काठमाडौं। चुनाव नजिकिँदै जाँदा नेपाली राजनीतिक परिवेशमा अस्वाभाविक लहर, हल्ला र भावनात्मक चटकहरू तीव्र रूपमा बढिरहेका छन्। यही माहोलले एउटा गम्भीर प्रश्नलाई फेरि सतहमा ल्याएको छ— नेपाललाई वास्तवमा कुन दिशातर्फ मोड्न खोजिएको हो । राजनीतिमा चासो राख्ने, पढेलेखेका र चेतनशील नागरिकका लागि यो प्रश्न आज उठ्नु स्वाभाविक मात्र होइन, अनिवार्य भइसकेको छ। समय, परिस्थिति र चुनावी माहोल हेर्दा अहिले नै यो प्रश्नको उत्तर खोजिएन भने भोलि धेरै ढिलो हुन सक्ने चेतावनी विश्लेषकहरू दिन थालेका छन्।
बीपी कोइरालाले ‘जेल जर्नल’मा लेखेको एक वाक्य आजको सन्दर्भमा झनै सान्दर्भिक देखिन्छ— “प्रजातन्त्रमा व्यक्तिगत उग्रवाद सम्भव हुन्छ, तर प्रजातन्त्र स्वयं उग्रवादमा आधारित हुँदैन।” तर आजको नेपाली चुनावी राजनीतिमा यही ‘सम्भव’ भनिएको व्यक्तिगत उग्रवाद नै लोकतन्त्रको मुख्य आधार बन्न खोजिरहेको संकेत देखिन थालेको छ। सामाजिक सञ्जाल र केही मूलधारका माध्यमहरूले समेत परिवर्तनको नाममा व्यक्तिकेन्द्रित उग्र प्रवृत्तिलाई गुणजस्तै प्रस्तुत गरिरहेका छन्। यही प्रवृत्ति निरन्तर बढ्दै गए लोकतन्त्र मात्र होइन, राज्यको भविष्य नै जोखिममा पर्न सक्ने चिन्ता व्यक्त भइरहेको छ।
कांग्रेस सभापति गगन थापाले हालै दिएको अभिव्यक्तिमा “समय र नोइज” नै आजको सबैभन्दा ठूलो चुनौती भएको स्वीकार गरेका छन्। उनका अनुसार सामाजिक सञ्जालको हल्लाले गम्भीर बहस र दीर्घकालीन एजेन्डालाई दबाइरहेको छ। आजको नेपाली राजनीति सैद्धान्तिक बहस, अनुभव र नीतिभन्दा बढी सामाजिक सञ्जालको एल्गोरिदमद्वारा निर्देशित हुँदै गएको देखिन्छ। ‘लाइक’ र ‘भ्यु’ नै लोकप्रियताको मापदण्ड बनेपछि गम्भीरता ओझेलमा परेको विश्लेषण छ।
परिवर्तनको प्रतीक कि भ्रम ?
यही सन्दर्भमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई परिवर्तनको प्रतीक र भावी राष्ट्रिय नेताका रूपमा चित्रण गर्ने प्रवृत्ति पनि तीव्र छ। तर प्रश्न उठ्छ— के कुनै ठोस राजनीतिक दर्शन, अनुभव र दीर्घकालीन दृष्टिकोण बिना नै कोही व्यक्ति परिवर्तनको प्रतीक बन्न सक्छ ? विश्लेषकहरूका अनुसार बालेन शाह न त स्थापित राजनीतिक विचारक हुन्, न त देशव्यापी सामाजिक–राजनीतिक अनुभव भएका नेता। औसत पेशागत पृष्ठभूमि र शैलीगत लोकप्रियताका आधारमा राष्ट्रिय नेतृत्वको सपना देख्नु जोखिमपूर्ण हुन सक्ने चेतावनी उनीहरू दिन्छन्।
चुनावी चर्चामा आएका केही अन्य नामहरू—ऋषि धमला, एलिजा गौतमलगायत—प्रति पनि यस्तै प्रश्न उठिरहेका छन्। विश्लेषकहरू भन्छन्, चर्चाको भरमा नेतृत्व चयन गर्ने प्रवृत्तिले लोकतन्त्रलाई प्रयोगशाला बनाउने खतरा हुन्छ। व्यक्तिगत उग्रवाद, क्षणिक लोकप्रियता र भावनात्मक अपिलको भरमा संसद् र कार्यकारी तह भरिँदै गयो भने राज्य सञ्चालन गम्भीर संकटमा पर्न सक्ने उनीहरूको निष्कर्ष छ।
पुराना दल र नेताहरूप्रति आलोचना हुनु स्वाभाविक भए पनि, विकल्प चयन गर्दा न्यूनतम योग्यता, दृष्टि र जिम्मेवारीको मापदण्ड नछोड्न विश्लेषकहरूको आग्रह छ। “लोकतन्त्र सबै कुरा सहन सक्दैन,” उनीहरू भन्छन्, “व्यक्तिगत उग्रवाद लोकतन्त्रको शक्ति होइन, कमजोरी हो।”चुनाव लोकतन्त्रको उत्सव हो, तर त्यो उत्सव विवेक र चेतनासँग नजोडिए दुर्घटनामा परिणत हुन सक्छ। त्यसैले देशलाई सही मार्गमा हिँडाउन सही नेतृत्व र बिचार आवश्यक छ ।




