देश

एकतावद्ध कांग्रेस नै आजको आवश्यकता

काठमाडौं । नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन, यो नेपालको आधुनिक लोकतान्त्रिक इतिहाससँग गाँसिएको संस्था हो। कांग्रेसको स्थापना कालदेखि आजसम्म आइपुग्दा देशले भोगेका हरेक निर्णायक मोडमा कांग्रेस कुनै न कुनै रूपमा अग्रमोर्चामा उभिएको छ।

नेपाली कांग्रेसको जन्म नै राणा शासनविरुद्धको लोकतान्त्रिक संघर्षबाट भएको हो। २००७ सालको परिवर्तन, २०१५ सालको पहिलो जननिर्वाचित सरकार, २०३६ सालको जनमत संग्रह,२०४२ सालको सत्याग्रह, पंचायति व्यवस्थाका विरुद्ध २०४६ सालको निर्णयक जनआन्दोलन र २०६२÷६३ को ऐतिहासिक जनआन्दोलन—यी सबै मोडमा कांग्रेसले नेतृत्वदायी भूमिका खेलेको छ। संविधानसभा हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पनि कांग्रेसको सहभागिता र नेतृत्वदायी भूमिका सम्पन्न भएको थियो । शिक्षा, स्वास्थ्य, पूर्वाधार र निजी क्षेत्रको विकासमा समेत कांग्रेस नेतृत्वका सरकारले आधार तयार पारेको थियो। खुला अर्थतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको रक्षा कांग्रेसको राजनीतिक डीएनएमै छ। यही कारण कांग्रेस आज पनि लोकतान्त्रिक मूल्यको मुख्य वाहक मानिन्छ।

नेपाली कांग्रेसका सभापतिमा शेरबहादुर हुँदा कांग्रेस संसदमा पहिलो पाटी बनेको थियो । अब पनि कांग्रेको नयाँ नेतृत्व र नेता कार्यकर्तालाई कांग्रेसलाई आगामी निर्वाचनमा पहिलो पार्टी बनाउनुपर्ने जिम्मेवारी आएको छ । यसका लागि अब सबै कांग्रेसका नेता तथा कार्यकर्ताहरु एक भएर अघि बढ्नुको विकल्प छैन्,पार्टीभित्र जेनजी आन्दोलनपछि विभिन्न दृश्य तथा अदृश्य घटनाक्रम भए पनि अब सबैले केही समयका लागि सबै कुरा भुलेर देशलाई बलियो बनाउने कांग्रेस एकतावद्ध भएर चुनावमा होमिनुको विकल्प छैन् ।

निर्वाचनमा पार्टीलाई पहिलो बनाउने हो भने,पार्टीभित्र कांग्रेसले दुई धार निर्धारण गर्नु हुँदैन,पुरानो र नयाँ कांग्रेसको फण्डा अपनाउनु कांग्रेसका लागि घातकसिद्ध हुनेछ । जेन(जी) आन्दोलनपछि बदलिएको राजनीतिक चेतना र पुस्तागत असन्तोषले कांग्रेसलाई फेरि एकपटक आत्मसमीक्षा गर्न बाध्य बनाएको छ। अब प्रश्न इतिहासको होइन, भविष्यको हो—कांग्रेस एक भएर अघि बढ्छ कि आफ्नै विवादमा अल्झिएर अवसर गुमाउँछ ? अहिले सारा विश्वको नजर कांग्रेसमाथि परेको छ ।

एक पक्षीय भेला गरेर विशेष महाधिवेशनमार्फत निर्वाचित तथा निर्वाचन आयोगको मान्यतापछि नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा छन्, उनले पार्टीलाई पहिलो बनाउने र दश नयाँ भिजन सार्वजनिक गर्ने बताइसकेका छन् । तर नागरिकलाई कसरी बुझाउने र मतदातालाई विश्वास दिलाउने भन्ने विषय अलि चर्को विषय बनेको छ । सो भ्रम चिरेर नागरिकलाई विश्वास दिलाउने विषयमा कांग्रेसले सातै प्रदेशमा सभा र ऐक्यवद्धता जनाउन आवश्यक छ । सभापति बनेपछि थापा पहिलो पटक आफ्नो निर्वाचन क्षेत्रमा सर्लाही –४मा पुगे। त्यहाँ थापाले भिड नियन्त्रण गरेर सार्वजनिक भाषण नै गर्न सकेनन्,कांग्रेस पार्टीको सभापति भएको जिम्मेवारीपूर्ण मान्छेले वातावरण मिलाउन सक्ने क्षमता राख्नुपर्छ। वैकल्पिक भनिएका जेनजी युवाहरुको भिड जस्तै कांग्रेस जस्तो जिम्मेवारी पार्टीको सभापति भिडमैँ रमाउने हो भने कांग्रेस भविष्यप्रति अर्को प्रश्न चिह्न खडा हुनेछ ।

अझ कांग्रेसलाई शक्तिशाली एकतावद्ध बनाउन सभापति थापाले पूर्वप्रधानमन्त्ती तथा निर्वतमान सभापति देउवासँग सहकार्य तिव्र गतिमा बढाउन आवश्यक देखिन्छ । देउवाले निर्वाचनमा सबैलाई एक हुन आग्रह गर्दै एक विज्ञप्ती जारी गरि दिएमा कांग्रेसले विवाद भुलेर निर्वाचनमा सकार्य गरेर अघि बढ्ने वातावरण बन्ने आंकाक्षा पछिल्लो समय कांग्रेस र अझ उम्मेदवारहरुमा बढेको छ । सोही अनुसारको नेतृत्वदायी भूमिका निर्वाह गरेर थापा चुनावमा होमिदा पार्टीले सोचेभन्दा राम्रो परिणमा हासिल गर्ने कांग्रेसका नेता तथा कार्यकर्ताहरु बताउँछन् ।

जेन(जी) आन्दोलन कुनै एक दलविरुद्धको आन्दोलन थिएन, तर यसले सबै दललाई प्रश्नको कठघरामा उभ्यायो। आन्दोलनले उठाएको मूल प्रश्न थियो— मुलुकमा सुशासन र भ्रष्ट्राचार नियन्त्रण । तर आन्दोलनले अर्के रुप लियो । र आज कांग्रेस विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व लिएर अघि बढेको छ । तर कतै हलो अडिक्ने त हैन भन्ने भ्रम पनि उतिकै छ । अब सो भ्रम चिर्न सभापति थापाले कस्तो भूमिका खेल्लान ? थापाको निर्णय क्षमतामा भर पर्नेछ । अहिलेसम्म सभापतिमा निर्वाचितपति निर्वतमान सभापति देउवालाई भेटन थापा पुगेका छैनन्,सोही कारण कांग्रेसलाई अब फराकिलो कि साँगुरो बनाउने त्यो जिम्मेवारी थापाको काँधमा आएको छ । निर्वाचन आउन अब एक महिना मात्र बाँकी छ ।

कांग्रेस सरकारमा रहँदा सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी र सेवा प्रवाहमा अपेक्षित परिणाम दिन नसकेको स्वीकारोक्ति पार्टीभित्रैबाट पनि हुन थालेको छ। नेतृत्वमा रहेका अनुहारहरू, निर्णय प्रक्रिया र गुटगत राजनीतिले पार्टीलाई जनताबाट टाढा बनायो। अब कांग्रेसले नयाँँ अभियानको सुरुवातसँगै जनतासँग हातेमालो गरेर अगाढी बढेको खण्डमा कांग्रेसलाई कसैले टक्कर दिन सक्दैन्,त्यो जिम्मेवारी पनि अब सभापति थापाको काँधमैँ आएको छ ।

कांग्रेसभित्र देखिने मुख्य समस्या भनेको आन्तरिक विवाद हो। उम्मेदवार चयनदेखि नीति निर्माणसम्म व्यक्तिगत आकांक्षा हाबी देखिन्छ। निर्वाचनको मुखमा समेत पार्टीभित्रको लडाइँ सार्वजनिक रूपमा देखिनु कांग्रेसका लागि सबैभन्दा ठूलो कमजोरी बन्दै आएको छ । जेन(जी)पछिको राजनीतिमा मतदाता भावनात्मक छन्, तर सजग पनि छन्। उनीहरू विभाजित, आपसमा द्वोन्द्व मात्र गरिरहने पार्टीलाई होइन, स्पष्ट दृष्टिकोण र एकताबद्ध नेतृत्व खोजिरहेका छन्। कांग्रेस पहिलो पार्टी बन्ने हो भने अब यी कुरामा कांग्रेसले ध्यान पु¥याउनु जरुरी देखिन्छ ।

  • पहिलो पार्टीभित्रको विवाद थाती राख्ने

अहिले निर्वाचको समय भएकाले लोकतन्त्र बचाउन र संविधान ट्रयाकमा लयाउनका लागि चुनावमा एक ढिक्का भएर होमिनुको विकल्प कांग्रेसका सामु छैन् । नेताहरु पनि यसलाई आत्मासात गर्दै विस्तारै चुनावमा होमिन थालेका छन् । पार्टीभित्रको हिसाब–किताब,असन्तुष्टि, गुनासा र अन्तरसंघर्ष चुनावपछि गर्नु कांग्रेस पार्टीका लागि हितकर हुने देखिन्छ । अहिले सबैको प्राथमिकता रुख चिह्नमा मतदान गरी कांगे्रसलाई जिताउनु रहेको छ ।

  • सामूहिक नेतृत्व र साझा जिम्मेवारी

नेतृत्व केवल सभापति वा केन्द्रीय नेताको मात्र विषय होइन। तल्लो तहदेखि माथिसम्म सबैले ‘पार्टी ठूलो, व्यक्ति सानो’ भन्ने सोच आत्मसमिक्षा गर्दै अगाडी बढ्नुको विकल्प छैन् ।

  • अनुशासन र संयम
    सार्वजनिक आलोचना, असन्तुष्टिका अभिव्यक्ति र गुटगत प्रदर्शनले कांग्रेसलाई फाइदा होइन, क्षति मात्र पुर्‍याउँछ।
    भिडको राजनीति होइन, विकास र मुलुकको समृद्धिलाई केन्द्रमा राखेर अगाडी राखेर अगाडी बढ्नुपर्छ ।

जेन(जी)आन्दोलनले देखाएको अर्को सन्देश हो— विकास र समृद्धि,नारा र भिड होइन् । युवाहरूले विकासको स्पष्ट खाका चाहेका छन् । रोजगारी कहाँबाट आउँछ ? शिक्षा र स्वास्थ्य कसरी सुधारिन्छ ? संघीयता कसरी प्रभावकारी बन्छ ? कांग्रेसले अब ‘हामी लोकतन्त्रका लागि लड्यौं’ भन्ने मात्र होइन, ‘हामी भविष्य बनाउँछौं’ भन्ने सन्देश दिनु जरुरी छ । विकास, सुशासन, सामाजिक न्याय र समावेशी अर्थतन्त्र—यी विषयलाई केन्द्रमा राखेर कांग्रेसले आफ्नो एजेण्डा पुनःपरिभाषित गर्नुपर्ने समय आएको छ।

नेपाली राजनीतिमा कांग्रेस कमजोर हुनु भनेको लोकतान्त्रिक सन्तुलन कमजोर हुनु हो। कांग्रेस पहिलो पार्टी बनेन भने संसद् झन् खण्डित हुनेछ, सरकार अस्थिर रहनेछ र निर्णय प्रक्रिया झन् कमजोर बन्नेछ। कांग्रेस बलियो भयो भने मात्रै लोकतान्त्रिक प्रणाली स्थिर रहन्छ, संघीयता संस्थागत हुन्छ र अतिवादलाई रोक्न सकिन्छ। त्यसैले कांग्रेसको जित केवल पार्टीको जित होइन, लोकतान्त्रिक व्यवस्थाको जित हो। जेन(जी)पछिको राजनीति कांग्रेसका लागि चुनौती मात्रै होइन, अवसर पनि हो। इतिहास, संगठन र अनुभव कांग्रेससँग छ। अभाव छ भने केवल एकता र स्पष्ट संकल्पको।

यदि कांग्रेसले अब पनि पार्टीभित्रकै विवादमा समय खर्चियो भने इतिहासले माफ गर्दैन। तर सबै कांग्रेस एक भएर, व्यक्तिगत स्वार्थ त्यागेर, विकास र भविष्यको एजेण्डासहित निर्वाचनमा उत्रियो भने कांग्रेसलाई फेरि पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन। यो चुनाव कांग्रेसका लागि सत्ता प्राप्ति मात्र होइन—आफ्नो अस्तित्व र जिम्मेवारी प्रमाणित गर्ने अवसर पनि हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *