काठमाडौं । अवैधानिक विशेष महाधिवेशनबाट निर्वाचित भइ निर्वाचनको मान्यतापछि कांग्रेसबाट विद्रोह गरे सभापति गगन थापाले ‘पार्टीभित्र अब कुनै गुट छैन’ भन्दै दिएको अभिव्यक्ति स्वयं झुट सावित भएको छ । गुटगत रुपमा निर्वाचनका लागि टिकट वितरण भएका छन् । धनुषा–१ मा आयोजित कार्यकर्ता भेटघाटमा थापाले कांग्रेस नयाँ सोच र नयाँ शैलीसहित अघि बढिरहेको दाबी गरे पनि उनको भाषण चुनावी उत्साह र भिड केन्द्रित राजनीतिमै सीमित भएको आलोचना चर्किएको छ।
थापाले एकपछि अर्को उम्मेदवारको नाम लिँदै ‘जिताएर पठाउनै पर्छ’ भन्ने आग्रह गर्नुले पार्टीभित्रको लोकतान्त्रिक बहसभन्दा पनि आदेशात्मक राजनीतिक संस्कारलाई निरन्तरता दिएको संकेत गर्छ। पार्टीभित्र गुट समाप्त भएको दाबी गरिरहँदा व्यवहारमा भने असन्तुष्टि, असहयोग र आन्तरिक अविश्वास कायमै रहेको कांग्रेसकै नेताहरू बताउँछन्। थापाको भनाइमा कांग्रेस ‘ध्वंस गर्ने होइन, सम्हाल्ने शक्ति’ हो। तर विगत तीन दशकदेखि सत्ता र सरकारमा निर्णायक भूमिका खेलेको कांग्रेसले मधेसका मुद्दा, सुशासन र भ्रष्टाचार नियन्त्रणमा के कस्तो ठोस उपलब्धि गर्यो भन्ने प्रश्नको जवाफ उनीबाट आएन। मधेसले पूर्ण विश्वास दिए कांग्रेसको सरकार बन्ने दाबी गर्नु आफैंमा अहंकारी राजनीतिक वक्तव्य भएको टिप्पणी भइरहेको छ।
विशेषगरी सर्लाही–४ जस्तो क्षेत्र, जहाँ स्थानीय राजनीतिक इतिहास र सामाजिक संरचना बलियो छ, त्यहाँ बाहिरबाट गएर राष्ट्रिय लोकप्रियताका आधारमा जित सुनिश्चित ठान्नु थापाका लागि उल्टो जोखिम बन्न सक्ने देखिन्छ। यही सन्दर्भमा पूर्व सांसद अमरेशकुमार सिंहले थापामाथि ‘भिडको राजनीतिमा रमाउने’ र ‘विचौलियाले घेरेको नेतृत्व’ को आरोप लगाउँदै आएका छन्। सिंहका अनुसार भाषण र नाराले मात्र राजनीति चल्दैन, स्थानीय यथार्थ र विगतका जिम्मेवारीको मूल्यांकन नगरी अघि बढ्नु आत्मघाती हुन सक्छ।
थापाले पार्टीभित्र अब व्यक्तिगत धारणा गौण भएको भन्दै सबैलाई उम्मेदवारको पक्षमा लाग्न निर्देशन दिए पनि कांग्रेसकै पुराना कार्यकर्ता र नेता भने यसलाई विचारको एकरूपता होइन, दबाबको राजनीति मानिरहेका छन्। पार्टीभित्रका त्रुटिका कारण धेरै नेता–कार्यकर्ता बाहिरिएको स्वीकारोक्ति स्वयं थापाले गरे पनि ती त्रुटि कसरी सच्याइने भन्ने स्पष्ट कार्ययोजना सार्वजनिक भएको छैन।
राजनीतिक विश्लेषकहरूका अनुसार गगन थापाको सबैभन्दा ठूलो चुनौती उनका भाषण होइन, विगतका प्रतिबद्धता र व्यवहारबीचको अन्तर हो। ‘नयाँ सोच’ र ‘नयाँ शैली’ को नारामाथि भरोसा दिलाउन उनीसँग भावनात्मक आह्वानभन्दा बढी ठोस नीति, आत्मआलोचना र विश्वसनीय कार्यदिशा आवश्यक देखिन्छ। अन्यथा भिडको तालीमा रमाउँदै चुनावी आधार बनाउने प्रयासले नै उनको राजनीतिक भविष्यलाई जोखिमतर्फ धकेल्ने संकेतहरू प्रस्ट हुँदै गएका छन्।




