काठमाडौं । नेकपा एमालेका सचिव तथा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार महेश बस्नेतले सरकारमाथि आगामी निर्वाचनमा संगठित धाँधलीको तयारी गरिरहेको गम्भीर आरोप लगाएका छन्। उनले सरकार स्वयं निष्पक्ष चुनावको विपक्षमा उभिएको दाबी गरेका हुन्।
बुधबार काठमाडौँमा एमालेका तर्फबाट उपत्यकाका विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका १५ जनासँग भएको छलफल कार्यक्रममा बोल्दै बस्नेतले हिमाली जिल्लामा मौसमको बहाना बनाउँदै निर्वाचन सार्ने र त्यसको आडमा मतपेटिका प्रहरी तथा सेनाको ब्यारेकमा राख्ने षड्यन्त्र भइरहेको आरोप लगाए।
उनका अनुसार निर्वाचन सार्ने क्रममा मतपेटिका सुरक्षाकर्मीका ब्यारेक र क्याम्पमा राखेर कसलाई जिताउने र कसलाई हराउने भन्ने ‘हिसाबकिताब’ गर्ने योजनामा सरकार लागेको छ। “यो कुरा कुनै अनुमान होइन, स्वयं प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभामा गरेको सम्बोधनबाट पुष्टि हुन्छ,” बस्नेतले दाबी गरे।
बस्नेतले यही उद्देश्यले सरकारले निर्वाचन दुई चरणमा गर्न लागेको आरोप लगाउँदै वर्तमान सरकारबाट निष्पक्ष, स्वतन्त्र र विश्वसनीय चुनाव हुन नसक्ने बताए। “धाँधलीकै लागि सरकारले संरचना र प्रक्रिया तयार गरिरहेको छ,” उनको भनाइ थियो।
उनले संसद् पुनर्स्थापना माग गर्दै दायर गरिएको रिटमाथि सर्वोच्च अदालतले तत्काल फैसला गर्नुपर्ने पनि जोड दिए। अदालतले पटक–पटक पेसी सारेर संवैधानिक जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाउँदै बस्नेतले न्यायालयले यस मुद्दाबाट भाग्न नपाउने बताए।
“आज पनि पेसी चढ्छ भन्ने आशा थियो, तर फेरि सरेको छ,” उनले भने, “प्रधानन्यायाधीश बिरामी भएको बहानामा सम्पर्कविहीन हुने, फोन अफ गर्ने र निर्णय टार्ने प्रवृत्ति देखिएको छ। यसले देश ठूलो संवैधानिक र राजनीतिक संकटमा फसेको संकेत गर्छ।”
बस्नेतले अहिलेको अवस्था केवल राजनीतिक विवाद मात्र नभई न्यायिक प्रणाली नै संकटमा परेको जस्तो अनुभूति भइरहेको टिप्पणी गरे। “सर्वोच्च, उच्च, जिल्ला अदालत मात्र होइन, समग्र न्यायिक प्रणाली नै जलिरहेको महसुस भइरहेको छ,” उनले भने।
उनका अनुसार निर्वाचन, संसद् र न्यायालय एकैसाथ विवादमा पर्नु देशका लागि गम्भीर चेतावनी हो र यसप्रति सरकार तथा सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने आवश्यकता छ।




