राजनीति

बालुवाटार संवादमा निर्वाचनको निष्पक्षतामाथि बहस, ओलीले सरकारसँग मागे ठोस सुरक्षा प्रत्याभूति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र भयरहित ढंगले सम्पन्न हुने–नहुने विषयमा गम्भीर चासो व्यक्त गरेका छन्। बिहीबार बिहान प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा भएको भेटमा ओलीले वर्तमान राजनीतिक अवस्था र सुरक्षा चुनौतीलाई औंल्याउँदै निर्वाचन वातावरणप्रति प्रश्न उठाएका हुन्।

करिब दुई घण्टा चलेको भेटवार्तामा ओलीले निर्वाचन स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन अझै चुनौती कायम रहेको उल्लेख गर्दै सरकारको तयारीप्रति स्पष्ट आश्वासन मागेका थिए। विशेषगरी सुरक्षा संयन्त्रको प्रभावकारिता, संवेदनशील क्षेत्रको अवस्था र निर्वाचन प्रक्रियामा सम्भावित अवरोधबारे उनले प्रधानमन्त्रीसँग गम्भीर छलफल गरेको बताइएको छ।

जवाफमा प्रधानमन्त्री कार्कीले सरकारले निर्वाचन सुरक्षालाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्दै बुधबारदेखि नै करिब ८० हजार नेपाली सेना परिचालन भइसकेको जानकारी गराइन्। उनका अनुसार तीन तहको सुरक्षा व्यवस्था लागू गरिएको छ र मतदाता, उम्मेदवार तथा कर्मचारीको सुरक्षामा कुनै पनि किसिमको लापरबाही नहुनेछ।

निर्वाचन सर्ने विषयमा प्रधानमन्त्रीले यसअघि दिएको अभिव्यक्तिलाई लिएर ओलीले चासो व्यक्त गरेका थिए। त्यसक्रममा कार्कीले हिमाली जिल्लामा अत्यधिक हिमपातजस्ता विशेष परिस्थितिमा मात्र वैकल्पिक व्यवस्था सोच्न सकिने स्पष्ट पार्दै निर्वाचन सर्छ नै भन्ने आशय नरहेको प्रष्ट्याइन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले प्रधानमन्त्री र एमाले अध्यक्षबीच भेट भएको पुष्टि गरे पनि छलफलको विस्तृत विवरण आफूलाई जानकारी नभएको बताएका छन्। भेटका क्रममा ओलीसँगै एमाले नेता विष्णु रिमाल पनि बालुवाटार पुगेका थिए।

राजनीतिक वृत्तमा अर्थपूर्ण मानिएको यो भेटलाई निर्वाचनपूर्व सरकार र प्रमुख प्रतिपक्षबीच बढ्दो अविश्वास र त्यसलाई सम्बोधन गर्ने प्रयासका रूपमा हेरिएको छ। निर्वाचन नजिकिँदै जाँदा निष्पक्षता, सुरक्षा र विश्वासको विषय राजनीतिक बहसको केन्द्रमा रहँदै आएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *