देश

तनहुँ–१ मा कांग्रेसको पुनरागमन दाबी गर्दै गोविन्द भट्टराईले भने – भारी मतसहित जित निकाल्छु

काठमाडौं। नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ मा यसपटक स्पष्ट जनलहर देखिएको दाबी गरेका छन्। २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उम्मेदवार बनेका भट्टराईले आफूले कम्तीमा १० देखि १२ हजार मतान्तरले जित निकाल्ने दाबी गर्दै चुनावलाई देश रूपान्तरणको अवसरका रूपमा व्याख्या गरेका छन्।

यसअघि भएको उपनिर्वाचनमा रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी भए पनि अहिले मतदाताको मनोविज्ञान फेरिएको भट्टराईको भनाइ छ। “तनहुँवासी अहिले पछुतोमा छन्, त्यो भावना मतपेटिकामा प्रस्ट देखिनेछ,” उनले भने। नेपाल विद्यार्थी संघ र तरुण दलको नेतृत्व गरिसकेका भट्टराई अर्थशास्त्रमा विद्यावारिधि (पिएचडी) गरिरहेका छन्। पदमा नरहँदा पनि खानेपानी र सडकजस्ता आधारभूत पूर्वाधारमा काम गरेको श्रेय पाएका उनी तनहुँमा ‘पानी मान्छे’को उपनामले समेत चिनिन्छन्।

भट्टराईका अनुसार देश अहिले संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ र यही चुनावले लोकतन्त्रलाई सही दिशामा फर्काउनेछ। “संविधानलाई लिकमा ल्याउने, भ्रष्टाचार नियन्त्रण गर्ने र विकासका काम अघि बढाउने अपेक्षा जनतामा देखिन्छ,” उनले बताए। “ग्ल्यामर होइन, जनतासँगको आत्मीयता मेरो शक्ति हो”चुनावी रणनीतिबारे बोल्दै भट्टराईले तडकभडक र कृत्रिम प्रचारमा आफू विश्वास नगर्ने स्पष्ट पारे। “म जे छु, जस्तो छु, त्यही रूपमा जनतामाझ जान्छु। तनहुँका जनतासँग एउटै टेबलमा बसेर खान सक्छु, एउटै बाटोमा हिँड्न सक्छु,” उनले भने।

युवा मतदाताका लागि स्थायी सरकार, रोजगारी र भ्रष्टाचारमुक्त राज्य प्रमुख मुद्दा भएको उनको बुझाइ छ। सूचना प्रविधिमा तनहुँको सम्भावनालाई उपयोग गर्दै रोजगारी सिर्जना गर्ने र लगानीमैत्री वातावरण बनाउने योजना उनले अघि सारेका छन्। यसका लागि उनले विशेष युवा परामर्श समिति समेत गठन गरेका छन्।

जेन–जी आन्दोलनले दल र नेता फेर्न खोजेको होइन, सोच र प्रवृत्ति बदल्न खोजेको भट्टराईको धारणा छ। “समयअनुकूल अपडेट भएका दल र युवा सोच भएका उम्मेदवारलाई नै जेन–जीको समर्थन हुन्छ,” उनले भने। “कांग्रेस विभाजित होइन, रूपान्तरित भएको हो”कांग्रेसभित्रको आन्तरिक राजनीतिबारे बोल्दै भट्टराईले पार्टी विभाजित नभई नेतृत्व रूपान्तरण भएको दाबी गरे।वर्तमान सभापति गगन थापाको नेतृत्वमा कांग्रेसले देशलाई नयाँ दिशामा लैजाने उनको विश्वास छ। पूर्व सभापति शेरबहादुर देउवालाई पार्टीले सम्मानित अभिभावकको भूमिकामा राख्ने पनि उनले बताए। रास्वपाले आफ्ना प्रतिस्पर्धीलाई भावी अर्थमन्त्री भन्दै बजेट लेख्न सुझाएको प्रसंगमा भट्टराईले व्यंग्य गरे। “जनताको मत नजितीकन बनाइने यस्ता परिकल्पना भित्ते हुन्छन्। अहिले कसैले बजेट लेख्दै छ भने कम्प्युटरको रिसाइकल बिनमा हाल्दा हुन्छ,” उनले भने।

भट्टराईले डिजिटल माध्यमबाट करिब २० हजार मतदाताबाट सुझाव प्राप्त गरिसकेको बताए। साथै, चुनावमा न्यूनतम खर्च गर्ने आफ्नो अडान दोहोर्‍याउँदै उनले भने, “महँगो चुनाव नै भ्रष्टाचारको जरो हो। यसपटक अत्यावश्यक खर्च मात्र भएको छ।” तनहुँ–१ मा कांग्रेसको पुरानो विरासत फर्काउने लक्ष्यसहित मैदानमा उत्रिएका भट्टराई चुनावी परिणामले जनताको बदलिएको चाहना पुष्टि गर्ने दाबी गर्छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *