देश

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेपछि सचिवालयको आपत्ति

काठमाडौं । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेपछि त्यसको चौतर्फी आलोचना सुरु भएको छ । प्रसाईंको सचिवालयले उनको गिरफ्तारीलाई “नियोजित, प्रतिशोधपूर्ण र अलोकतान्त्रिक” भन्दै कडा आपत्ति जनाएको छ । शुक्रबार नेपाल प्रहरीको टोलीले प्रसाईंलाई काठमाडौँको चाल्नाखेल क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले पुष्टि गरेको छ । तर प्रहरी स्रोतले उनलाई कुन अभियोगमा पक्राउ गरिएको हो भन्ने विषयमा औपचारिक जानकारी दिएको छैन ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईं यसअघि पनि सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका थिए । माघ ५ गते पोखराबाट पक्राउ परेर काठमाडौँ ल्याइएका उनी माघ ६ गते हाजिर जमानीमा रिहा भएका थिए । प्रसाईंले हालै नेपाली कांग्रेसको विशेष महाधिवेशनसँग सम्बन्धित विषयमा सार्वजनिक रूपमा अभिव्यक्ति दिँदै निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिइएको दाबी गरेका थिए । सो विषयमा अनुसन्धान गर्न निर्वाचन आयोगले प्रहरीलाई पत्राचार गरेको थियो ।

यसैबीच, प्रसाईंको सचिवालयले शुक्रबार विज्ञप्ति जारी गर्दै साइबर ब्युरोको टोलीले उनलाई दक्षिणकाली क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । विज्ञप्तिमा राज्य शक्तिको दुरुपयोग गर्दै भ्रष्टाचार, बेथिति र अन्यायविरुद्ध आवाज उठाइरहेका अभियन्तामाथि दमन गरिएको आरोप लगाइएको छ । “वाक स्वतन्त्रता र नागरिकको खबरदारी गर्ने अधिकार कुण्ठित गर्ने उद्देश्यले गरिएको यो गिरफ्तारी स्वीकार्य छैन,” विज्ञप्तिमा उल्लेख गरिएको छ । सचिवालयले सरकारलाई दुर्गा प्रसाईंलाई बिना शर्त तत्काल रिहा गर्न माग गर्दै अन्यथा सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ ।

विज्ञप्तिमा थप भनिएको छ, “राज्यको दमनबाट हाम्रो अभियान रोकिने छैन । अन्यायविरुद्ध एकजुट हुन सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई आह्वान गर्दछौं ।”प्रसाईंको गिरफ्तारीबारे प्रहरीले अझै स्पष्ट विवरण सार्वजनिक नगरेको अवस्थामा यसले राजनीतिक तथा नागरिक वृत्तमा थप बहस र तनाव सिर्जना गर्ने देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *