काठमाडौं । ‘नयाँ राजनीति’को नारा दिएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीखो वैचारिक आक्रमण गरेका छन् । प्रचण्डका अनुसार नयाँपन कुनै अनुहार वा नाराबाट होइन, विचार, सिद्धान्त र ऐतिहासिक परिवर्तनबाट तय हुन्छ—र त्यो मापदण्डमा रास्वपा शून्य रहेको उनको आरोप छ ।
निर्वाचन परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ‘नयाँ बनाम पुरानो’ बहसलाई सतही र भ्रामक करार गरे । “नयाँ र पुरानोको फैसला एजेन्डाले गर्छ,” उनले भने, “गणतन्त्रभन्दा नयाँ विचार कसैले देशलाई दिएको छ ? यदि छैन भने सबैभन्दा नयाँ शक्ति आज पनि हामी नै हौँ।”
प्रचण्डले रास्वपाको ‘नयाँ’ दाबीलाई सिधै चुनौती दिँदै प्रश्न गरे—रास्वपाले गणतन्त्र, संघीयता वा सामाजिक रूपान्तरणभन्दा अघि बढ्ने कुन वैकल्पिक दर्शन दिएको छ ? उनका अनुसार रास्वपा कुनै वैचारिक आन्दोलन होइन, बरु उदार पुँजीवाद र दलाल पुँजीवादको राजनीतिक आवरण मात्र हो । “नयाँको धाक लगाएर देश चल्ने होइन,” प्रचण्डको टिप्पणी थियो, “तपाईँहरू उदार पुँजीवाद र दलाल पुँजीवादको प्रतिनिधि हुनुहुन्छ । त्यसैले हामी स्पष्ट भन्छौँ—नयाँ हामी हौँ।”
प्रचण्डको आलोचनामा एउटा गहिरो संकेत पनि थियो—रास्वपाले जनताको आक्रोश र निराशालाई ‘नयाँ’ शब्दको ब्रान्डिङमार्फत राजनीतिक पूँजीमा बदलिरहेको छ । तर त्यो आक्रोशलाई कसरी रूपान्तरण गर्ने, राज्यको चरित्र कस्तो बनाउने र आर्थिक–सामाजिक संरचना कसरी बदल्ने भन्नेबारे पार्टी मौन रहेको उनको भनाइ छ । विश्लेषकहरूका अनुसार यो बहस केवल दुई दलबीचको वाकयुद्ध होइन, नेपालको राजनीतिमा विचार बनाम लोकप्रियता, संरचनात्मक परिवर्तन बनाम फेसभ्यालु राजनीति बीचको टकराव हो । प्रचण्डले आफ्नो दलले हालसम्म २५ वटा घटकलाई एकीकृत गरिसकेको दाबी गर्दै, चुनावी मैदानमा नेकपा निर्णायक शक्ति बन्ने विश्वास व्यक्त गरे । उनका अनुसार वैचारिक स्पष्टता र संगठनात्मक एकताका कारण अधिकांश क्षेत्रमा आफ्नो दलको जित सुनिश्चित देखिन्छ ।
प्रचण्डको अभिव्यक्तिले एउटा मूल प्रश्न उठाएको छ—राजनीतिमा नयाँ भन्नाले अनुहार फेरिनु हो कि राज्यको दिशा बदलिनु ? रास्वपाको उदयले पुराना दलमाथि दबाब बढाएको भए पनि, प्रचण्डको चुनौतीले ‘नयाँ राजनीति’ को दाबीलाई अब नाराबाट बाहिर निकालेर विचार, नीति र एजेन्डाको कसीमा उभिनुपर्ने समय आएको संकेत गर्छ । आगामी चुनाव केवल सिटको प्रतिस्पर्धा मात्र होइन, नयाँपनको परिभाषामाथिको निर्णायक परीक्षा बन्ने देखिएको छ ।




