप गर्ने प्रयास भइरहेको छ।”

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति संकेत गर्दै पपुलिस्ट शक्तिहरू विदेशी स्वार्थले प्रयोग गर्ने पात्र बन्न सक्ने आरोप लगाए।

साथै, २६ वटा घटकहरू एकीकृत भएर बनेको नेकपा अब देशकै सबैभन्दा ठूलो राजनीतिक शक्ति बन्ने दाबीसमेत उनले गरे। पार्टी एकताले वाम आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने उनको विश्वास थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *