काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभामा पहिलोपटक सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन तोकिएकै समयमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने स्पष्ट प्रतिबद्धता जनाएकी छन्। उनले सरकारको प्रमुख प्राथमिकता निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनु र सुशासनलाई अघि बढाउनु रहेको बताइन्।
माघ ४ गतेदेखि सुरु भएको राष्ट्रिय सभाको १९औँ अधिवेशनअन्तर्गत सोमबार बसेको पाँचौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन तयारीका साथै सरकारका हालसम्मका कामबारे सभालाई जानकारी गराइन्। उनले आफू दीर्घकालीन शासकीय आकाङ्क्षा बोकेर नभई विषम राजनीतिक परिस्थितिमा जिम्मेवारी सम्हाल्न आएको उल्लेख गरिन्।
“तोकिएको समयभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरी त्यही निर्वाचनबाट गठन हुने नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु नै मेरो दायित्व हो,” प्रधानमन्त्री कार्कीले भनिन्। उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको नेतृत्व गरेको स्मरण गर्दै त्यस अवधिमा मुलुकलाई स्थायित्वतर्फ लैजान गरिएको प्रयासबारे पनि उल्लेख गरिन्। साथै, हालै सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा विजयी भएका सदस्यहरूलाई प्रधानमन्त्री कार्कीले बधाई ज्ञापन गरिन्।
प्रधानमन्त्री कार्कीले बैठकमा ‘विकास, आर्थिक मामिला तथा सुशासन’ समितिकी सभापति कमला पन्तद्वारा प्रस्तुत राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथिको छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासाहरूको जवाफ पनि दिएकी थिइन्।
उनको पहिलो सम्बोधनले निर्वाचनप्रति सरकारको स्पष्ट दिशा र प्रतिबद्धता प्रस्तुत गरेको भन्दै राष्ट्रिय सभामा सकारात्मक सन्देश गएको छ।




