राजनीति

आगामी निर्वाचनमा कांग्रेसले शानदार परिणाम ल्याउने सभापति थापाको दाबी, निर्वाचनको मत परिणामनै निर्णायक

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी २१ फागुनमा हुने निर्वाचनमा कांग्रेसले “शानदार परिणाम” ल्याउने दाबी गरेका छन् । तर उनको यो दाबी आत्मविश्वासभन्दा बढी चुनौतीपूर्ण अवस्थालाई ढाकछोप गर्ने राजनीतिक सन्देशजस्तो देखिएको छ ।

शुक्रबार नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले पार्टीको सन्देश मतदातामाझ सही ढंगले पुर्‍याउन सके परिणाम आफ्नो पक्षमा आउने बताए । यद्यपि, कांग्रेसले विगतमा जनताको अपेक्षा अनुसार काम गर्न नसकेको यथार्थ र बढ्दो जनअसन्तुष्टिकाबीच यो दाबी कति व्यवहारिक छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठेको छ ।

सभापति थापाले पार्टीको जित कार्यकर्ता र नेतृत्वको सक्रियतामा निर्भर हुने बताएका छन् । तर राजनीतिक विश्लेषकहरूका अनुसार कांग्रेसको समस्याको जड केवल कार्यकर्ता निष्क्रियतामा होइन, नेतृत्व तहबाट भएका निर्णय, गठबन्धन राजनीति र स्पष्ट दिशाको अभावमा रहेको छ । मतदातासँग सम्पर्क बढाउने र असन्तुष्ट मतदातालाई पुनः विश्वस्त बनाउने कुरा सजिलो सुनिए पनि व्यवहारमा त्यो कांग्रेसका लागि सबैभन्दा कठिन चुनौती बनेको छ ।

थापाले जेन–जी (नवपुस्ता) सँग संवाद बढाइरहेको दाबी गरे । तर यही पुस्ता कांग्रेसलगायत परम्परागत दलप्रति सबैभन्दा बढी निराश देखिन्छ । रोजगारी, सुशासन र अवसरको अभावले विदेश पलायन हुन बाध्य यो पुस्तालाई कांग्रेसले केवल भाषण र बैठकबाट आकर्षित गर्न सक्छ भन्ने विश्वास गर्न कठिन छ । थापाले अघिल्लो निर्वाचनमा कांग्रेसले २७ लाख मत पाएको स्मरण गराउँदै ४–५ लाख मतदाता पार्टीबाट विमुख भएको स्वीकार गरे । यद्यपि, ती मतदाता किन टाढा भए भन्ने प्रश्नमा उनले आत्मालोचनाभन्दा बढी पुनः भेटेर “सम्झाउने” रणनीतिमा जोड दिए । विश्लेषकहरू भन्छन्—मतदाता रिसाएका छन् भने त्यसको कारण नीति, आचरण र परिणामसँग जोडिएको हुन्छ, केवल भेटघाटले मात्रै समाधान हुँदैन ।

सभापति थापाले पूर्वसभापति शेरबहादुर देउवालगायत नेताहरूसँग निरन्तर संवाद भइरहेको दाबी गरे । तर कांग्रेसभित्रको गुटगत राजनीति, शक्ति सन्तुलन र उम्मेदवार छनोटको विवाद अझै सतहमुनि सल्किरहेको तथ्य लुकाउन सकिँदैन । गगन थापाको दाबीले कांग्रेसभित्र चुनावी उत्साह जगाउने प्रयास गरेको देखिए पनि अन्तिम निर्णय मतदाताकै हातमा छ । शानदार परिणामको दाबी भाषणबाट होइन, विगतका कमजोरी सच्याउने स्पष्ट योजना, विश्वसनीय नेतृत्व र जनताले महसुस गर्ने परिवर्तनबाट मात्रै प्रमाणित हुन्छ । कांग्रेसको दाबी सत्य हो कि केवल चुनावी आत्मसन्तोष—त्यसको फैसला मतपेटिकाले नै गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *