काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी प्राप्त उजुरीहरूबारे अनुसन्धान प्रक्रिया अघि बढाइरहेको जनाएको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उजुरी परेका उम्मेदवारहरूसँग स्पष्टीकरण मागिएको र त्यसको अध्ययनपछि आवश्यक निर्णय लिइने बताएका छन्।
बिहीबार जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको मतपत्र छपाइ कार्यको अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले केही उम्मेदवारविरुद्ध आयोगमा उजुरी परेको जानकारी दिए। ती उजुरीमाथि आयोगले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको उनको भनाइ छ।
उनका अनुसार केही उम्मेदवारहरूले स्पष्टीकरण बुझाइसकेका छन् भने बाँकीबाट पनि आउने क्रम जारी छ। सबै स्पष्टीकरण प्राप्त भएपछि त्यसको अध्ययनका आधारमा आयोगले कारबाहीसम्बन्धी निर्णय लिनेछ।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गरिएको उल्लेख गर्दै यसको पालना भए–नभएको अनुगमन निरन्तर भइरहेको बताए। साथै उनले सञ्चारमाध्यमलाई निष्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्न आग्रह गरे। उनले तोकिएको मिति र समयमै निर्वाचन हुने स्पष्ट पार्दै निर्वाचन तयारी तीव्र गतिमा अगाडि बढिरहेको जानकारी दिए।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य जारी रहेको आयोगले जनाएको छ। हालसम्म ७२ लाख ६० हजार मतपत्र छपाइ भई ५ हजार ८ सय २५ बाकसमा प्याकिङ सम्पन्न भइसकेको छ। प्रत्यक्षतर्फका लागि कुल २ करोड ३ लाख २३ हजार मतपत्र आवश्यक पर्ने आयोगको अनुमान छ।
यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ आवश्यक २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ कार्य सम्पन्न भई ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जानकारी दिएको छ।




