काठमाडौं । चुनावी अभियानकै क्रममा एक पत्रकार र एक सवारी चालकको ज्यान गएको घटनाले राजनीतिक नेतृत्व, दलहरूको जिम्मेवारी र चुनाव प्रचारको सुरक्षाबारे गम्भीर प्रश्न उठ्न थालेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग जोडिएका दुई छुट्टाछुट्टै घटनाले सार्वजनिक चासो र बहस उठाएको छ ।
बालेनको चुनाव प्रचारमा सहभागी पत्रकारको निधन
चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ। ग्राण्डी अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार सिटौलाको आज दिउँसो १२ः४५ बजे निधन भएको हो। अस्पतालका अनुसार सिटौला अछाममा रास्वपाका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर ८८बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए। अवस्था गम्भीर बनेपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याई ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालको विज्ञप्तिमा उल्लेख गरिएअनुसार गहन उपचारका बाबजुद ४८ घण्टासम्म उनको न्यूरोलोजिकल अवस्थामा सुधार देखिएन। चिकित्सकीय प्रोटोकलअनुसार गरिएको ‘एपनिया टेस्ट’ पोजेटिभ आएपछि उनलाई मृत घोषित गरिएको हो। ४४ वर्षीय सिटौला नुवाकोट स्थायी घर भएका थिए। उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि कपनस्थित चलचित्र विकास बोर्डमा राखिने चलचित्र पत्रकार संघले जनाएको छ।
रवि लामिछानेका चालकको उपचारकै क्रममा मृत्यु
यसअघि रास्वपा सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको पनि उपचारका क्रममा निधन भएको थियो। चितवनको भरतपुरमा वैशाख ४ गते घरको छतबाट खसेर गम्भीर घाइते भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । ललितपुर प्रहरीका अनुसार मंगलबार दिउँसो १ः४० बजे थापाको मृत्यु भएको हो। प्रारम्भिक उपचार चितवनमै गरिएपछि थप उपचारका लागि उनलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो। भेन्टिलेटरमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा सुधार आउन नसकेको प्रहरीले जनाएको छ।
दुवै घटना चुनावी अभियानसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका कारण चुनाव प्रचारको कार्यविधि, सुरक्षा व्यवस्था, स्वास्थ्य जोखिम र दल नेतृत्वको जिम्मेवारीबारे सार्वजनिक बहस सुरु भएको छ। राजनीतिक अभियानमा संलग्न पत्रकार, चालक र स्वयंसेवकको सुरक्षा सुनिश्चित गर्न दलहरूले कति तयारी गरेका छन् ?
दीर्घ यात्रामा खटिने व्यक्तिहरूको स्वास्थ्य परीक्षण र जोखिम व्यवस्थापन किन प्राथमिकतामा पर्दैन ?
यस्ता घटनामा दल र नेताहरूको नैतिक तथा संस्थागत उत्तरदायित्व के हुन्छ ?
यी प्रश्नहरू अब केवल व्यक्तिगत शोकका विषय मात्र नभई सार्वजनिक सरोकार र राजनीतिक संस्कृतिसँग जोडिएका मुद्दाका रूपमा उठिरहेका छन्।




