देश

तनहुँ–१ मा रास्वपा, कांग्रेस र एमालेबीच त्रिपक्षीय भिडन्त

तनहुँ । नेपाली कांग्रेसका तत्कालीन नेता रामचन्द्र पौडेल २०७९ सालमा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित भएपछि राष्ट्रपति बने । उक्त निर्वाचनमा पौडेल २५ हजार ३६१ मत सहित विजयी भएका थिए ।

राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको उक्त स्थानमा वि.सं. २०८० वैशाख १० गते उप-निर्वाचन भयो । उप-निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डा. स्वर्णिम वाग्ले ३४ हजार ९१९ मतसहित निर्वाचित भएका थिए । प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ र नेकपा (एमाले) का सर्वेन्द्र खनालले ८ हजार ४८८ मत प्राप्त गरे।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुनः वाग्ले नै उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसबाट पनि भट्टराईले मौका पाएका छन् । यस्तै नेपाल कम्युनियुष्ट पार्टी एमालेले भगवती न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

तनहुँ क्षेत्र नं १ मा १६ उम्मेदवार प्रतिस्पर्धामा छन् । नेपाली कम्युनिष्ट पार्टीबाट विद्यानाथ ढकाल, नेकपा (माओवादी) बाट ओमविक्रम पन्त, श्रम संस्कृति पार्टीबाट काशीराम गुरुङ, आम जनता पार्टीबाट चिजामाया अधिकारी, स्वतन्त्र उम्मेदवार दीपकराज जोशी, मङ्गोल अर्गनाइजेशन पार्टीबाट प्रेमबहादुर थापा, उज्यालो नेपाल पार्टीबाट मञ्जिल राना, नेपाल जनमुक्ति पार्टीबाट यामबहादुर आले, नेपाल मजदुर किसान पार्टीबाट रामलक्ष्मी दुवाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामदत्त जोशी, स्वतन्त्र उम्मेदवार लेखनाथ खनाल, स्वतन्त्र उम्मेदवार सन्देश रानाभाट लौडारी, नेशनल रिपलब्कि नेपालबाट सुमन थापा मगर प्रतिस्पर्धामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तनहुँ क्षेत्र नं १ मा १ लाख २६ हजार ८८२ मतदाता रहेको निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए । त्यसमध्ये पुरुषको सङ्ख्या ६१ हजार ७७८ र महिलाको सङ्ख्या ६५ हजार १०४ रहेको छ ।

क्षेत्र नं १ तर्फ व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका पर्दछ । उपनिर्वाचन जितेको रास्वपाले यस पटकको निर्वाचनमा पनि जित हासिल गर्ने चुनौतीकासाथ घरदैलो गरिरहेको छ । नेपाली कांग्रेस भने आफूले जित्दै आएको यस क्षेत्रमा पुनरावलोकन गर्ने लक्ष्यसहित अगाडि बढेको छ ।

तनहुँ क्षेत्र नं १ मा गठबन्धनसहित पहिलो जित हासिल नगरेको नेकपा (एमाले) भने दोस्रो जितको खोजीसहित मतदातालाई भेटघाट गरिरहेको छ । साविकमा ३ वटा निर्वाचन क्षेत्र हुँदा वि.सं. २०४८ मा तनहुँ क्षेत्र नं १ बाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए । वि.सं. २०५१ मा नेपाली कांग्रेसबाटै गोविन्दराज जोशीले निर्वाचन जितेका थिए । वि.सं. २०६४ मा तत्कालीन एनेकपा (माओवादी) बाट सुरेशकुमार आले मगर, वि.सं. २०७० मा नेपाली कांग्रेसबाट शङ्कर भण्डारी निर्वाचित भएका थिए ।

यस्तै वि. सं. २०७४ मा बाम गठबन्धनबाट नेकपा (एमाले) का कृष्णकुमार श्रेष्ठ निर्वाचित भएका थिए भने वि.सं. २०७९ मा नेपाली कांग्रेसबाटै रामचन्द्र पौडेल निर्वाचित भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले तनहुँ क्षेत्र नं १ मा आफूले सुरु गरेका अधुरा कामलाई पूरा गराउन पुनः उम्मेदवार बनेको प्रतिक्रिया दिए ।

वि. सं. २०८० को उपनिर्वाचनमा विजय हासिल भएपछि धेरै विकासका काम सुरु भएको र त्यसलाई निरन्तरता दिन पुनः यहीँबाटै उम्मेदवार बनेको उल्लेख गरे । नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले लोकतान्त्रिक मूल्य, समावेशी विकास र स्थानीय समस्या समाधानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउँदै मतदाताको विश्वास जित्ने प्रयास गरेको उल्लेख गरे ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार भगवती न्यौपानेले तनहुँका बस्ती–बस्तीबारे आफूलाई राम्रो जानकारी रहेको उल्लेख गर्दै उनले तनहुँ–१ को समग्र विकास र मुहार फेर्न स्पष्ट र दीर्घकालीन विकास खाका आवश्यक रहेको बताइन् ।

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विद्यानाथ ढकालले आफूलाई यस ठाउँको सबै भूगोल जानकार रहेको बताउँदै चुनाव जित्ने दाबी गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *