काठमाडौं । नेपाली काँग्रेसभित्र पछिल्लो समय देखिएको वैचारिक बहसबारे डा. माधवी भट्ट पराजुलीले गम्भीर प्रश्न उठाएकी छन् । उनले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई लक्षित गर्दै काँग्रेसका इतिहास, आस्था र संघर्ष बोकेका हजारौँ नेता–कार्यकर्ताको भावनामाथि खेल्ने अधिकार कसले दिएको हो भन्ने प्रश्न गरेकी हुन् ।
डा. पराजुलीले काँग्रेसको वैचारिक मञ्चमा खगेन्द्र सङ्ग्रौला, मुमाराम खनाल र बसन्त बस्नेतजस्ता व्यक्तिहरूलाई प्रभावशाली रूपमा अगाडि ल्याउने प्रयासप्रति असन्तुष्टि जनाएकी छन् । माओवादी द्वन्द्वकालमा उनीहरूले खेलेको वैचारिक र राजनीतिक भूमिकाबारे इतिहास सबैका सामु खुला रहेको उल्लेख गर्दै उनले काँग्रेसलाई कसको स्वार्थअनुसार प्रशिक्षित गर्न खोजिएको हो भन्ने प्रश्न उठाइन् ।
उनले सञ्चारमाध्यम र राजनीतिक मञ्चबीच बढ्दै गएको निकटतामाथि पनि टिप्पणी गरेकी छन् । “आज अनलाइनखबरका सम्पादक काँग्रेसको कार्यक्रमका वक्ता बन्छन्, भोलि काँग्रेस सभापति नै त्यहीँ अन्तर्वार्ता दिन पुग्छन्,” भन्दै उनले पार्टी आफ्नै वैचारिक मञ्च गुमाउने अवस्थामा पुगेको हो कि भन्ने चिन्ता व्यक्त गरिन् ।
डा. पराजुलीका अनुसार नेपाली काँग्रेसको मुख्य चुनौती वामपन्थी झुकाव राख्नेहरूलाई फर्काउनु होइन । बरु काँग्रेसको इतिहास, सिद्धान्त र आस्थाप्रति प्रतिबद्ध आफ्नै कार्यकर्ता तथा समर्थक निराश भएर अन्यत्र नजानु नै सबैभन्दा ठूलो चुनौती हो ।
उनले शेरबहादुर देउवाले केपी शर्मा ओली र पुष्पकमल दाहालसँग संवाद बढाएको विषयमा असन्तुष्टि जनाउने नेताहरूले आज आएर खगेन्द्र सङ्ग्रौलाजस्ता व्यक्तिलाई वैचारिक आदर्शका रूपमा स्वीकार्नु कुन राजनीतिक तर्क र वैचारिक स्पष्टतामा आधारित हो भन्ने प्रश्नसमेत उठाइन् ।
डा. पराजुलीले आफ्नो धारणा कुनै व्यक्ति विशेषविरुद्ध नभएको स्पष्ट पार्दै व्यक्तिगत दुश्मनी वा विवाद नरहेको बताइन् । तर निर्वाचनको संवेदनशील घडीमा काँग्रेसको डबलीमा गैर–काँग्रेसी वैचारिक प्रतिनिधिहरूलाई मुख्य वक्ता बनाइनु उचित नहुने उनको भनाइ छ ।
उनका अनुसार काँग्रेसका कार्यकर्ता काँग्रेसकै वैचारिक धरातलमा उभिनुपर्छ, वा कम्तीमा गैर–वामपन्थी लोकतान्त्रिक धारमा स्पष्ट रूपमा उभिएको हुनुपर्छ । नेतृत्व तहबाट देखिएको वैचारिक अस्पष्टताले पार्टीलाई बलियो बनाउने होइन, झन् कमजोर बनाउने उनले चेतावनी दिएकी छन् ।
डा. पराजुलीले उठाएको प्रश्न व्यक्ति केन्द्रित नभई नेपाली काँग्रेसको आत्मसम्मान, वैचारिक स्पष्टता र भविष्यको राजनीतिक दिशासँग जोडिएको बताउँदै पार्टी नेतृत्वले यसबारे गम्भीर आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याएकी छन् ।




