काठमाडौँ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजनीतिक नेतृत्व भाषणबाट होइन, जनताको प्रत्यक्ष मत र विश्वासबाट स्थापित हुने बताएका छन्। उनले सामाजिक सञ्जालमा लोकप्रियता खोज्नुको सट्टा जनतालाई प्रत्यक्ष ‘डेलिभरी’ दिँदै पार्टी अघि बढाइएको दाबी गरे।
बिहीबार जनकपुरमा सञ्चारकर्मीसँगको कुराकानीमा घिसिङले आफ्नो पार्टी जनताको आवश्यकतामा केन्द्रित भएर अघि बढेकाले आगामी दिनमा जनताको समर्थन प्राप्त गर्ने विश्वास व्यक्त गरे। उनले उज्यालो नेपाल पार्टीले विशेषगरी नयाँ पुस्ता ९जेन–जी० को भावना र अपेक्षाअनुसार देश परिवर्तन गर्ने लक्ष्य लिएको उल्लेख गरे।
घिसिङले केवल भाषण गरेर प्रधानमन्त्री बन्न नसकिने भन्दै जनताले चुनेपछि मात्र नेतृत्व वैध हुने तर्क अघि सारे। “काम देखिएपछि मात्रै मत आउँछ,” उनले भने। आगामी निर्वाचनलाई लक्षित गर्दै उनले मधेस प्रदेशमा उज्यालो नेपाल पार्टीका उल्लेख्य संख्यामा उम्मेदवार रहेको र नतिजा पनि पार्टीको पक्षमा आउने अपेक्षा व्यक्त गरे। हाल मधेसका जनतासँग प्रत्यक्ष भेटघाट र संवादका लागि आफूहरू मैदानमा रहेको र आगामी चरणमा स्पष्ट एजेन्डासहित पुनः आउने उनले जानकारी दिए।
उनको अभिव्यक्तिले उज्यालो नेपाल पार्टीले जनाधार विस्तारलाई प्राथमिकता दिएको संकेत गरेको छ।




