काठमाडौं । निर्वाचनको मिति नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफैंले बारम्बार प्रश्न उठाउँदै आएको राजनीतिक आचारसंहिता र ‘नयाँ राजनीति’को मापदण्डमै प्रश्न खडा हुने निर्णयतर्फ उन्मुख देखिएको छ। मनोनयन प्रक्रिया सुरु भइसकेको अवस्थामा पार्टी सभापति रवि लामिछाने नेतृत्वको टोली भारतको नयाँ दिल्ली र बैंगलोर पुगेर चुनावी गतिविधि गर्न लागेको खबरले यही संकेत गर्छ।
कानुन, परम्परा र निर्वाचन आयोगको अभ्यास अनुसार निर्वाचन प्रक्रिया सुरु भएपछि दलहरूले देशभित्र मात्रै प्रचार–प्रसार गर्नुपर्ने मान्यता रहँदै आएको छ। तर ‘पुराना दलभन्दा फरक’ दाबी गर्दै आएको रास्वपाले यही अभ्यासलाई तोड्न लागेको स्रोतको दाबी छ। फेब्रुअरी ५ मा भारत जाने र १० मा फर्किने गरी लामिछानेको भ्रमण तय भएको बुझिएको छ।
निर्वाचन बाहेकका समयमा प्रवासी संगठनसँग भेटघाट गर्नु स्वाभाविक मानिए पनि चुनाव सुरु भइसकेपछि विदेशमै पुगेर कार्यक्रम गर्नु आचारसंहिता, राजनीतिक नैतिकता र कूटनीतिक संवेदनशीलतासँग प्रत्यक्ष जोडिने विषय हो। निर्वाचन आयोगका एक भूतपूर्व अधिकारी भन्छन्, “चुनावी प्रक्रियामा प्रवेश गरिसकेपछि विदेशी भूमिमा कार्यक्रम गर्नु केवल नियमको प्रश्न होइन, राजनीतिक इमान्दारिताको परीक्षा पनि हो। पुराना दलले नगरेको काम नयाँले गर्छ भने त्यो ‘नयाँ राजनीति’ होइन, नयाँ जोखिम हो।”
यसैबीच, रास्वपाभित्र देखिएको शीर्ष नेतृत्वको दूरीले पनि थप प्रश्न जन्माएको छ। माघ ५ गते जनकपुरको कार्यक्रमपछि सभापति लामिछाने र ‘भावी प्रधानमन्त्री’का रूपमा प्रचारित वरिष्ठ नेता बालेन्द्र साह (बालेन) एकै मञ्चमा देखिएका छैनन्। झापा भ्रमणबाट फर्किएपछि साह पार्टी कार्यालय नपुगी आफ्नै सम्पर्क कार्यालय हुँदै सुदूरपश्चिमतिर लाग्नु र काठमाडौंमा रहँदा लामिछानेलाई औपचारिक भेट नगर्नुले नेतृत्वबीच असहजता बढेको संकेत गरेको छ ।
यद्यपि चलचित्र पत्रकार दिनेश सिटौला अचेत भएपछि सामाजिक सञ्जालमा चर्किएको आलोचनापछि साहले ग्राण्डी अस्पतालबाट सिधै लामिछानेलाई भेटेका थिए। तर त्यो भेट राजनीतिक सन्देशभन्दा बढी संकट व्यवस्थापनमा सीमित देखिएको विश्लेषकहरूको भनाइ छ। साहमाथि सामाजिक सञ्जाल दुरुपयोग, पत्नी सविना काफ्लेको समयअगावै घरदैलो, सादा पोशाकका प्रहरीमार्फत मत मागिएको आरोपमा निर्वाचन आयोगले दोस्रो स्पष्टीकरण सोधिसकेको छ। यस्तो अवस्थामा पार्टी सभापतिको भारत भ्रमणले रास्वपाको नैतिक धरातल झन् कमजोर बनाउने खतरा देखिएको छ।
अझ गम्भीर कुरा, सुदूरपश्चिम र कर्णालीका मतदातालाई भारतबाट बसमा राखेर जिल्लामा ल्याउने योजना समेत बनिसकेको चर्चा छ। ती प्रदेशका हजारौं युवा भारतमा मजदुरी गरिरहेका छन् भन्ने यथार्थ भए पनि चुनावी प्रयोजनका लागि सीमापारबाट संगठित रूपमा मतदाता ओसारपसार गर्नु निर्वाचन स्वतन्त्रतामाथि हस्तक्षेपको रूपमा व्याख्या हुन सक्छ। केही राजनीतिक विश्लेषकहरू लामिछानेको भारत भ्रमणलाई सत्तारुढ भारतीय जनता पार्टीसँग सम्बन्ध सुदृढ गर्ने प्रयासका रूपमा पनि हेर्छन्। चुनावको मुखमा शीर्ष नेता भारत जानु केवल मतदाता लक्षित कार्यक्रम मात्र हो कि भविष्यको शक्ति सन्तुलनसँग जोडिएको रणनीति—यो प्रश्न अझै खुला छ।
निर्वाचन आयोगका पदाधिकारीहरू भने यस विषयलाई गम्भीर रूपमा हेर्नुपर्ने बताउँछन्। विदेशमा गरिने गतिविधिले कूटनीतिक असर पार्न सक्छ। यस्तो अभ्यासले भोलि अरू देशका दललाई नेपालमै आएर कार्यक्रम गर्न ढोका खोलिदिन्छ कि भन्ने चिन्ता पनि उत्तिकै छ।” ‘नयाँ राजनीति’को नारा लगाउँदै उदाएको दल आज पुरानै विवाद, पुरानै प्रश्न र झन् जटिल नैतिक संकटतर्फ उन्मुख देखिन थालेको छ। बालेन र रविको दूरी, आचारसंहिता विवाद र भारत केन्द्रित चुनावी योजना—यी सबैले रास्वपाको राजनीतिक यात्रालाई सहजभन्दा बढी संवेदनशील मोडमा पुर्याएको विश्लेषण भइरहेको छ ।




