देश

लोकतन्त्र जोगाउने जिम्मेवारी बोकेर चुनावी मैदानमा उत्रियौँ : विमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधिले वर्तमान राजनीतिक अवस्थालाई चुनौतीपूर्ण मोडको संज्ञा दिँदै पार्टी आत्मसमीक्षा र सुधारको संकल्पसहित निर्वाचनमा होमिएको बताएका छन्। उनका अनुसार कांग्रेस अहिले विगतका कमजोरी सच्याउँदै देशलाई स्थायित्वतर्फ डोर्‍याउने प्रयासमा केन्द्रित छ।

धनुषा–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार निधिले चुनावी अभियानका क्रममा लोकतन्त्र, संविधान र शासन प्रणाली संकटमा परेको उल्लेख गर्दै यस अवस्थाबाट मुलुकलाई बाहिर निकाल्न निर्वाचन अपरिहार्य भएको बताए। संसद्, सरकार र संवैधानिक संस्थाहरू अनिश्चित अवस्थामा रहेकाले जनताबाटै स्पष्ट म्यान्डेट लिने विकल्प रोजिएको उनको भनाइ छ। निधिले अहिलेको चुनावको मूल उद्देश्य लोकतान्त्रिक प्रणालीलाई पुनः सन्तुलनमा ल्याउनु रहेको स्पष्ट पारे। “देश कुन दिशामा जाने भन्ने निर्णय गर्ने अधिकार अन्ततः जनताकै हो,” उनले भने, “यही अधिकार प्रयोग गर्ने अवसर नै यो निर्वाचन हो।”

आफ्नो निर्वाचन क्षेत्रमा भएका विकास गतिविधि स्मरण गराउँदै निधिले जनकपुर–ढल्केबर ६ लेन सडक, जिल्लाका सबै पालिकालाई सडक सञ्जालमा जोड्ने काम, शिक्षा र भौतिक पूर्वाधार विस्तारमा आफूले नेतृत्वदायी भूमिका खेलेको दाबी गरे। साथै संविधान निर्माणका बेला संघीय संरचना सुनिश्चित गर्न र मधेस प्रदेशको राजधानी जनकपुर तोक्न गरिएको पहललाई पनि उनले आफ्नो महत्वपूर्ण योगदानका रूपमा उल्लेख गरे। २०७४ को निर्वाचनमा भोग्नुपरेको पराजयलाई राजनीतिक यात्राको एक चरण मात्र ठहर गर्दै निधिले जनताप्रतिको भरोसा कहिल्यै कमजोर नभएको बताए। उनले पार्टीभित्रको आन्तरिक असमझदारीका कारण असफलता आएको भए पनि अहिले कांग्रेस एकताबद्ध भएर अघि बढेको दाबी गरे।

कांग्रेसभित्रको अवस्थालाई उनले दुर्घटनापछि ज्यान जोगिएजस्तो अवस्थामा रहेको यात्रुसँग तुलना गरे। “दुर्घटनापछि सबैलाई एकअर्काको आवश्यकता महसुस हुन्छ,” उनले भने, “अहिले कांग्रेस पनि त्यही अनुभूतिको साथ एक भएर चुनावमा उत्रिएको छ।” मधेसबाट राष्ट्रिय नेतृत्व उदाउने सम्भावनाबारे बोल्दै निधिले यसले समावेशी राजनीतिलाई बलियो बनाउने बताए। प्रधानमन्त्री बन्ने आकांक्षा स्वाभाविक भएको उल्लेख गर्दै उनले मधेसको राजनीतिक हैसियत अब निर्णायक चरणमा पुगेको धारणा राखे।

धनुषा–३ बाट आफ्नो जित सुनिश्चित हुने विश्वास व्यक्त गर्दै निधिले पार्टी सभापतिबाट औपचारिक टिकट लिएर मैदानमा उत्रिएको र यसमा कार्यकर्ताको दबाब र समर्थनले थप ऊर्जा दिएको बताए। समग्रमा देश गम्भीर राजनीतिक मोडमा पुगेको उल्लेख गर्दै निधिले यसको समाधान अनुभवी, लोकतन्त्रप्रति प्रतिबद्ध र परिपक्व राजनीतिक शक्तिबाट मात्र सम्भव हुने निष्कर्ष निकाले। “कठिन समयमा देशलाई दिशा दिने जिम्मेवारी कांग्रेसले लिन्छ,” उनले भने।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *