काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा यसपटक चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ। १९ जना उम्मेदवार चुनावी मैदानमा रहे पनि मुख्य प्रतिस्पर्धा पुराना र नयाँ अनुहारबीच केन्द्रित देखिन्छ।
नेपाली कांग्रेसका पूर्वपरराष्ट्रमन्त्री एनपी साउद यस क्षेत्रबाट चौथो पटक संसद् पुग्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन्। यसअघि पटक–पटक निर्वाचित भइसकेका साउद अनुभवी र स्थापित उम्मेदवारका रूपमा चिनिन्छन्।
मुख्य प्रतिस्पर्धी को–को ?
यस क्षेत्रमा नेकपा एमालेबाट बचन सिंह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट दीपक बोहरा र नेपाली कम्युनिस्ट पार्टीबाट माधव पन्त उम्मेदवार छन्। यी तीनै जना पहिलो पटक प्रतिनिधि सभा सदस्य बन्ने दौडमा छन्। कञ्चनपुर–२ मा कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका र बेदकोट नगरपालिकाका १–७, ९ र १० वडा समेटिएका छन्। यहाँ पहाडी जिल्लाबाट बसाइँ सरेका मतदाताको संख्या ठूलो छ भने रानाथारु र थारु समुदायको पनि उल्लेखनीय बसोबास छ।
साउदको सातौँ चुनावी परीक्षा
एनपी साउदका लागि यो चुनाव सातौँ राजनीतिक परीक्षा हो। यसअघि छ वटा निर्वाचनमा उनले जित र हार दुवैको अनुभव बटुलेका छन्। २०५६ सालमा संसद् प्रवेश गरेका साउद २०६४ मा पराजित भए भने २०७० मा पुनः विजयी भए। २०७४ मा हार बेहोरेका उनले २०७९ मा गठबन्धनको साथमा तेस्रो पटक प्रतिनिधि सभामा स्थान बनाए।
यसपटक कांग्रेसभित्रको आन्तरिक समीकरणका बाबजुद सुदूरपश्चिममा दोहोरिएर टिकट पाउने एक्ला कांग्रेसबाट उम्मेदवार साउद नै हुन्। उनी अघिल्लो जितको आत्मविश्वाससहित मैदानमा छन्। एमाले उम्मेदवार बचन सिंह यसअघि प्रदेश सभा निर्वाचनमा पराजित भए पनि पार्टी संगठनको बलमा नतिजा उल्ट्याउने रणनीतिमा छन्। बाजुरा पुख्र्यौली घर भएका सिंह कांग्रेसभित्रको असन्तुष्टि आफ्नो पक्षमा प्रयोग गर्ने दाउमा देखिन्छन्। यसपटक सबैभन्दा धेरै चर्चा भने रास्वपाका उम्मेदवार दीपक बोहरालाई लिएर छ। लामो समय पत्रकारितामा सक्रिय रहेका बोहरा ‘सिधा कुरा जनतासँग’ कार्यक्रमसँग जोडिएर परिचित अनुहार हुन्। उनी पुराना दलप्रति बढ्दो वितृष्णालाई मतमा बदल्ने प्रयासमा छन्।
स्थानीय मतदाताहरू यसपटक उम्मेदवारको अनुहारभन्दा एजेन्डा र प्रतिबद्धता हेरेर भोट दिने मनस्थितिमा देखिन्छन्। शुक्लाफाँटा वन्यजन्तु आरक्ष पीडितहरूको पुनर्स्थापना यहाँको सबैभन्दा जटिल र पुरानो समस्या हो। आरक्ष विस्तारका क्रममा विस्थापित हजारौँ परिवार अझै लालपुर्जा र स्थायी बसोबासको पर्खाइमा छन्। त्यसैगरी, जङ्गली जनावरको आतङ्क, खेतीयोग्य जमिन कटान, क्षतिपूर्ति नपाउने समस्या र कृषि सुरक्षाका विषय पनि प्रमुख चुनावी मुद्दा बनेका छन्। अब खोक्रा आश्वासनले काम गर्दैन,’ कृष्णपुरका स्थानीय भन्छन्, ‘जसले लिखित प्रतिबद्धता र स्पष्ट योजना दिन्छ, भोट उसैलाई जान्छ।’
लामो समयदेखि उपेक्षित समुदाय र पीडित मतदाताहरू यसपटक आफूहरू निर्णायक शक्ति भएको दाबी गर्छन्।
कञ्चनपुर–२ मा कसको पक्षमा जनमत ढल्किन्छ भन्ने कुरा चुनावको दिनसम्म अनिश्चित देखिन्छ। एकातिर अनुभवी नेता साउद चौथो जितको खोजीमा छन् भने अर्कोतिर नयाँ अनुहारहरूले परिवर्तनको एजेन्डासहित पुराना समीकरणलाई चुनौती दिइरहेका छन्। यही कारण कञ्चनपुर–२ को चुनावलाई सुदूरपश्चिमकै सबैभन्दा चासोको केन्द्रका रूपमा हेरिएको छ।




