काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा निर्वाचन सम्भवतः फागुन २१ गते नै हुनसक्ने बताएका छन्।
झापावासीहरूसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनको वातावरण क्रमशः बन्दै गएको उल्लेख गर्दै निर्धारित मितिमै चुनाव हुनसक्ने संकेत गरे।
यसअघि निर्वाचन हुने वातावरण नबनेको धारणा राख्दै आएका उनले अब चुनाव नजिकिँदै गएको बताए। फागुन २१ मै नभए पनि केही समयपछि भएपनि नेकपा एमालेले नै जित हासिल गर्ने उनको दाबी थियो।
“चुनाव आउँदैछ, सम्भवतः हुन्छ। फागुन २१ मै पनि हुनसक्छ। यदि त्यही मितिमा भएन भने अलि पछि भएपनि, जहिले भएपनि जित्नुपर्ने पार्टी एमाले नै हो,” उनले भने।
अध्यक्ष ओलीले देशभक्ति, राष्ट्रवाद र राष्ट्रिय हितको संरक्षणमा एमाले अग्रणी शक्ति रहेको जिकिर गरे। वैचारिक, व्यवहारिक तथा संघर्षका हिसाबले राष्ट्रिय हितको रक्षा र प्रवर्द्धन गर्ने नेतृत्व एमालेसँग रहेको उनको भनाइ थियो।
सरकारमा रहेका बेला एमालेले विकासका कामलाई तीव्रता दिएको दाबी गर्दै उनले आगामी निर्वाचनमा एमालेको विजय आवश्यक रहेको दोहोर्याए।




