काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट डडेलधुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका नैनसिंह महर यतिबेला तीव्र घरदैलो अभियानमा व्यस्त छन्। चुनाव नजिकिँदै जाँदा उनले प्रचार शैलीलाई भड्किलोभन्दा फरक बनाउँदै प्रत्यक्ष जनसम्पर्कलाई प्राथमिकतामा राखेका छन्।
टोल–टोल र बस्ती–बस्ती पुगेर मतदातासँग संवाद गर्ने, उनीहरूका गुनासा सुन्ने र आफ्ना एजेन्डा राख्ने उनको दैनिकी जस्तै बनेको छ। ठूला सभा, नारा र विरोधमा केन्द्रित राजनीतिभन्दा जनतामाझ बसेर विश्वास जित्ने रणनीतिमा महर देखिन्छन्।

होटल केन्द्रित भेला र औपचारिक जमघटभन्दा कार्यकर्ता र स्थानीयकै बीचमा बसेर भोजन गर्ने, उनीहरूकै जीवनशैलीमा घुलमिल हुने शैलीले उनको प्रचारलाई पृथक बनाएको छ। विद्यार्थी राजनीतिबाट उदाएका महरले बौद्धिक र संयमित नेताको छवि निर्माण गरेका छन्।
यसपटक उनी पूर्वप्रधानमन्त्री तथा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको राजनीतिक उत्तराधिकारीका रूपमा चुनावी मैदानमा उत्रिएका छन्। त्यसैले देउवाले लामो समयदेखि जोगाएको राजनीतिक आधारलाई निरन्तरता दिने जिम्मेवारीसमेत उनकै काँधमा आएको छ।
डडेलधुरामा कांग्रेस एकताबद्ध रहेकाले जितप्रति आफू विश्वस्त रहेको महर बताउँछन्। अग्रज नेताको मार्गदर्शन, जिल्ला नेतृत्वको साथ र युवापंक्तिको उत्साहले आफूलाई थप ऊर्जा दिएको उनको भनाइ छ। जनताबाट सकारात्मक सुझाव र साथ पाइरहेको उनले उल्लेख गरे।
आफू युवा ऊर्जा र स्पष्ट दृष्टिकोणसहित राजनीतिमा सक्रिय रहेको बताउँदै महरले डडेलधुराका समस्या संसद्मा सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाए। देउवाका अधुरा सपना र योजनालाई मूर्तरूप दिन आफू निरन्तर लागिरहने उनले दोहोर्याए।

समृद्ध डडेलधुरा निर्माण आफ्नो मुख्य लक्ष्य भएको बताउँदै उनले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्भावनालाई विकाससँग जोड्ने योजना अघि सारे। अजयमेरु कोटलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, भागेश्वर धामको संरक्षण तथा प्रवर्द्धन गर्ने र सदरमुकामको सौन्दर्य अभिवृद्धि गर्ने उनको एजेन्डामा छन्।
देश जटिल राजनीतिक मोडमा रहेकाले निकास दिन सक्षम शक्ति नेपाली कांग्रेस नै भएको उनको दाबी छ। ऐतिहासिक राजनीतिक परिवर्तनमा कांग्रेसले निर्वाह गरेको भूमिकालाई स्मरण गर्दै उनले मतदातासँग कांग्रेसलाई पुनः बलियो बनाउन अपिल गरे।
३४ वर्षदेखि शेरबहादुर देउवा निर्वाचित हुँदै आएको डडेलधुरा अहिले महरका लागि राजनीतिक परीक्षणको मैदान बनेको छ—जहाँ उनी विरासत जोगाउँदै नयाँ पुस्ताको नेतृत्व स्थापित गर्ने अभियानमा छन्।




