काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन नेपाल प्रहरीको भूमिका निर्णायक हुने बताएकी छन्। उनले सुरक्षाकर्मीको व्यावसायिकता र निष्पक्षतामै लोकतन्त्रको भविष्य निर्भर रहने स्पष्ट पारिन्।
सोमबार काठमाडौंमा आयोजित नेपाल प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुने निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको महत्त्वपूर्ण चरणका रूपमा उल्लेख गरिन्। उनले कुनै पनि राजनीतिक प्रभाव, दबाब वा पूर्वाग्रहबाट टाढा रहेर कानुनअनुसार कर्तव्य निर्वाह गर्न प्रहरीलाई निर्देशन दिइन्।
प्रधानमन्त्री कार्कीले नेपाल प्रहरी र समुदायबीच लामो समयदेखि विश्वासमा आधारित सम्बन्ध रहँदै आएको उल्लेख गर्दै सुरक्षाकर्मीको निष्पक्षता नै लोकतन्त्रको बलियो आधार भएको धारणा राखिन्। “निष्पक्ष प्रहरी व्यवस्था नै नागरिकको अधिकार र स्वतन्त्रताको सुरक्षा कवच हो,” उनले भनिन्।
उनले अपराधका स्वरूपहरू समयसँगै परिवर्तन भइरहेका बेला प्रहरी निरीक्षकको भूमिका पनि परम्परागत आदेश पालनामा सीमित नरही समस्या पहिचान र समाधानतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिइन्। साइबर अपराध, संगठित तथा वित्तीय अपराध, बहुदेशीय अपराध र सामाजिक द्वन्द्वजस्ता चुनौतीहरूलाई सामना गर्न दक्ष, संवेदनशील र उत्तरदायी नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो। प्रधानमन्त्री कार्कीले दीक्षित प्रहरी निरीक्षकहरूलाई कानुन, मानवअधिकार र व्यावसायिक आचरणलाई उच्च प्राथमिकतामा राख्दै राष्ट्र र जनताको सेवामा समर्पित हुन आग्रह गरिन्।




