देश

कांग्रेस सरकार बने स्वास्थ्य बीमालाई पुर्नजीवन दिने सभापति थापाको घोषणा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमालाई राज्यको प्रमुख प्राथमिकतामा राख्दै यसलाई राष्ट्रिय गौरवको कार्यक्रमका रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। आइतबार सार्वजनिक गरेको भिडियो सन्देशमार्फत थापाले वर्तमान स्वास्थ्य प्रणालीको मूल समाधान स्वास्थ्य बीमामै रहेको उल्लेख गर्दै कांग्रेस नेतृत्वको सरकार बनेपछि यो कार्यक्रमलाई प्रभावकारी रूपमा पुनर्संरचना गर्ने बताएका हुन्।

स्वास्थ्य बीमाको सुरुवात आफू स्वास्थ्य मन्त्री रहँदा भएको स्मरण गर्दै सभापति थापाले उपचारकै कारण गरिबीमा धकेलिएका हजारौँ परिवारको पीडा नजिकबाट देखेपछि यो योजना अघि सारेको बताए। “रोग लाग्दा उपचारकै खर्चले घरजग्गा गुमाउनुपर्ने अवस्था अन्त्य गर्न राज्य जिम्मेवार हुनुपर्छ भन्ने सोचबाट बीमाको अवधारणा आएको हो,” उनले स्पष्ट पारे। उनका अनुसार विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नागरिकको स्वास्थ्य खर्चमा राज्यको योगदान न्यूनतम २० प्रतिशत हुनुपर्छ, तर नेपालमा अझै पनि अधिकांश खर्च नागरिकले आफ्नै खल्तीबाट बेहोर्नुपरेको अवस्था छ। यही असन्तुलन हटाउन स्वास्थ्य बीमाको दायरा विस्तार अपरिहार्य रहेको उनको भनाइ छ।

सभापति थापाले पछिल्लो समय स्वास्थ्य बीमा कार्यक्रम अव्यवस्थित बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै यसलाई सुधार नगरे देशले गम्भीर स्वास्थ्य संकट भोग्नुपर्ने चेतावनी दिए। “यो कार्यक्रम कमजोर बन्यो भने जनस्वास्थ्य झनै जोखिममा पर्छ, त्यसैले अब यसलाई सच्याएर अघि बढ्नैपर्छ,” उनले भने। कांग्रेसले सरकारको नेतृत्व पाएमा प्रत्येक नेपाली नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने योजना रहेको थापाले बताए। बीमा शुल्क तिर्न नसक्ने अपांग, ज्येष्ठ नागरिक र कमजोर वर्गको प्रिमियम राज्यले व्यहोर्ने व्यवस्था कानुनमै गरिएको स्मरण गराउँदै उनले सबै स्वास्थ्य कार्यक्रमलाई एउटै बीमा प्रणालीभित्र एकीकृत गर्ने योजना सार्वजनिक गरे।

थापाका अनुसार स्वास्थ्य बीमालाई दीगो बनाउन चरणबद्ध सुधार गरिनेछ। सुरुमा औपचारिक क्षेत्रबाट बीमा विस्तार गर्दै मदिरा, चुरोटजस्ता वस्तुमा लगाइने करको एक हिस्सा स्वास्थ्य बीमामा लगानी गरिनेछ। त्यसपछि संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्य कार्यक्रमलाई एउटै प्रणालीमा बाँध्ने र चुहावट रोक्न डिजिटल प्रणाली लागू गरिनेछ। “स्वास्थ्य दया होइन, नागरिकको सुरक्षा हो। यो संविधानले सुनिश्चित गरेको अधिकार हो,” सभापति थापाले भने, “पाँच वर्षको स्थिर सरकार बनेपछि अस्तव्यस्तता हटाएर पूर्ण कभरेज सुनिश्चित गर्ने र अन्ततः बीमा गरेका नागरिकको सम्पूर्ण उपचार खर्च राज्यले बेहोर्ने अवस्थामा पुग्ने हाम्रो लक्ष्य हो।” कांग्रेसले स्वास्थ्य बीमालाई सामाजिक सुरक्षाको मेरुदण्डका रूपमा स्थापित गर्ने स्पष्ट योजना बनाइसकेको थापाको दाबी छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *