काठमाडौं । डडेलधुरा अहिले फरक छ। चुनावी चहलपहल त छ, तर केन्द्रमा शेरबहादुर देउवाको नाम छैन। तीन दशकभन्दा बढी समयदेखि यही जिल्लाबाट चुनाव जित्दै आएका देउवा यसपटक मैदानमा नउत्रँदा डडेलधुराको राजनीतिक दृश्य नै फेरिएको छ। २०४८ सालदेखि लगातार सात पटक निर्वाचन जितेको विरासत जोगाउने जिम्मेवारी महरको काँधमा छ । देउवाको अनुपस्थितिले कांग्रेसका लागि यो चुनाव केवल सिटको प्रतिस्पर्धा मात्र होइन, विरासत जोगाउने परीक्षा बनेको छ। यही जिम्मेवारी बोकेर मैदानमा उत्रिएका छन्— नैनसिंह महर।
३४ वर्षपछि डडेलधुराले देउवा बाहेकका उम्मेदवारलाई मत हाल्दैछ। यही कारण कांग्रेस कार्यकर्तामा भावनात्मक आग्रह छ भने विपक्षी दलहरूलाई अवसर देखिएको छ। देउवाको बलियो पकड मानिने जिल्लामा यसपटक १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्—दलका तर्फबाट मात्र होइन, स्वतन्त्र र नयाँ दलबाट समेत। कांग्रेसले नयाँ अनुहारका रूपमा महरलाई अघि सारेको छ। एमालेले पूर्व राष्ट्रियसभा सदस्य चक्र स्नेही, माओवादी धारको नेपाली कम्युनिस्ट पार्टीबाट मानसिंह माल, रास्वपाबाट प्रदेशसभा सदस्य पद छाडेर डा. तारा जोशी, राप्रपाबाट गोविन्द खडायत, श्रम संस्कृति पार्टीबाट महेन्द्र पुन र स्वतन्त्रतर्फ युवा उम्मेदवार गौरव ऐर मैदानमा छन्।
नैनसिंह महरः देउवाको राजनीतिक उत्तराधिकारी?
भागेश्वर गाउँपालिका–३ लामिकाँडेमा जन्मिएका नैनसिंह महरलाई कांग्रेसभित्र उदाउँदो नेताका रूपमा हेरिन्छ। विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरेका महर नेविसंघको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय अध्यक्षसम्म पुगे। ३२ वर्षे उमेरहदजस्तो नीतिगत सुधारमा भूमिका खेलेका उनी युवामाझ चिनिएका नेता हुन्। महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्य बने पनि प्रतिनिधिसभा निर्वाचनका लागि भने उनी नयाँ अनुहार हुन्। तर देउवाको अनुपस्थितिमा कांग्रेसको अनुहार बन्नु नै महरको सबैभन्दा ठूलो चुनौती र अवसर दुवै हो। अब बिरासत जोगाउने र संघिय संसदको यात्रामा महरले कस्तो तयारी गर्नुपर्छ भन्ने त उनलाई नै थाहा छ । स्थायीवासीहरुले महरलाई यसपटक जिताएरै अगाडी बढाउन आवश्यक रहेको भन्दै सार्वजनिक अपिल गर्न थालेका छन् ।
उत्ता एमाले उम्मेदवार चक्र स्नेही अनुभवी नेता हुन्। राष्ट्रियसभामा बसेर जिल्लाका मुद्दा उठाएको दाबी उनी गर्छन्। एमाले नेतृत्व देउवा हुँदा पनि जिल्लामा कायम रहेको मत आधार यसपटक परिणाम उल्ट्याउन सक्ने विश्वासमा छ।
माओवादी धारका उम्मेदवार मानसिंह माल भित्री मधेश क्षेत्रमा प्रभाव राख्ने नेताका रूपमा चिनिन्छन्। सहिद परिवारको पृष्ठभूमि र स्थानीय तहमा पकड रहेको भन्दै उनी परिणाम आफ्नो पक्षमा आउने दाबी गर्छन्। रास्वपाबाट उम्मेदवार बनेका डा. तारा जोशीलाई भने नयाँ राजनीतिक लहरको प्रतिनिधि मानिन्छ। प्रदेशसभा सदस्य जितिसकेको अनुभव, जनतासँग सहज पहुँच र विज्ञ छवि उनका बलिया पक्ष हुन्।
मतदाताको मनः परम्परा कि परिवर्तन?
डडेलधुराका बस्तीहरूमा अहिले एकै प्रश्न घुमिरहेको छ— देउवाको विरासत जोगाउने कि नयाँ अनुहारलाई मौका दिने? कांग्रेस कार्यकर्ता देउवाले जिल्लामा पुर्याएको विकास—सडक, पुल, विद्युत्, खानेपानी, अस्पताल—को चर्चा गर्दै विरासत निरन्तरता चाहन्छन्। तर केही मतदाता भने पञ्चेश्वर, पश्चिम सेतीजस्ता अधुरा योजनाको स्मरण गर्दै परिवर्तनको पक्षमा देखिन्छन्।यसपटकको चुनाव डडेलधुराका लागि सामान्य छैन। यो चुनावले देउवापछिको कांग्रेस कति बलियो छ भन्ने मात्र होइन, डडेलधुराको राजनीतिक दिशा पनि तय गर्नेछ। नैनसिंह महरका काँधमा अब केवल एउटा उम्मेदवारको जिम्मेवारी छैन— तीन दशक लामो विरासत जोगाउने भार छ। त्यो भार मतदाताले कसरी तौलन्छन्, नतिजा त्यसैमा निर्भर हुनेछ।




