देश

रास्वपाको टिकट वितरणमा मोटो रकमको चलखेलपछि सतहमा चर्को आलोचना,चुनावी मैदानमा उम्मेदवार

काठमाडौं । आफूलाई वैकल्पिक राजनीति र सुशासनको प्रतीक बताउँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० अहिले चुनावी टिकट वितरणकै कारण गम्भीर नैतिक संकटमा फसेको छ । पार्टीभित्रैबाट टिकट ‘कमाऊ धन्दा’ बनेको गम्भीर आरोप उठ्न थालेपछि रास्वपाको छवि र विश्वसनीयतामाथि ठूलो प्रश्नचिह्न खडा भएको छ । रास्वपाका केन्द्रीय नेता महेन्द्र पाण्डेले पार्टी परित्याग गर्दै सार्वजनिक रूपमा आरोप लगाएपछि यो विवाद सतहमा आएको हो । पत्रकार सम्मेलनमार्फत पाण्डेले पार्टीले चुनावी टिकटलाई पैसासँग साट्ने माध्यम बनाएको आरोप लगाएका छन् । उनका अनुसार रास्वपा अब ‘हुँदा खाने’ होइन, ‘हुने खाने’ हरूको पार्टीमा रूपान्तरण भएको छ, जहाँ इमानदार कार्यकर्ताको न भविष्य छ, न मूल्य ।

हुम्लाबाट पार्टी स्थापनाकालदेखि सक्रिय पाण्डेले निलो क्रान्तिको नारामा जनतालाई भ्रममा पारेर केही सीमित व्यक्ति र समूहले पार्टी कब्जा गरेको बताउँदै आएका थिए । गोरखा–२ का उम्मेदवार कविन्द्र बुर्लाकोटीलगायत केही नेताहरूले पार्टीलाई वैचारिक आन्दोलनबाट आर्थिक सौदाबाजीमा झारेको उनको आरोप छ । उनले त यस्ता उम्मेदवारलाई भोट दिनु होइन, जनताले गाउँ–गाउँबाट अस्वीकार गर्नुपर्ने सम्मको कडा टिप्पणी गरेका थिए ।

सभापति रवि लामिछानेको रिहाइका लागि आफू सडकमा उत्रिँदा पार्टीले प्रशंसा लिएको तर चुनाव नजिकिँदा पैसावालालाई मात्र टिकट बाँडिएको भन्दै पाण्डेले तीव्र आक्रोश व्यक्त गरेका थिए । ‘सभापति गलत नियत भएका व्यक्तिहरूको घेराबन्दीमा परेका छन्, ती पात्रलाई कारबाही नगरेसम्म पार्टी सुधार असम्भव छ,’ उनको भनाइ छ ।

यो असन्तुष्टि पाण्डेमै सीमित छैन । कैलाली, बागलुङ, तेह्रथुम, कास्की, स्याङ्जालगायत थुप्रै जिल्लामा टिकट वितरणलाई लिएर रास्वपाभित्र चर्को विरोध देखिएको थियो।

कैलालीमा भागबन्डा, बागलुङमा ‘टुरिस्ट उम्मेदवार’, तेह्रथुममा सामूहिक राजीनामाको चेतावनी र कास्कीमा खुला पत्र—यी सबै घटनाले रास्वपाको टिकट वितरण प्रणाली अपारदर्शी र मनपरी बनेको भन्दै उम्मेदवारहरुले चर्को आलोचना गरेका थिए । कतिपय नेताहरूले सामाजिक सञ्जालमै ‘निर्णय नसच्चिए पार्टी सखाप हुन्छ’ भन्ने चेतावनी समेत दिएका थिए ।

परिवर्तन र नैतिकताको राजनीति गर्ने दाबी गरेको रास्वपामा अहिले पैसा, पहुँच र चर्चित अनुहार नै टिकटको मुख्य योग्यता बनेको आरोप बढ्दै गएको छ । यदि यी आरोपहरूको विश्वसनीय जवाफ र आत्मसमीक्षा नगरेमा ‘पुराना दलभन्दा फरक’ भन्ने दाबी आफैं खोक्रो सावित हुने जोखिम रास्वपाले बोकेको छ । चुनाव नजिकिँदै गर्दा उठेका यी गम्भीर प्रश्नहरू केवल आन्तरिक विवाद होइनन्, रास्वपाको राजनीतिक आत्मामाथि नै उठेका प्रश्न हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *