राजनीति

कांग्रेस नेता डा. शेखर कोइरालाको देशव्यापी सन्देशः ‘लोकतन्त्र जोगाउन र संविधान बचाउन मतको शक्ति प्रयोग गरौँ’

काठमाडौं । निर्वाचनको मौनताले देशभरको वातावरण गम्भीर बन्दै जाँदा, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मतदानपूर्व देशभरका मतदातालाई भावनात्मक अपिल गरेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नं–६ बाट उम्मेदवार रहेका कोइरालाले लोकतन्त्रको रक्षा, संविधानको संरक्षण र देशको भविष्य सुरक्षित गर्न भारी मतले कांग्रेस नेतृत्वको गठबन्धनलाई विजयी गराउन आग्रह गरेका हुन्।

उनको सन्देश कुनै औपचारिक वक्तव्यजस्तो होइन, बरु नागरिकको विवेकलाई झकझक्याउने चेतावनी र भरोसाको मिश्रण थियो। “हामी ऐतिहासिक मोडमा उभिएका छौँ,” कोइरालाले भने, “ फागुन २१ को निर्वाचन केवल सरकार बनाउने प्रक्रिया होइन, यो राष्ट्रको भविष्य मतपत्रमार्फत निर्धारण गर्ने क्षण हो।”

कोइरालाका अनुसार एउटा सानो लापरबाहीले पनि भावी पुस्ताको सपना, देशको लोकतान्त्रिक अभ्यास र संविधानमाथि गम्भीर असर पार्न सक्छ। त्यसैले उनले मतदातालाई भावनामा होइन, विवेकमा आधारित निर्णय गर्न आग्रह गरे। “हाम्रो एउटा गलत छनोटले सार्वभौमसत्ता र अखण्डतामै आँच आउन सक्छ,” भन्दै उनले मतपत्रको जिम्मेवारी गह्रौँ भएको स्मरण गराए।

उनले निर्वाचनको राजनीतिक ध्रुवीकरणलाई पनि स्पष्ट रूपमा चित्रण गरे। एकातिर नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन रहेको र अर्कोतिर लोकतान्त्रिक मूल्यविरुद्ध उभिएको शक्तिको गठजोड रहेको उनको दाबी थियो। “मतपत्रमा स्वस्तिक चिन्ह लगाउँदा के छान्दैछौँ भन्ने कुरा गम्भीरतापूर्वक सोच्नुपर्छ,” कोइरालाले भने, “हामी लोकतन्त्र रोज्छौँ कि त्यसको विकल्प?” विगतमा प्रतिनिधिसभा विघटन र संविधानलाई असफल बनाउने प्रयास भएको स्मरण गराउँदै उनले त्यस्तो अवस्था पुनः दोहोरिन नदिन कांग्रेस नेतृत्वलाई अत्यधिक मतले जिताउन आह्वान गरे। उनका अनुसार कांग्रेसको राजनीतिक दर्शन लोकतान्त्रिक समाजवाद हो, जसले सामाजिक न्यायसहितको आर्थिक समृद्धिलाई केन्द्रमा राख्छ।

कोइरालाको चुनावी अभियान केवल नारामा सीमित देखिँदैन। निर्वाचन लक्षित भेटघाटका क्रममा उनी बारम्बार ‘सबै तहमा कांग्रेस भए काम गर्न सजिलो हुन्छ’ भन्ने सन्देश दिँदै नागरिकका घरघरमा पुगिरहेका छन् । विराटनगर र मोरङका विभिन्न स्थानमा मतदातासँगको संवादमा उनले स्थानीय विकासका उदाहरण प्रस्तुत गर्दै भनेका छन्, “आज सबै घरमा पिच सडक पुगेको छैन होला, तर यदि पाँच वर्ष स्थिर सरकार चलाउन पायौँ भने विकासको गति तपाईंहरूले प्रत्यक्ष अनुभूति गर्नुहुनेछ।”

उनले पार्टी विभाजनको सम्भावना टार्न आफूले मध्यमार्गी भूमिका खेलेको कुरा पनि खुलस्त स्वीकार गरेका छन्। विशेष महाधिवेशनमा सहभागी नभई पार्टी एकतालाई प्राथमिकता दिएको बताउँदै उनले कांग्रेसलाई कमजोर पार्ने कुनै पनि कदम आफूलाई स्वीकार्य नहुने स्पष्ट पारे। मतदातासँगको अन्तिम अपिलमा कोइरालाको स्वर भावुक थियो। “म तपाईंहरूमै आफूलाई देख्छु,” उनले भने, “टोल–टोल र घर–घरमा कांग्रेसको सन्देश फैलाउनुहोस्। तपाईंहरूको मत नै मेरो शक्ति हो।”

निर्वाचनको पूर्वसन्ध्यामा आएको उनको यो सन्देश केवल मोरङ–६ का मतदाताका लागि मात्र होइन, देशभर लोकतन्त्रको भविष्यप्रति चिन्तित नागरिकलाई लक्षित थियो। अन्त्यमा उनले छोटो तर अर्थपूर्ण शब्दमा अपिल टुंग्याए । “लोकतन्त्र, संविधान र समुन्नत नेपालको पक्षमा उभिन सबै मतदाताहरु र सम्पूर्ण नेपालीहरुलाई आग्रह समेत गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *