देश

मेरो प्रतिस्पर्धा कुनै व्यक्ति वा पार्टीसँग नभई जनतामा व्याप्त निराशा र विगतका जनप्रतिनिधिको असफलतासँग हो : नेतृ कुन्ती पोखरेल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय नेतृ कुन्ती पोखरेलले आउँदो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर–२ बाट विजयी हुने दृढ विश्वास व्यक्त गरेकी छन्। उनले आफू आश्वासन बाँडेर होइन, मतदाताको विश्वास जितेर संसद् पुग्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको बताएकी छन्।

अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट तेस्रो स्थान हासिल गरेकी पोखरेल यसपटक अझ आत्मविश्वासका साथ पुनः उम्मेदवार बनेकी हुन्। २०७९ को निर्वाचनमा उनले ११ हजारभन्दा बढी मत ल्याएकी थिइन्। यस क्षेत्रकी स्थायी मतदाता समेत रहेकी पोखरेल पछिल्ला वर्षहरूमा स्थानीय समुदायसँग निरन्तर सम्पर्कमा रहेकाले जनआधार थप बलियो बनेको उनको दाबी छ। मतदातहरुले पनि यसपटक पोखरेललाई विजय गराउन अपिल गरिरहेका छन् ।

राप्रपाभित्र लोकप्रिय नेतृका रूपमा चिनिने पोखरेल पार्टीको पछिल्लो महाधिवेशनमा महिलातर्फ सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन्। उनले राप्रपालाई देशको पहिचान, सुशासन र राष्ट्रिय एकताको एजेन्डा बोकेको वैकल्पिक शक्ति भएको बताउँदै परम्परागत दलप्रति बढ्दो असन्तुष्टिकाबीच मतदाताले नयाँ तर स्पष्ट विचार खोजिरहेको उनको भनाइ छ ।उनका अनुसार अघिल्लो निर्वाचनको तेस्रो स्थान हार नभई अनुभव र आधार निर्माणको चरण थियो। “अब जनता पोस्टर र नारामा होइन, परिणाममा विश्वास गर्न चाहन्छन्,” पोखरेलको भनाइ छ। उनले आफ्नो प्रतिस्पर्धा कुनै व्यक्ति वा पार्टीसँग नभई जनतामा व्याप्त निराशा र विगतका जनप्रतिनिधिको असफलतासँग भएको उल्लेख गरेकी छन्।

काठमाडौँ–२ का मुख्य समस्या फोहर व्यवस्थापन, खानेपानी अभाव, ट्राफिक जाम, स्वास्थ्य सेवा, युवा बेरोजगारी र अव्यवस्थित पूर्वाधार रहेको भन्दै ती समस्या समाधानका लागि स्पष्ट योजना रहेको उनले बताइन्। विजयी भए ‘काठमाडौँ–२ सुधार कार्ययोजना’ कार्यान्वयनमा ल्याउने प्रतिबद्धता पनि पोखरेलले व्यक्त गरेकी छन्। पर्यटन सम्भावना बोकेको पटाप र नाङ्लेभारे क्षेत्रको विकासलाई इको–टुरिज्म मोडेलमार्फत अगाडि बढाउने, स्थानीय युवालाई रोजगारीसँग जोड्ने र संसद्मा काठमाडौँ–२ का मुद्दा प्राथमिकताका साथ उठाउने उनको एजेन्डा छ।

महिला उम्मेदवारका रूपमा चुनौतीभन्दा अवसर देखेको बताउँदै पोखरेलले महिलाको नेतृत्व क्षमतामाथि अझै शंका गर्ने मानसिकतालाई चिर्दै उदाहरण प्रस्तुत गर्ने दाबी गरिन्। अन्त्यमा उनले मतदातासँग भावनात्मक अपिल गर्दै भनिन्— “तपाईंहरूको मत मेरो जित मात्र होइन, काठमाडौँ–२ को भविष्यको निर्णय हो। जितेपछि म हराउने छैन, सधैँ तपाईंहरूसँगै हुनेछु।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *