काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले काठमाडौँमा भइरहेको तिब्बती मूलका बौद्ध धर्मगुरु जोनाङ ग्याल्त्साब रिम्पोछेको धार्मिक गतिविधिप्रति कडा आपत्ति जनाएका छन्। उनले यसलाई सामान्य धार्मिक कार्यक्रमको रूपमा मात्र लिन नमिल्ने भन्दै कूटनीतिक रूपमा संवेदनशील विषय भएको बताएका छन्।
मंगलबार नेकपा काठमाडौँ क्षेत्र नम्बर ८ अन्तर्गत वडा नम्बर १५ को निर्वाचन परिचालन समिति सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै खनालले सरकारको संरक्षणमै यस्ता गतिविधि हुनु गम्भीर चिन्ताको विषय भएको टिप्पणी गरे। उनका अनुसार यसले नेपालको स्थापित एक चीन नीतिमाथि सीधा प्रश्न उठाएको छ।
खनालले हालको घटनाक्रमका कारण नेपाल–चीन सम्बन्ध इतिहासकै कमजोर चरणमा पुगेको दाबी गर्दै यसले कूटनीतिक सम्बन्धमा मात्र नभई आन्तरिक राजनीतिक स्थिरतामा समेत नकारात्मक असर पार्न सक्ने चेतावनी दिए। ‘यस्ता गैरजिम्मेवार निर्णयहरूले देशलाई थप राजनीतिक संकटतर्फ धकेल्न सक्छन्,’ उनले भने।
हाल जोनाङ ग्याल्त्साब रिम्पोछे काठमाडौँको बौद्ध क्षेत्रमा १० दिने बौद्ध धर्मसम्बन्धी प्रवचनमा सहभागी भइरहेका छन्। यही विषयलाई लिएर छिमेकी राष्ट्र चीनले कूटनीतिक असन्तुष्टि जनाएको चर्चा भइरहेका बेला खनालको प्रतिक्रिया आएको हो।
खनालले नेपालको भूराजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै छिमेकी राष्ट्रहरूसँगको सन्तुलित सम्बन्ध जोगाउनु सरकारको दायित्व भएको बताए। उनले एक चीन नीतिप्रति सरकारको प्रतिबद्धता व्यवहारमा देखिनुपर्ने भन्दै स्पष्ट र जिम्मेवार कदम चाल्न आग्रह गरे।
उनका अनुसार राष्ट्रिय हित र कूटनीतिक सन्तुलनलाई कमजोर पार्ने कुनै पनि गतिविधि दीर्घकालीन रूपमा देशका लागि हानिकारक हुने छ।




