देश

प्रतिनिधिसभा निर्वाचनः महोत्तरी-३ का मतदाताको सुशासन मुख्य मुद्दा

महोत्तरी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी भइरहँदा महोत्तरी क्षेत्र नं ३ का मतदाताले सुशासनलाई मुख्य मुद्दा बनाएका छन्। जिल्ला सदरमुकामस्थित जलेश्वर नगरपालिकाका मतदाताले सुशासनसहित सामाजिक न्यायको सहज पहुँच हुनुपर्ने धारणा राखेका छन्।

जलेश्वर नगरपालिकाका १२ वटा वडा, मटिहानी नगरपालिकाका नौ, मनराशिशवा नगरपालिकाका ८, ९ र १०, पिपरा गाउँपालिकाका १, २, ३, ४, ५ र ७ तथा एकडारा गाउँपालिकाका १, २, ३, ४ र ५ वडाका मतदाताले चुनावी अभियानमा खटिएका दलका उम्मेदवारसँग कानुनी थिति र विधिको प्रश्न उठाउँदै सुशासनको अनुभूति गर्न नपाएको गुनासो गरेका छन्।

लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात गरेको संविधान र तदनुरूपका ऐन कानुन भए पनि तिनको कार्यान्वयन पक्ष स्वच्छ र निष्पक्ष हुन नसक्दा जनताले सुशासनको अनुभूति गर्न नपाएको मटिहानी–८ का मतदाता इसराफिल राइनको भनाइ छ।

“संविधान छ, कानुन छन् तर कार्यान्वयन पक्ष कमजोर छ। संविधान र कानुनबमोजिम सबै हकअधिकार सुनिश्चित हुनुपर्ने जनताको चाहना छ,” उनले भने। सबैमा सामाजिक न्यायको सहज पहुँच नहुनु र संविधानले निर्दिष्ट गरेका संवैधानिक हकबाट निमुखा जनता पाखा पर्नु मुख्य समस्याका रूपमा देखिएको उनको भनाइ छ।

पूर्वाधार निर्माणका सरकारी योजनामा बढेको बेथितिले भ्रष्टाचार व्याप्त भएको युवा मतदाताको गुनासो छ। कुनै एउटा योजनामा पारदर्शिता र जवाफदेहिता नहुँदा संस्थागत रूपमा नै बेथिति बढेको जलेश्वर–४ का धीरेन्द्र रायले बताए। यो बेथिति अन्त्य गर्न राजनीतिक इच्छाशक्ति आवश्यक पर्नेमा जोड दिँदै उनले आसन्न निर्वाचनमा दल र उम्मेदवारले भ्रष्टाचार अन्त्यका लागि स्पष्ट खाका प्रस्तुत गर्नुपर्ने धारणा राखे।

कृषि यहाँका जनताको प्रमुख पेसा भए पनि सरकारले कृषि क्षेत्रका लागि घोषणा गरेका सुविधा गाउँबस्तीका किसानले पाउन नसकेको मतदाताको गुनासो छ। यस्ता सुविधा पनि पहुँच भएकाहरूले मात्र पाउँदा वास्तविक किसान मर्कामा पर्ने गरेको स्थानीय बस्तीका प्रवीण कर्णले बताए। “काममा पारदर्शी र जवाफदेही थिति बसाउन सकिए मात्र सुशासनको अनुभूति हुन सक्छ,” उनले भने।

विकास निर्माणका कामका लागि बन्ने उपभोक्ता समितिदेखि रकम प्रवाह गर्ने अड्डासम्म ‘सेटिङ’ मा काम गरिने परिपाटी हुर्कँदै जाँदा राजनीतिक क्षेत्र पनि अविश्वासको पात्र बन्दै गएको जलेश्वर–७ बखरीका हरिभूषण रायको भनाइ छ। यो परिपाटी अन्त्य गर्न सकिए राजनीतिक क्षेत्रमा मौलाएको बेथिति आफैँ घट्ने उनको धारणा छ।

“अहिलेको मुलुकको समस्या राजनीतिक क्षेत्रको आर्थिक बेथिति हो,” रायले भने, “अब टालटुले कुराले यो अन्त्य हुँदैन, राजनीतिमा सुदृढ इच्छाशक्तिले यसको बाटो कोर्न सक्छ।” आसन्न निर्वाचनको मुखमा मतदाता यस्ता सुदृढ इच्छाशक्तिका उम्मेदवार पर्खिरहेको उनको भनाइ छ।

जलेश्वर नगर क्षेत्र, एकडारा र मटिहानीका बस्ती बर्सेनि बर्खामा डुबानमा पर्दै आएका छन्। रातु र बिगही नदीको ताण्डव रोक्न नदी नियन्त्रणको पक्की तटबन्ध आवश्यक रहेको स्थानीयको माग छ। यी समस्या बुझ्ने र सम्बोधनको आँट देखाउने उम्मेदवार चाहिएको जलेश्वर–८ का धिरु मण्डलले बताए।

आसन्न निर्वाचनका लागि यहाँ २६ स्वतन्त्र र १५ राजनीतिक दलका गरी ४१ जना उम्मेदवार चुनावी मैदानमा छन्। दलबाट एक र स्वतन्त्र एक गरी दुई जना महिला उम्मेदवार प्रतिस्पर्धामा छन्। जसपा नेपाल, नेपाली कांग्रेस, नेकपा, नेपाल जनता पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एमाले), राष्ट्र निर्माण दल र नेपाल सङ्घीय समाजवादी पार्टी मुख्य प्रतिस्पर्धीका रूपमा रहेका छन्।

यसैगरी श्रमसंस्कृति पार्टी, उज्यालो नेपाल पार्टी, नेपालका लागि नेपाली पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, आमजनता पार्टी र नेकपा (संयुक्त) पनि प्रतिस्पर्धामा छन्। उम्मेदवार र दलका कार्यकर्ताको बढ्दो चहलपहल तथा बस्तीबस्तीमा हुने चुनावी आँकलनले महोत्तरी–३ को चुनावी वातावरण तातेको छ।

यस क्षेत्रमा एक लाख १० हजार ४३६ मतदाता रहेका छन्, जुन जिल्लाका अन्य तीन क्षेत्रभन्दा बढी हो। भारतसँग २५ किलोमिटर सीमा जोडिएको यस क्षेत्रका मतदानस्थल संवेदनशील मानिएका छन्। यहाँ ७७ मतदानस्थलमा १४२ मतदान केन्द्रको व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ। सीमा क्षेत्रका मतदानस्थलमा उच्च सुरक्षा व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *