देश

प्रतिनिधिसभा चुनावका लागि एमालेको तयारीः घोषणा पत्रमा राष्ट्रियताकाे विषय केन्द्रमा

काठमाडौं । नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तयार पार्न लागिएको चुनावी घोषणापत्रमा राष्ट्रियताको मुद्दालाई मुख्य एजेन्डा बनाउने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रत्यक्ष नेतृत्वमा घोषणापत्र मस्यौदा तयार गर्ने काम अघि बढेको एमालेले जनाएको छ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीका अनुसार यसपटकको घोषणापत्र छोटो, सटिक र स्पष्ट हुनेछ। “अध्यक्षकै नेतृत्वमा घोषणापत्र लेखन भइरहेको छ,” उनले बताए, “फागुनको पहिलो वा दोस्रो साताभित्र घोषणापत्र सार्वजनिक हुने सम्भावना छ। यसपटक राष्ट्रियता पहिलो प्राथमिकतामा रहनेछ।”

पार्टी सचिवालयको गत पुस २२ गतेको बैठकले अध्यक्ष ओलीको संयोजकत्वमा ६ सदस्यीय चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको थियो। समितिमा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल, महासचिव शंकर पोखरेल तथा नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सहभागी छन्। एमालेले अघिल्लो २०७९ को प्रतिनिधिसभा निर्वाचनमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारासहित सुशासन, विकास र समृद्धिलाई मुख्य एजेन्डा बनाएको थियो। त्यतिबेला ‘पाँच वर्षस् एमालेले गर्छ’ भन्ने नारालाई केन्द्रमा राखिएको थियो।

यसपटकको घोषणापत्रमार्फत पार्टीले राष्ट्रियताको मुद्दासँगै समसामयिक राजनीतिक, आर्थिक र सामाजिक विषयमा आफ्नो दृष्टिकोण स्पष्ट पार्ने तयारी गरेको एमाले नेताहरूको भनाइ छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *