काठमाडौं । जेनजी आन्दोलनका क्रममा कारागार तथा प्रहरी हिरासतबाट भागेका कैदीबन्दीहरू पुनः गम्भीर आपराधिक गतिविधिमा संलग्न भएको खुल्दै जाँदा देशको आन्तरिक सुरक्षामा गम्भीर चुनौती थपिएको छ। हत्या, बलात्कार, लुटपाट र संगठित चोरीका घटनाले आन्दोलनपछिको अवस्था झनै संवेदनशील बनेको देखिन्छ।
कारागार व्यवस्थापन विभागका अनुसार गत भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन देशभरका २८ वटा कारागारबाट भागेका कैदीबन्दीमध्ये अझै चार हजार तीन सयभन्दा बढी फरार छन्। पक्राउ प्रक्रिया जारी रहे पनि फरारहरूबाट थप अपराध भइरहेका घटनाले सुरक्षा निकायलाई चिन्तित बनाएको छ।
भागेपछि गम्भीर अपराधमा संलग्न
प्रहरीका अनुसार कारागार र हिरासतबाट भागेका कैदी तथा थुनुवामध्ये धेरै जना पुनः आपराधिक क्रियाकलापमा संलग्न भएका छन्। कञ्चनपुर कारागारबाट भागेका दीपक सुनार भोलिपल्टै जबर्जस्ती करणी उद्योग कसुरमा पक्राउ परे। बलात्कार मुद्दामा नौ वर्ष कैद सजाय भुक्तान गरिरहेका सुनारले जेलबाट भागेपछि एक महिलामाथि बलात्कार प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
त्यसैगरी, लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका दाङका आकाश मगर जेलबाट भागेपछि काठमाडौँको ठमेलमा झगडाका क्रममा सुरज तामाङको हत्या गरेको आरोपमा पक्राउ परे। सीसीटीभी फुटेजको आधारमा उनलाई रोल्पाबाट नियन्त्रणमा लिइएको हो।
श्रीमती हत्या गरेर पुनः जेल फर्किएको स्वीकारोक्ति
नख्खु कारागारबाट फरार भएका काभ्रेका सन्तबहादुर तामाङको घटना झनै भयावह छ। बलात्कार मुद्दामा सजाय काटिरहेका तामाङले जेलबाट भागेर घर पुगेपछि आफ्नै श्रीमतीको हत्या गरी शव गाडेको र त्यसपछि पुनः कारागारमै फर्किएर अपराध स्वीकार गरेको प्रहरी जनाएको छ।
हत्या प्रयासदेखि फरारकै हत्या
कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय पाएका खिमबहादुर बिक पनि जेलबाट भागेपछि अर्को व्यक्तिको हत्या प्रयासमा पक्राउ परे। उता, भीमफेदी कारागारबाट भागेका नारायण कुमाल भने पूर्वी नवलपरासीको गैंडाकोटमा अन्य फरार कैदीको समूहद्वारा हत्या भएको अवस्थामा फेला परे।
संगठित चोरी र लुटपाट
नख्खु कारागारबाट भागेका अभय तुलाधर र रोहित शाहीले काठमाडौँ र भक्तपुर क्षेत्रमा मोटरसाइकल चोरीको संगठित गिरोह सञ्चालन गरी ४९ वटा मोटरसाइकल चोरी गरेको खुलेको छ। पक्राउका क्रममा तुलाधरले प्रहरीमाथि चक्कु प्रहारसमेत गरेका थिए।
त्यस्तै, प्रहरी हिरासतबाट भागेका विनय तामाङले १० जनाको गिरोह बनाएर काठमाडौँ उपत्यकामा सुनका गरगहना तथा नगद लुटपाट गर्दै आएको पाइएको छ। रातको समयमा पैदलयात्रीलाई ज्यान मार्ने धम्की दिएर डकैती गर्ने उनीहरूको शैली थियो।
प्रहरीको भनाइ: सूक्ष्म निगरानीमा फरारहरू
केन्द्रीय प्रहरी प्रवक्ता तथा डीआईजी अविनारायण काफ्लेका अनुसार जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दी र थुनुवामाथि सूक्ष्म निगरानी राखिएको छ।
उनका अनुसार विभिन्न जिल्लामा यस्ता फरारहरू संलग्न १५ भन्दा बढी आपराधिक घटना दर्ता भइसकेका छन्। काठमाडौँ, भक्तपुर, काभ्रे, झापा, सुनसरी, उदयपुर, कास्की, कैलाली र महोत्तरीजस्ता जिल्लामा हत्या, लागूऔषध कारोबार, चोरी, डकैती र बलात्कारसम्बन्धी अपराध भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ।
‘घटनाहरूले देखाउँछ कि फरार कैदीबन्दी अझै पनि अपराधमा संलग्न भइरहेका छन्,’ डीआईजी काफ्ले भन्छन्, ‘उनीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने काम तीव्र रूपमा भइरहेको छ।’
सुरक्षा चुनौती अझै कायम
हजारौँ फरार कैदीबन्दी अझै नियन्त्रणबाहिर रहेकाले सार्वजनिक सुरक्षा, शान्ति व्यवस्था र नागरिकको जीवनमा जोखिम कायम रहेको सुरक्षा निकायको निष्कर्ष छ। जेनजी आन्दोलनपछिको अवस्था व्यवस्थापन र कारागार सुरक्षाको पुनरावलोकन अब अपरिहार्य बन्दै गएको देखिन्छ।





