काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले मुलुक असामान्य राजनीतिक अवस्थाबाट गुज्रिरहेको भन्दै लोकतन्त्रको रक्षा गर्न सबै शक्ति निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका छन्। कञ्चनपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले वर्तमान अवस्था संविधानको मूल मर्मअनुसार नभएको उल्लेख गरे। जननिर्वाचित सर्वोच्च निकाय प्रतिनिधि सभा विघटन भइसकेको र निर्धारित समयभन्दा अगाडि नै निर्वाचनको परिस्थिति सिर्जना हुनु चिन्ताजनक भएको उनको भनाइ थियो।
“२०८४ सालमा हुनुपर्ने चुनाव २०८२ मै गर्नुपर्ने अवस्था आएको छ। यो सामान्य अवस्था होइन,” लेखकले भने, “लोकतन्त्र दबाबमा छ, जोखिममा छ। यस्तो घडीमा निर्वाचनमार्फत नै लोकतान्त्रिक मूल्य जोगाउनुपर्ने जिम्मेवारी हामीमाथि आएको छ।” उनले भदौ २३ र २४ गते भएका घटनालाई अप्रत्याशित र दुःखद भन्दै स्मरण गरे। भ्रष्टाचार नियन्त्रण, सुशासन र अभिव्यक्ति स्वतन्त्रताको मागसहित युवाहरूले सुरु गरेको आन्दोलनमा बाह्य हस्तक्षेप हुँदा अवस्था बिग्रिएको उनले बताए।
पूर्वगृहमन्त्री लेखकका अनुसार आन्दोलनलाई लोकतन्त्रविरोधी दिशातर्फ मोड्ने प्रयास भएपछि राजनीतिक संकट गहिरिएको थियो। “२३ गते साँझमै मैले गृहमन्त्री पदबाट राजीनामा दिएको थिएँ,” उनले भने, “२४ गते प्रधानमन्त्रीले पनि राजीनामा दिनुभयो, त्यसपछि नयाँ सरकार बन्यो, संसद् विघटन भयो र देश निर्वाचनतर्फ गयो।” यसपटक आफू उम्मेदवार नबने पनि कांग्रेसका उम्मेदवारलाई जिताउन सक्रिय हुने लेखकले स्पष्ट पारे। पार्टीभित्र देखिएका मतभेद र अन्तरसंघर्षलाई अहिले मुख्य विषय नबनाउन कार्यकर्तालाई आग्रह गर्दै उनले भने, “उम्मेदवार फेरिन सक्छन्, पार्टीभित्र असहमतिहरू हुन सक्छन्। तर अहिले ती विवादमा अल्झिने समय होइन।”
उनले पार्टीभित्रका समस्या संस्थागत र वैधानिक प्रक्रियाबाट समाधान हुने उल्लेख गर्दै वर्तमान प्राथमिकता बाह्य प्रतिस्पर्धामा केन्द्रित हुनु पर्ने धारणा राखे। “अहिलेको लडाइँ पार्टीभित्र होइन, लोकतन्त्र जोगाउने साझा उद्देश्यका लागि हो,” लेखकले जोड दिए।




